झापा । झापाको मेचीनगर–१४ स्थित प्रगति–पाथीभरा टोलमा सञ्चालित मेची ग्यास उद्योगका सञ्चालकहरूले स्थानीय युवाहरूले उठाएका मागप्रति सकारात्मक रूपमा सुनुवाइ गर्ने प्रतिबद्धता जनाएका छन्।
‘युवा अभियान नेपाल’द्वारा आयोजित उद्योगी, जनप्रतिनिधि र आमनागरिकसँगको सवाल–जवाफ कार्यक्रममा सहभागिता जनाउँदै उद्योगी महाबिर अग्रवाल र मार्स प्रसाईंले युवाहरूका जायज माग सम्बोधन गर्न तयार रहेको बताएका हुन्।
कार्यक्रममा ग्यास उद्योगबाट सिलिन्डर भर्ने क्रममा निस्किने ग्यासले मानव स्वास्थ्य, पशुपंक्षी तथा वातावरणमा पार्ने प्रभावबारे गम्भीर चासो व्यक्त गरिएको थियो। त्यसप्रति प्रतिक्रिया दिँदै उद्योगीहरूले आगामी २०८३ साल वैशाख महिनामा एलपी ग्यासको प्रभावबारे जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाए।
उद्योगी प्रसाईंले उद्योगभित्र रहेको ग्यास स्टक बुलेट ट्याङ्की, उपभोक्तासम्म पुग्ने सिलिन्डरको अवस्था तथा प्राविधिक पक्षबारे जानकारी गराउँदै वातावरणीय प्रभाव मूल्यांकन (EIA) प्रतिवेदन तयार गरिएको र उद्योगले ‘आइएसओ’ मान्यता प्राप्त गरिसकेको उल्लेख गरे।
स्थानीय युवाहरूले भने पछिल्लो समय उक्त क्षेत्रमा तीव्र रूपमा बस्ती विस्तार भएको उल्लेख गर्दै उद्योगलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न माग गरेका थिए। जवाफमा उद्योगीहरूले उद्योग सञ्चालनका लागि आवश्यक सबै कानुनी प्रक्रिया पूरा गरिएको दाबी गर्दै वातावरणीय प्रभावबारे प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता जनाए।
यसैगरी आटा उद्योगसम्बन्धी प्रश्नमा उद्योगी महाबिर अग्रवालले युवाहरूले औंल्याएका कमजोरीहरू क्रमशः सुधार गर्दै जाने बताए।
कार्यक्रममा मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाले उद्योगीहरूलाई प्रभावित क्षेत्रका नागरिकका लागि स्वास्थ्य बीमा, जनचेतना कार्यक्रम, सामाजिक सुरक्षा तथा सहुलियत दरमा उत्पादन उपलब्ध गराउन सुझाव दिए। उनले युवाहरूले उठाएका जायज मागप्रति स्थानीय सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे।
वडाध्यक्ष सुब्बाले क्षेत्रमा परित्यक्त र जीर्ण उद्योग संरचनाहरू लागुऔषध दुर्व्यसनको अखडा बन्दै गएको उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि उद्योगीहरूलाई सचेत गराउने बताए। सहभागीहरूले लागुऔषध दुर्व्यसनका कारण चोरी तथा लुटपाटका घटना बढेको गुनासो समेत गरेका थिए।
कार्यक्रमले उद्योगीहरूसँग संवाद र सहकार्यलाई निरन्तरता दिन प्रकाश उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको छ। समितिमा पाथीभरा टोलबाट पशुपति भट्टराई (प्रवीण) र जैन राजबंशी तथा प्रगति टोलबाट जीवन प्रसाईं र नवीन गौतम चयन भएका छन्।
कार्यक्रममा कमल राजबंशी, रोहित मिश्र, खगेन्द्र लामिछाने, बिन्दा प्रसाईं, निरन गौतम, प्रेम कार्की, खड्गबहादुर श्रेष्ठ, मानबहादुर खड्का, देबेन्द्र उप्रेती, कुबेर लामिछानेलगायतले विभिन्न विषय उठान गरेका थिए। कार्यक्रम पशुपति भट्टराईको संयोजकत्वमा सम्पन्न भएको थियो भने सहजीकरण पत्रकार प्रकाश उप्रेतीले गरेका थिए।





























