झापाको चिनारी देशविदेशसम्म विशिष्ठ किसिमको छ । झापामा धेरै प्रतिभाहरु जन्मेका र विकास भएका छन् । विद्वान, विदुषी, समाजसेवी, देश हाक्ने राजनीतिज्ञ, कलाकारदेखि उत्कृष्ट खेलाडीहरु पनि झापाले जन्माएको छ । फुटबल खेल जगतमा पनि झापाको नाम उच्च रहेको छ । झापाली फुटबल खेलाडीहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म उत्कृष्ट खेलाडीका रुपमा फुटबल खेलमा कला देखाइरहेका छन् । देशको फुटबल खेलको विकासमा झापाली फुटबल खेलाडीहरुको अहम् भूमिका रहेको छ ।
झापा ११ फुटबल टिम र झापा गोल्डकप एक उदाहरणीय आयाम बनेको छ । दशकौंदेखि झापा गोल्डकप आयोजनाले नेपालको फुटबल खेलको स्तर उकास्न भूमिका खेल्दै आएको छ । यसै सन्दर्भमा झापामा फुटबल खेलको विगतदेखि हालसम्मका इतिहास संग्रह गर्दै झापा गोल्डकप संस्थाले झापा गोल्ड स्मारिका २०८२ प्रकाशन गरेको छ । जसमा झापाको फुटबल खेलका समग्र आयामहरु समेटिएका छन् । साथै, व्यवसायी स्व. विनोद बस्नेतले समाजसेवा र झापा गोल्डकपका लागि गरेका योगदानहरु पनि स्मारिकामा समेटिएका छन् ।
गोल्डकपलाई दिगो र बलियो बनाउन सबै एकै ठाउ“मा उभिऔं ः शीर्षकको झापा गोल्डकपका संस्थापक अध्यक्ष जलकुमार गुरुङको लेखमा, झापामा फुटबल खेलको प्रारम्भ र विकासबारे उल्लेख गरिएका छन् । प्रारम्भमा झापामा फुटबलको विकास सुषुप्त अवस्थामा थियो । गाउँ, जिल्ला स्तरीय खेल हुँदै जिल्लामा ठूला–ठूला प्रतियोगिता भएका र २०४६ सालको परिवर्तनपछि भने गति लिएको हो । झापा ११ को गठन भएपछि झापामा फुटबल खेलमा निकै विकास भएको, झापा ११ ले एन्फा कप र राष्ट्रिय स्तरका उपाधीहरु जितेको, मुख्य रुपमा झापा गोल्डकपलाई व्यवस्थित तथा संस्थागत रुपमा सञ्चालन गर्नका लागि विभिन्न अभियानहरु सञ्चालन गरिएको लेखमा उल्लेख छ ।
अभियानले समुदायप्रतिको भूमिका र योगदान झल्किएको छ । समन्वयकारी भूमिका निर्वाह गर्दै समग्र फुटबलको विकासका लागि समाजलाई डोहो¥याउनका लागि अब ढिलो गर्नुहुँदैन । झापालाई आधार मानेर गठन गरिएको झापा ११ लाई अझै बलियो बनाउन एकमत हुनुपर्ने मान्यता व्यक्त गर्दै सामाजिक अभियन्ताको रुपमा आफूलाई उभ्याउने साहसी र कर्मशील युवाको रुपमा विनोद बस्नेतलाई चिनाउनु पर्दछ भन्ने धारणा लेखमा व्यक्त गरिएको छ ।
झापा गोल्डकप सामाजिक अभियानको यात्रा ः झापा गोल्डकपका पूर्व अध्यक्ष महेन्द्रकुमार गिरीका शब्दहरुमा समाज विकास र झापा गोल्डकपबारे विचार व्यक्त भएका छन् । समाज विकासका लागि एकल प्रयत्नमात्र सम्भव हुँदैन, यसका लागि सामाजिक संघ–संस्थाहरु बीचको साझा प्रयत्न जरुरी हुन्छ । देश विकासका लागि गरिएका सामाजिक अभियानहरुले सकारात्मक प्रभाव पार्दै लगेको अनुभूति गर्न सकिन्छ । यसैक्रममा नेपालमै ख्याती कमाएको झापा गोल्डकपले आफ्नो क्रियाकलापलाई खेलकुदबाट सामाजिक अभियानको रुपमा अगाडि बढाएको इतिहास हाम्रासामु छ ।
पूर्व अध्यक्ष गिरीको नेतृत्वमा झापा गोल्डकपलाई विधिवत् दर्ता, सदस्यता बिस्तार, संस्थाको दिगो विकासका लागि कोष खडा, खेलाडीहरुलाई पारिश्रमिकको व्यवस्था लगायतका काम सम्पन्न भएका छन् । झापामा फुटबल खेलको व्यावसायिक विकासका लागि एउटा एकाडेमी सञ्चालन गर्न आवश्यक रहेको विचार पनि लेखमा प्रकाशित भएका छन् । साथै समाजसेवी विनोद बस्नेतले अगाडि बढाएका अवधारणाहरुलाई अङ्गीकार गर्दै झापा गोल्डकपलाई अझै बलियो बनाउनु सबैको अभिभारा हो, लेखमा विचार व्यक्त भएका छन् ।
झापा गोल्डकपको गौरवमयी यात्रा ः नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको लेखमा नेपाली फुटबल इतिहासमा झापा गोल्डकपको विशेष स्थान रहेको, उत्कृष्ट ब्रान्ड बनेको यसले झापामा खेलकुद संस्कृतिको संस्थागत विकासमा सशक्त भूमिका निर्वाह गरेको उल्लेख गरिएका छन् । स्मारिकाले फुटबललाई समाजको धरोहरको रुपमा प्रस्तुत गर्नेछ, जसबाट हाम्रा नयाँ पिँढीलाई खेलप्रतिको कदर र सम्मान अझ प्रगाढ बनाउने अवसर प्राप्त हुनेछ । साथै लेखमा खेलप्रेमी स्व. विनोद बस्नेतको योगदानबारे सम्झना गर्दै, विनोद बस्नेतको नेतृत्वमा झापा गोल्डकपले फुटबल खेलको स्तरलाई मात्र उच्च बनाएन, स्थानीय खेलकुद प्रबद्र्धन र विकासमा पनि अतुलनीय योगदान पु¥याउन सफलता मिलेको हामीले महशुस गरेका छौं । उहाँ सञ्चारमैत्री हुनुहुन्थ्यो । झापाली सञ्चार क्षेत्र र झापा गोल्डकपबीच संस्थागत सहयोग आदानप्रदान गर्ने कार्यमा उहाँको महत्वपूर्ण सहयोग स्मरणीय छ, उल्लेख गरिएका छन् ।
नेपालमा फुटबल खेल ः लेखक तीर्थ सिग्देलको लेखमा नेपालकै र विशेषगरी झापाको फुटबल इतिहासबारे विस्तृतमा उल्लेख गरिएका छन् । भारतमा उच्च शिक्षाका लागि गएका नेपालीहरुले नेपालमा फुटबल खेल परिचय गराएका हुन्, नेपालमा फुटबल खेलका जन्मदाता नर शम्शेरलाई मानिन्छ । वि.सं. १९७० पछि ठमेलका नारायाण नरसिंह राणा र नक्सालका सूर्यजङ्ग थापा त्योबेला नेपाली फुटबलमा सुनिएका नाम हुन् । फुटबल खेल लोकप्रिय हुँदै आउँदा विभिन्न फुटबल क्लवको जन्म भए र सरकारले राष्ट्रिय स्तरका टुर्नामेन्ट आयोजन गर्न थालेको थियो ।
फुटबल खेलमा झापाको दर्बिलो इतिहास छ । धेरै पहिलेदेखि नै शनिश्चरे, सैनिक, धुलाबारी, चन्द्रगढी, भद्रपुर लगायत ठाउँहरु फुटबल खेलका लागि प्रख्यात थिए । डाइनामाईट, नव युवा, रोलिङ्ग, मूनाल, सैनिक युथ जस्ता फुटबल क्लवहरुले झापालाई चिनाए । विगतमा झापामा त्रिभुवन, शहीद, शिवसताक्षी, काँकरभिट्टा, बिर्तामोड, दमक, सहारा सुरुङ्गा र रोलिङ्ग च्यालेन्ज गोल्डकपहरु सञ्चालन हुन्थे । तसर्थ ः झापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरु जन्माएको छ । झापामा चन्द्रगढी, डोमालाल बिर्तामोड लगायत ठाउँमा थुप्रै राम्रा फुटबल खेल मैदान छन् । त्यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता हुने गरेका छन् । वि.सं. २०७२ बाट झापा गोल्ड कप शुरु भएको छ, जसको चर्चा अन्तर्राष्ट्रिय स्तरसम्म रहेको छ र झापा फुटबल हबको रुपमा चिनिएको छ । यसका लागि थुप्रै फुटबल खेलाडी, खेलप्रेमी अभियन्ता, समासेवी, दाताहरु र खासगरी युवा जगतको अहम् भूमिका रहेको तथ्य यस लेखबाट ज्ञान हुन्छ । लेखमा झापाली फुटबल अभियन्ता, पुराना र नयाँ फुटबल खेलाडीहरुका नामहरु पनि उल्लेख गरिनाले झापाली फुटबलको समग्र इतिहास जान्न सकिन्छ ।
राष्ट्रिय टिममा झापाली खेलाडी ः झापा टुडेका सम्पादक हिमाल खरेलको लेखमा नेपालमा राष्ट्रिय टिममा थुप्रै झापाली खेलाडीहरु समावेश भएका उल्लेख छन् । नेपाली फुटबलको इतिहासमा झापाको दबदबा सधैँ रहँदै आएको, काठमाडांैको सानो घेराभित्र सीमित रहेको नेपाली फुटबलमा झापाको वर्चश्व कायम राख्न ३० जनाभन्दा बढी झापाली खेलाडीले राष्ट्रिय टिम मार्फत योगदान दिइसकेका छन् । शीर्ष डिभिजनमा त पछिल्लो दशकयता झापाकै बाहुल्यता छ । राष्ट्रिय टिमको सदस्यबाहेक ५० जनाको हाराहारीमा झापाली खेलाडीहरुले शीर्ष डिभिजन, बि र सि डिभिजन क्लवबाट फुटबल खेलिसकेका छन् । त्यति नै संख्यामा अहिले पनि झापाका खेलाडीहरु क्लव र नेपाल सुपरलिग खेल्दै आएका छन् । एन्फा कप च्याम्पियन भएपछि उदाएको झापा ११ फुटबल क्लबले पनि झापाको खेलाडी उत्पादन, प्रबद्र्धनमा भूमिका खेलेको तथ्य र झापाका पुराना र उदीयमान खेलाडीहरुका नाम पनि लेखमा उल्लेख गरिएका छन् ।
विनोद अनन्तको यात्रामा ः राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेतको लेखमा, विनोद बस्नेतका असल गुण र उनले सम्पन्न गरेका सामाजिक कामहरुबारे उल्लेख गरिएका छन् । विनोद बस्नेत कसैको पनि साह्रो–गाह्रोमा सहयोग पु¥याउन उनलाई कसैले भन्नु पर्र्दैनथ्यो । उनी संलग्न भएका सार्वजनिक संस्थामा समाजसेवाका थुप्रै कार्यक्रमका खात लागेका हुन्थे । कहीँ भाइबन्धु मिसाएर त कहीँ साथीहरुसँग मिसिएर केही न केही सेवामुखी अनि व्यावसायिक काम बेगर कुनै विश्राम उनमा थिएन । बिर्तामोडलाई व्यवस्थित र सुन्दर शहर बनाउन, झापा र इलाममा समेत खेलकुद क्षेत्र अब्बल बनाउनदेखि देशमा आइपरेका विपद्मा स्रोत जुटाएर सहयोग गर्ने, जेसीज मार्फत विविध सेवामा योगदान पु¥याएका थिए । मिलनसार र सहयोगी थिए, उनका मित्रहरु देशभर थिए ।
लेखमा विनोद बस्नेतको स्मृतिमा निकै मार्मिक शब्दहरु कोरिएका छन्– ‘अनन्तको यात्रा जुन दिनसम्म नआओस् भन्ने चाहना भएर पनि के भो र सयौं, हजारौं इष्टमित्र तिमीसँगै रहने, बोल्ने चाहना हुँदाहुँदै पनि तिमीले छक्याएको कसैलाई मन परेको छैन । कुनै सच्याउने ठाउँ नै दिएनौ नि तिमीले । कसैको मनले बिर्सिन सकेको छैन । बिचरा अवला नानीहरु सम्झने हो कि बिर्सिने ? एउटा नयाँ रोग बिना ओखतीको रोग अब सम्झने हो कि बिर्सिने ? दुबै गाह्रो भो तिमीसँग वियोगका दिनहरु । केही काम त सकेर नै गयौ । भाइबन्धु परिवारलाई एउटा इलम दिएर गयौ । आफन्तहरुलाई शानदार जीवन जिउने कला दिएर गयौ । साथीभाइलाई मैत्रीभाव कायम राख्दै फराकिलो मन बाँडेर गयौ । घुम्दैफिर्दै जता गए पनि जति भए पनि सीप र जाँगर मिसिएको तिम्रो लगावले उन्नतिको वेग आधाबाटोमै रोकिन पुग्दा सबै शुभेच्छुक चिन्तित हुन पुगेका छन् । तिमी जता नजानु थियो त्यतै गयौ तर किन त्यता तिम्रो पाइला रोकिएन ? हामी दुःखी छौँ ।’
स्वर्गीय विनोद बस्नेतप्रति श्रद्धाञ्जली ः झापा गोल्ड कप आयोजक समिति अध्यक्ष केदार गिरीको लेख अनुसार विनोद बस्नेत प्रतिष्ठित फुटबल प्रतियोगिता झापा गोल्ड कपको प्रारम्भिक चरणदेखि नै संलग्न रहेका, प्रतियोगिताका एक असल संस्थापकका साथै व्यावसायिक र सामाजिक जीवनमा सधैँ अग्रणी भूमिका निर्वाह गर्दै, युवापुस्तामाझ प्रेरणादायी व्यक्तित्वको पहिचान बनाएका, खेलप्रेमी, उनका दूरदृष्टि र अथक समर्पण सधैँ अनुकरणीय रहेका छन् । व्यक्तित्व र नेतृत्व विकासको पाठशाला जेसीज अभियानबाट दीक्षित विनोद बस्नेत त्यही नेतृत्व क्षमता र संगठनात्मक दक्षता खेल क्षेत्रमा पनि सफलतापूर्वक निर्वाह गरेका, झापा गोल्डकपलाई राष्ट्रियस्तरको गौरवपूर्ण प्रतिष्ठामा पु¥याएका, विशेषतः पाँचौँ र छैठौँ संस्करणमा अध्यक्षका रुपमा विनोद बस्नेतको योगदान ऐतिहासिक रहेको, उनकै पहलमा डोमालाल राजवंशीको प्रतिमा निर्माण भएको साथै थुपै्र योगदान लेखमा उल्लेख गरिएका छन् ।
स्मृतिमा विनोद बस्नेत ः गजेन्द्रबहादुर पौडेल, झापा गोल्डकप वरिष्ठ उपाध्यक्षको लेखमा गोल्डकपका सहयोगी सदस्यहरु ज्ञानु प्रसाई, पर्शुराम सिटौला, दिपेन्द्र पोखरेल, धनबहादुर गुरुङ, गुरुभक्त न्यौपाने र विनोद बस्नेत जस्ता व्यक्तित्वहरुलाई गुमाउनुपर्दा हामी दुःखी छौँ, उल्लेख गरिएको छ । लेख अनुसार, झापा गोल्डकपका पूर्व अध्यक्ष विनोद बस्नेत केवल खेल क्षेत्रका नेतृत्वकर्ता मात्र होइन, एक दूरदर्शी, परोपकारी र समग्र समाजको नेतृत्वकर्ता थिए । झापा गोल्डकपलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउनुका साथै व्यबस्थित र गौरवपूर्ण बनाउन, नयाँ उचाईमा पु¥याउन योगदान अविस्मरणीय रहेको छ । विनोद बस्नेत शालिन, मिलनसार र प्रेरणादायी, कुनै पनि कामलाई उत्कृष्ट बनाउने गुणका व्यक्तित्व रहेका थिए । धेरैका लागि भरोसाका केन्द्र थिए, जसको बचनमा विश्वास गर्न सकिन्थ्यो । विनोद बस्नेत एक प्रेरणा र एक अनुकरणीय समाजसेवी थिए ।
फुटबल विकासस“गै खेल पर्यटन ः भेषराज भण्डारी प्रशान्त, झापा जिल्ला खेलकुद विकास समिति अध्यक्षको लेखमा झापा गोल्डकप झापा जिल्लाको खेलकुदको गौरव र पहिचान रहेको तथ्य व्यक्त भएको छ । वि.सं. २०७२ देखि बिर्तामोडस्थित डोमालाल राजबंशी रङ्गशालाबाट शुरु भएको यो प्रतियोगिताले छोटो समयमै मोफसलकै सर्वाधिक लोकप्रिय फुटबल प्रतियोगिताको छवि बनाएको छ । झापा गोल्डकपको आफ्नो स्थापनाकालदेखि नै झापालाई फुटबलको हब बनाउने उद्देश्यका साथ काम गर्दै आएको छ । यसले मोफसलमा फुटबलको व्यावसायिक विकास र स्थानीय खेलाडीहरुलाई राष्ट्रिय स्तरसम्म पुर्याउन नेतृत्वदायी भूमिका खेलिरहेको लेखमा उल्लेख गरिएका छन् ।
दाजु विनोद हाम्रो आदर्श र समाजका नायक ः शिर्षकमा विपीन बस्नेत, झापा गोल्डकप आयोजक समिति सदस्यको लेखमा स्व. विनोद बस्नेत समाजसेवाका एक नायक थिए । विनोद बस्नेतका लागि समाजसेवा मात्र कागजको काम थिएन, जीवन थियो । सधैँ अरुका भलाई सोच्दथे । उनको मनमा सधैँ एउटा मिसन थियो, समाजको सुधार र परिवर्तन । त्यसमा पनि युवाको नेतृत्व । उनको दृष्टिकोण र सोचाइले सबैलाई सधैँ एउटा नयाँ दिशा दिन्थ्यो । समाजका विभिन्न पक्षमा उनको योगदान अनमोल रह्यो । उनको नेतृत्वमा संस्थाहरुले अनगिन्ती सफलता प्राप्त गरे । वीरता जेसीज, रोटरी क्ववको नेतृत्व र झापा गोल्ड कपको आयोजना सबै उत्कृष्ट थिए ।
हामीले दाजु गुमायौँ । अभिभावक गुमाऔँ । आत्महत्याले एउटा केवल जीवन होइन थुप्रै जीवनहरुलाई घाइते बनाउँछ । साहस बटुलेर आशाको दियो जगाउनु छ । त्यसैले आवश्यक छ हामी मानसिक स्वास्थ्यका विषयमा खुला सम्वाद गर्न सकौँ, सहानुभूति र समझदारीका साथ एकअर्कालाई सुन्न सकौँ । एउटा मुस्कान, एउटा न्यानो शब्द वा सानो साथले कसैको जीवन बचाउन सक्छ । जीवन कठिन हुनसक्छ, तर हरेक अँध्यारो रातपछि बिहान आउँछ । त्यसैले हरेक युवामा, परिवारका हरेक सदस्यहरुमा आशाको ज्योति जगाऔँ ताकि कुनै परिवारले फेरि यस्तो भोग्न नपरोस्, लेखमा मार्मिक भाव व्यक्त भएका छन् ।
स्मारिका ऐतिहासिक संग्रह ः स्मारिकामा करिब छ सय ५० जना झापा गोल्डकपका सदस्यहरुका फोटोसहित नामावली, झापा गोल्डकप आयोजना हुने रंगशालाका जग्गा दाता स्व. डोमालाल राजबंशीको तस्वीर, गोल्ड कपका संरक्षक तथा कार्यसमिति, झापाका पुराना फुटबल टिम तथा खेलाडीहरु, प्रथमदेखि छैटौं झापा गोल्डकपका विवरण तथा तस्वीरहरु र सहयोगी संस्थाहरुका विवरण प्रकाशित भएका छन् । यस लेखमा स्मारिकाको सार मात्र उल्लेख गरिएका छन् । स्मारिकाबाट झापा गोल्डकपका साथै झापाली फुटबलको इतिहासबारे बृहत ज्ञान पाउन सकिन्छ । झापाली फुटबल जगतका लागि यस स्मारिका ऐतिहासिक संग्रहका रुपमा प्रकाशित भएको छ ।



























