काठमाडौं,प्रधानमन्त्री बालेन्द्र शाह ले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरूसँग क्षेत्रगत समस्या र समाधानका उपायबारे विस्तृत छलफल गर्नुभएको छ।
सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा कोशी प्रदेशका सबै सांसदहरू सहभागी भएका थिए। उनीहरूले आ–आफ्नो निर्वाचन क्षेत्रका प्रमुख समस्या, विकासका अवरोध र आवश्यकताबारे प्रधानमन्त्रीसमक्ष ब्रिफिङ प्रस्तुत गरेका थिए।
छलफलमा सहभागी यज्ञमणी न्यौपाने का अनुसार, प्रदेशका साझा समस्यासँगै प्रत्येक क्षेत्रका छुट्टाछुट्टै मुद्दाहरू पनि प्रधानमन्त्रीसमक्ष राखिएको थियो।
‘कोशी प्रदेशका समग्र समस्या र हरेक निर्वाचन क्षेत्रका विषयमा प्रधानमन्त्रीज्यूलाई जानकारी गराइयो,’ उनले भने, ‘उहाँले तत्काल समाधान गर्नुपर्ने विषय र समाधानका उपायबारे विशेष चासो देखाउनुभयो।’
प्रधानमन्त्री शाहले समस्याहरूलाई प्राथमिकताका आधारमा वर्गीकरण गर्दै बजेटअनुसार छिटोभन्दा छिटो समाधानतर्फ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले तत्काल सम्बोधन गर्नुपर्ने विषय पहिचान गरी कार्यान्वयनलाई तीव्रता दिने धारणा राख्नुभएको बताइएको छ।
सरकारले क्षेत्रगत आवश्यकता र प्राथमिकतालाई ध्यानमा राख्दै विकास निर्माणका कामलाई प्रभावकारी बनाउने संकेत यस छलफलले दिएको छ।































