इटहरी । सुनसरीको दुहबीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।

आइतबार राति करिब १० बजेतिर कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–१३ काली मन्दिरनजिक भएको दुर्घटनामा दुहबी नगरपालिका–९ का २२ वर्षीय विपिन चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्र १–०२–०४८ प ७९३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकको बीचभागमा रहेको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा पछाडि सवार विपिन गम्भीर घाइते भएका थिए ।
उनीलाई तत्काल उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्याइए पनि चिकित्सकले राति १०ः४० बजे मृत घोषणा गरेका थिए ।
दुर्घटनामा मोटरसाइकल चालक विप्लव चौधरी भने सामान्य घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण दुर्घटना भएको खुलेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।































