नवनिर्वाचित स्वास्थ्य मन्त्रीलाई एक नागरिकको आग्रह

0
2

नेपालको स्वास्थ्य क्षेत्र सुधार गर्ने यो सही समय हो। नयाँ नेतृत्वसँगै अब स्वास्थ्य प्रणालीमा सानो-सानो टालटुल होइन, दीर्घकालीन, व्यवहारिक र प्रभावकारी सुधारको आवश्यकता छ। अस्पताल भवन थप्दै जानु मात्र स्वास्थ्य सुधार होइन; गुणस्तरीय सेवा, सक्षम जनशक्ति, वैज्ञानिक व्यवस्थापन र जनविश्वास नै वास्तविक सुधारका आधार हुन्।

सबैभन्दा पहिले, हाम्रो स्वास्थ्य प्रणालीले प्रि-हस्पिटल केयर अर्थात् अस्पताल पुग्नुअघि बिरामीले पाउने सेवामा विशेष ध्यान दिनुपर्छ। राम्रोसँग सञ्चालन गरिएका एम्बुलेन्स, तालिमप्राप्त प्यारामेडिक्स, र आकस्मिक अवस्थामा तुरुन्तै जीवनरक्षा गर्न सक्ने जनशक्ति आजको अत्यावश्यक आवश्यकता हो। धेरै ज्यान अस्पताल नपुग्दै वा ढिलो उपचारका कारण गुमिरहेका छन्। त्यसैले देशभरि नै प्रशिक्षित प्यारामेडिक्स, व्यवस्थित एम्बुलेन्स सेवा, र मुख्य सार्वजनिक स्थानहरूमा AED (Automated External Defibrillator) को उपलब्धता सुनिश्चित गरिनुपर्छ। साथै, CPR र आधारभूत फर्स्ट एड तालिम विद्यालयको पाठ्यक्रममै समावेश गरिनुपर्छ, ताकि भविष्यका नागरिकहरू आपत्कालीन अवस्थामा केवल दर्शक होइन, पहिलो सहायक बन्न सकून्।

सरकारी स्वास्थ्य क्षेत्रतर्फ हेर्दा, अहिलेको जस्तो धेरै साना स्वास्थ्य संस्था छरिएर कमजोर सेवा दिने मोडेललाई पुनर्विचार गर्नुपर्ने देखिन्छ। आज सडक पहुँच पहिलाको भन्दा धेरै राम्रो भएको अवस्थामा, ५० किलोमिटर वरिपरि रहेका दस वटा कमजोर अस्पताल वा स्वास्थ्य चौकीभन्दा एउटा क्षेत्रीय अस्पताललाई अत्यन्त शक्तिशाली, स्रोतसाधनयुक्त र विशेषज्ञ सेवायुक्त बनाउनु बढी उपयोगी हुन सक्छ। संख्या मात्रै बढाउने होइन, गुणस्तर बढाउने सोच आवश्यक छ। सीमित तर सशक्त सरकारी स्वास्थ्य संस्था निर्माण गर्दा सेवा प्रभावकारी, जनशक्ति उपलब्ध, उपकरण प्रयोगमैत्री र व्यवस्थापन उत्तरदायी बन्न सक्छ।

स्वास्थ्यकर्मीलाई केवल सेवाभावको नाममा थकित बनाउने होइन, उचित तलब, प्रोत्साहन भत्ता र सम्मानजनक कार्य वातावरण दिनुपर्छ। राम्रो सेवा चाहिने हो भने राम्रो जनशक्ति टिकाउन सक्नुपर्छ। दुर्गम वा चुनौतीपूर्ण क्षेत्रमा काम गर्ने जनशक्तिलाई थप प्रोत्साहन दिनु आवश्यक छ। अस्पतालको सरसफाइलाई पनि सामान्य सहायक कामका रूपमा होइन, पेशेवर क्लिनिङ सेवा मार्फत व्यवस्थापन गर्नुपर्छ। सफा अस्पताल बिरामीको अधिकार हो, सुविधा होइन।

अस्पताल सञ्चालनमा अर्को ठूलो कमजोरी भनेको व्यवस्थापन हो। स्वास्थ्य संस्थाको नेतृत्वमा सधैं चिकित्सक वा प्रशासनिक पहुँच भएको व्यक्ति मात्र होइन, स्वास्थ्य व्यवस्थापनमा शिक्षित र दक्ष व्यक्ति नियुक्त गरिनुपर्छ। राम्रो उपचारका लागि राम्रो व्यवस्थापन अपरिहार्य हुन्छ।

स्वास्थ्य बीमालाई पनि व्यावहारिक र दिगो बनाउन सुधार आवश्यक छ। अहिलेको प्रणालीमा धेरै ठाउँमा अनावश्यक दुरुपयोग, अपुग पहुँच र वित्तीय असन्तुलन देखिन्छ। त्यसैले स्वास्थ्य बीमालाई बलियो बनाउँदै, आर्थिक रूपमा सक्षम व्यक्तिका लागि OPD र परीक्षणमा अनुदान सीमित गरेर, सबैका लागि भर्ना उपचार (inpatient care) को भरपर्दो कभरेज सुनिश्चित गर्ने मोडेलतर्फ जान सकिन्छ। जसले साँच्चिकै ठूलो उपचार खर्चबाट परिवारलाई जोगाओस्।

निजी क्षेत्र पनि स्वास्थ्य सेवाको एक महत्वपूर्ण आधार हो। त्यसैले निजी अस्पतालहरूलाई केवल नियमन गर्ने होइन, न्यायोचित र उत्तरदायी संरचनामा सञ्चालन गर्न दिनुपर्छ। कम्तीमा १० प्रतिशत बेड निःशुल्क सेवा वा सामाजिक दायित्वका लागि छुट्याउने व्यवस्था हुनुपर्छ। तर त्यो दायित्व पूरा गर्न उनीहरूले पाउने बीमाको रकम समयमै भुक्तानी गरिनु अनिवार्य छ, नत्र सेवा नै प्रभावित हुन्छ। निजी अस्पतालहरूका लागि एउटै दर सबैमा लागू गर्ने प्रणाली न्यायोचित हुँदैन। सेवाशुल्क वा बीमा दर अस्पतालको पूर्वाधार, जनशक्ति, सेवा स्तर र क्षमता हेरेर निर्धारण हुनुपर्छ।

औषधि क्षेत्रमा पनि ठूलो सुधार आवश्यक छ। बिरामीले सस्तो मात्र होइन, गुणस्तरीय जेनेरिक औषधि पाउनुपर्छ। त्यसका लागि उत्पादनदेखि ढुवानी र भण्डारणसम्मको क्वालिटी कन्ट्रोल र ट्रान्सपोर्ट चेन कडाइका साथ लागू हुनुपर्छ। सरकारले आफैं पनि औषधि उत्पादन क्षेत्रमा सक्रिय भूमिका खेल्नुपर्छ, ताकि बजार पूर्ण रूपमा निजी स्वार्थमा मात्र निर्भर नहोस्।

सबैभन्दा महत्वपूर्ण विषयमध्ये एक हो एन्टिमाइक्रोबियल नीति। सामान्य रोगमा, खतरा संकेत बिना, किन उच्चस्तरका एन्टिबायोटिक प्रयोग गर्ने? यस्तो अभ्यासले भविष्यमा ठूलो एन्टिबायोटिक प्रतिरोधको संकट निम्त्याउँछ। त्यसैले रोगअनुसार अनिवार्य एन्टिमाइक्रोबियल गाइडलाइन लागू गरिनुपर्छ। चिकित्सकले आफ्नो क्लिनिकल अनुभवका आधारमा आवश्यक परे सावधानीपूर्वक फरक निर्णय गर्न सक्ने व्यवस्था रहोस्, तर त्यो पनि उचित कारणसहित होस्। स्वतन्त्रता रहोस्, तर उत्तरदायित्वसहित।

आज नेपाललाई स्वास्थ्य क्षेत्रमा प्रचारमुखी विस्तार होइन, दूरदर्शी पुनर्संरचना चाहिएको छ। भवनभन्दा सेवा, संख्याभन्दा क्षमता, घोषणाभन्दा कार्यान्वयन, र अव्यवस्थाभन्दा प्रणाली चाहिएको छ। नवनिर्वाचित स्वास्थ्य मन्त्रीज्यूले यदि यी आधारभूत विषयहरूमा ध्यान दिन सक्नुभयो भने, स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तन सम्भव छ। स्वास्थ्य क्षेत्र सुधार्नु भनेको केवल अस्पताल सुधार्नु होइन, देशको भविष्य सुधार्नु हो।

डा. रविन रेग्मी
बालराेग बिशेषज्ञ
कन्काई हस्पिटल,बिर्तामोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here