झापा । नेकपा एमालेका सचिव महेश बस्नेत ले आफूलाई पक्राउ गर्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी शर्मा ओली को पक्राउविरुद्ध भइरहेको आन्दोलन कमजोर पार्ने उद्देश्यले आफूलाई निशाना बनाइएको बताएका हुन् 
बस्नेतले लेखेका छन्, ‘मलाई गिरफ्तारी गरी हाम्रो अध्यक्ष केपी शर्मा ओली विरुद्ध भइरहेको प्रतिशोधात्मक गिरफ्तारीको विरोधमा उठेको आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ ।’
उनका अनुसार तीन वर्षअघि नै आफूविरुद्ध ‘फेक व्यक्ति’ प्रयोग गरेर झुट्टा जाहेरी दर्ता गराइएको र उक्त मुद्दा प्रहरी अनुसन्धानबाट फर्जी प्रमाणित भइसकेको दाबी गरेका छन् । साथै, सोही विषयमा उच्च अदालत पाटन मा दायर गरिएको रिट अदालतले खारेज गरिसकेको उनले उल्लेख गरेका छन् ।
बस्नेतले पुनः सोही विषयमा पूरक जाहेरी दर्ता गरी मुद्दा अदालतमा विचाराधीन अवस्थामा रहेको भन्दै फेरि अर्को पटक ‘नक्कली जाहेरी’ दिन लगाएर पक्राउ गर्ने योजना बनाइएको आरोप लगाएका छन् ।
उनले आफूविरुद्ध जाहेरी दिन लगाउने काममा गृहमन्त्री सुदन गुरुङ संलग्न रहेको दाबी गरेका छन् । साथै बालेन्द्र शाह नेतृत्वको सरकारप्रति पनि उनले आक्रोश व्यक्त गरेका छन् ।
बस्नेतले आफ्नो फोन अफ रहेको र आफू फरार भएको भन्ने प्रचारलाई ‘पूर्णतः भ्रामक’ भन्दै अस्वीकार गरेका छन् । घटनाबारे सम्बन्धित निकायले औपचारिक प्रतिक्रिया भने सार्वजनिक गरेको छैन ।






























