बाँदरपीडित किसानद्वारा कृषि औजारसहित प्रदर्शन

0
9
खोटाङ,
बाँदरपीडित किसानले आज कृषि औजारसहित सदरमुकाम दिक्तेल बजारमा विरोध प्रदर्शन गरेका छन् । बाँदर नियन्त्रणको भरपर्दो उपाय खोजी गर्न सरकारसमक्ष माग गर्दै किसानहरुले हलो, जुवा, दाँते र कोदालोसहित आज प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा उत्रिएका किसानले ‘सबै किसान एक हौँ, बाँदरको समस्या समाधान गर, हाम्रो माग पूरा गर, राष्ट्रको सान किसानको सम्मान’ भन्ने नारासमेत लगाएका थिए । सो प्रदर्शनपछि प्रमुख जिल्ला अधिकारी रेखा कँडेललाई ज्ञापनपत्र बुझाउँदै खेतबारीमा बितण्डा मच्चाउने बाँदरलाई तारजालीको खोरमा थुन्ने तथा परिवार नियोजनको व्यवस्था गर्न किसानले माग गरेका छन् । ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कँडेलले सम्बन्धित निकायमा ज्ञापनपत्र पु-याएर सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
विसं २०७५ को फागुनमा पनि बाँदर नियन्त्रण तथा व्यवस्थापन समितिको पहलमा विभिन्न राष्ट्रिय निकुञ्जमा पु-याउने योजनासहित भारतको खुसीनगर उत्तरप्रदेशका पेसेवर शिकारी झिकाएर दर्जनौँ बाँदर समातिएको थियो । यद्यपि, नियन्त्रणमा लिइएको बाँदर निकुञ्जमा लैजानअगावै समातेर राखेकै ठाउँमा मरेको बताइएपछि पशु अधिकारकर्मीले चासो देखाउँदा कानुनी जटिलता आइपरेको थियो ।
नेपालमा बाँदर मार्न कानुनी अड्चन भएकाले उचित व्यवस्थापन गर्न पहल थालिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here