झापा, बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष मेघराय बास्तोलाको अध्यक्षतामा सोमबार संस्थाको कार्यालयमा आयोजित कार्यक्रममा जिल्ला खानेपानी कार्यालय झापाका प्रमुख सुमन भट्टराई प्रमुख अतिथिका रूपमा सहभागी थिए।
कार्यक्रममा उत्कृष्ट कर्मचारीका रूपमा पद्मबहादुर गुरुङ नगद १० हजार रुपैयाँसहित सम्मानित भए। त्यस्तै, संस्थाका ज्येष्ठ सदस्यका रूपमा दिलीराम बस्नेत र चन्द्रमाया विकलाई पनि नगदसहित सम्मान गरिएको थियो। उनीहरूलाई प्रमुख अतिथि भट्टराई, सल्लाहकार तथा अध्यक्षलगायतले सम्मान गरेका हुन्।
अध्यक्ष बास्तोलाले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनअनुसार हाल संस्थामा तीन वटा ओभरहेड ट्यांकी, १६ वटा डीप बोरिङ, १० वटा फिल्टर प्लान्ट र ११ हजार उपभोक्ता रहेका छन्। उनले संस्थाले स्थापना कालदेखि हालसम्म विभिन्न कठिनाइ र चुनौतीका बीच पनि समस्या समाधान गर्दै अघि बढेको उल्लेख गरे। साथै, संस्थाले गरेका १४ बुँदे कार्ययोजना, ६ बुँदे समस्या तथा चुनौती र २३ बुँदे भावी योजना पनि प्रस्तुत गरिएको थियो।
कार्यक्रममा उपाध्यक्ष शैलेन्द्र सिटौलाले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन सचिव पारसमणि मैनालीले गरेका थिए। कोषाध्यक्ष शारदा रिजालले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन् भने लेखा समितिको प्रतिवेदन संयोजक विष्णुप्रसाद चुँडालले पेश गरेका थिए।
संस्थाका निवर्तमान अध्यक्ष तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कुनै पनि संस्थाको मेरुदण्ड कर्मचारी हुने बताए। उनले आफ्नै नेतृत्वकालमा सन् २०१८ र २०२२ मा संस्था उत्कृष्ट बन्नुमा कर्मचारीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे। कोभिड–१९ महामारीका बेला पनि कर्मचारीले जिम्मेवारीपूर्वक काम गरेको भन्दै उनले प्रशंसा गरे।
कार्यक्रममा प्रमुख अतिथि भट्टराईसहित संस्थाका निवर्तमान अध्यक्ष गुरुङ, सल्लाहकार लोकबन्धु कन्दङ्वा, राजकुमार पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका बिर्तामोड नगर सभापति दीपक दाहाल, नेपाल उद्योगशील महिला संघ झापाकी अध्यक्ष पावर्ता खरेल बिमलीलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधि, सल्लाहकार, उद्योगी–व्यवसायी तथा उपभोक्ताहरूको उल्लेखनीय उपस्थिति रहेको संस्थाका कार्यालय प्रमुख खड्गराज गिरीले जानकारी दिए।




























