डा. अर्पिता सिंह (30) मुख तथा अनुहारको शल्यचिकित्सक (ओरल एण्ड मेक्सोलोफेसियल सर्जन) हुन् । बिर्तामोडस्थित वी एण्ड सी हस्पिटलमा पाँच महिनादेखि उनी सेवारत् छिन् । अनुहार र मुखका कुनै पनि समस्याको उपचारमा डा. अर्पिता समर्पित छिन् । राजविराज (सप्तरी)की बासिन्दा उनले त्यहीबाट एसएलसी गरी काठमाडौंमा प्लस टू गरिन् । त्यसपछि पढाइका लागि नौलो विषय रोजिन्– ओरल एण्ड मेक्सोलोफेसियल । त्यही विषयमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा साढे आठ बर्ष अध्ययन गरिन् । अध्ययन पूरा गरेर अनुहार र मुखको उपचारमा विशेषज्ञ सेवा दिन उनले वी एण्ड सी हस्पिटल रोजिन् । मेची अञ्चलमै पहिलोपटक उक्त हस्पिटलले सो सेवा शुरु गरेको हो । डा. अर्पिताले यो अवधिमा ३० बढी मेजर सर्जरी गरिसकेकी छिन् भने अनुहार र मुखको स्वास्थ्यजाँच, सामान्य सर्जरी र उपचार सेवा सयौं विरामीले लिइसकेका छन् ।
आफूले चाहे अनुसारको अनुहार बनाउन सकिन्छ, अनि अनुहार र मुखको उपचार बिर्तामोडमै हुन्छ भनेर धेरैलाई थाह छैन । तर दुर्घटनामा अनुहार, नाक, मुख, आँखाको हड्डी भाँचिएको होस् या त खुँडेपन, मुखको क्यान्सर मात्र होइन अनुहारका कुनै पनि समस्या र चाहे अनुसारको अनुहार बनाउन सक्ने उपचार र प्रविधि वी एण्ड सी उपलब्ध छ । अहिलेको अत्याधुनिक प्रविधिको प्रयोग गरी त्यही उपचारका लागि खटिएकी छिन् डा. अर्पिता ।
अहिले बढ्दो दुर्घटनासँगै नाक भाँचिने, मुख–अनुहारको हड्डी–भाँचिने, आँखाको डिल, निधारमा गहिरो चोट लाग्ने, दाँत भाँचिने जस्ता विविध समस्याले मानिसको अनुहारमै कुरुप हुने क्रम बढ्दैछ । तर ती सबै समस्याको हल गरी अनुहारलाई पहिलेकै अवस्थामा फर्काउन सकिने बताउँछिन्– डा. अर्पिता । ‘अहिले त्यही काममा व्यस्त छु’– हस्पिटल परिसरमा भेटिएकी उनले भनिन्– ‘अनुहारको चाउरी परेको छाला तन्काएर चाउरीपन हटाउने उपचार पनि यहीं गराउँदैछौं ।’
अनुहार र मुख सम्बन्धी धेरै समस्या भएका मानिस छन् । तर चेतना र उपचार सम्भव छ भन्ने प्रचार अभावमा उनीहरुको पहुँच हस्पिटलसम्म पुगेको छैन । सामान्य चेतना अभावमा मानिस मुखको क्यान्सर व्यहोरी रहेको र त्यही कारण ज्यान गुमाइरहेको डा. अर्पिता बताउँछिन् । मुखको क्यान्सर विविध कारणले हुन सक्छ । जस्तैः बुद्धि बंगारो उम्रने क्रममा इन्फेक्सन हुन्छ । त्यो बढेर, सुन्निएर श्वास फेर्न गाह्रो पर्छ । विस्तारै असर घाँटीसम्म पुग्छ । त्यो क्यान्सरको कारण बन्न सक्छ । त्यस्तो अवस्थामा बुद्धि बंगारो निकाल्नु राम्रो हुने डा. अर्पिता बताउँछिन् । ‘मुखमा कुनै घाउ दुई हप्ताभन्दा बढी समयदेखि छ भने हस्पिटलमा गएर परीक्षण गराउनैपर्छ’– उनले भनिन्– ‘ नत्र त्यहीबाट क्यान्सरको सम्भावना हुन्छ, तत्काल परीक्षण गराए बायोस्पी गर्दा ठीक भइहाल्छ ।’
हाम्रो गाला छाम्दा छाला तन्कन्छ । छाला लचकदार हुन्छ । तर अहिले सुपारी, मधु, गुट्खा अर्थात् सुपारीबाट बनेको परिकार र रातो खोर्सानी लगायतका कारण गालाको छाला अररो हुने, नतन्कने समस्या बढेको पाइएको बताउँदै डा. अर्पिताले भनिन्– ‘यो क्यान्सर अघिको लक्षण हो ।’ युवाअवस्थाका मानिसमा अहिले यो समस्या बढी देखिएको भन्दै उनले गालाको छाला अररो हुने, नतन्कने र मुख पहिलोको जति नखुल्ने नै यसको मुख्य लक्षण भएको सुनाइन् ।
अहिले बालबालिकामा छुर्पी खाने– बढ्दो बानीले मुखको जटिल समस्या निम्तिन थालेको आफ्नो अध्ययनले पुष्टि गरेको डा. अर्पिताको भनाइ छ । छुर्पी, सुपारी जस्ता कडा कुरा खाँदा अनुहार र टाउकोको हाडको जोर्नी खुकुलो भई मुख खुलेपछि बन्द नहुने, आधा खुलेको खुलै हुने, हाइ गर्दा धेरै बेर मुख खुलिरहने बताइन्छ । यस्तो समस्या हुनेको कान, टाउको दुख्ने समस्या हुने डा. अर्पिताको भनाइ छ । प्रौढ र बृद्धावस्थामा देखिने यस्तो समस्या बालबालिकामै देखिन थालेकोले आफू चिन्तित बनेको उनले सुनाइन् । भनिन्– ‘त्यसको पनि उचित परामर्श र उपचार सेवा दिँदैछौं ।’
मुख सुन्निे, गल्फुलो आएको भनी सामान्य उपचार गर्ने हाम्रो बानी छ । तर त्यो लक्षण जटिल रोगको पनि हुनसक्छ । मुखभित्र थुक बन्ने ग्रन्थीमा ‘स्टोन’ हुँदा पनि त्यस्तो समस्या हुने डा. अर्पिता बताउँछिन् । केही समय अघि एक बिरामीको मुखबाट थुक बन्ने ग्रन्थीभित्र शल्यक्रिया गरी निकालेको स्टोन देखाउँदै उनले भनिन्– ‘अनुहार र मुखमा पानीको फोका जमेको, हड्डीभित्रको समस्याको समाधान पनि सहज प्रविधिबाट गर्दछौं ।’ ‘अनुहार–मुख कहीं ठोक्किएर मुख नखुल्ने समस्या पनि शल्यक्रिया गरी ठीक हुन्छ’– अगाडि भनिन्– ‘टाउको र अनुहारको हड्डी ठोक्किएर मुख नखुल्ने अवस्था आउँछ ।’
यस्तो उपचार खासै महंगो नभएको उनले सुनाइन् । पढाइमै नयाँ विषय रोजेकी उनले त्यतिबेलै अनुहार, मुखका समस्या धेरै रहेको अवस्थाको पहिचान गरिसकेको बताइन् । पहिलेदेखि नै रुचीको विषय भएकोले त्यही विषय पढेर उपचारमा खटिएको उनको भनाइ छ । ‘केही बर्ष वी एण्ड सी मै सेवा गर्छु, मेचीका मानिसमा यस्तो समस्या धेरै छ’– आफूले गरेको उपचार सेवाप्रति सन्तुष्ट रहेको बताउँदै डा. अर्पिताले जोड दिइन् –‘शुरुमै परीक्षण गराउँदा रोग पनि पत्ता लाग्छ, कम खर्चमै ज्यान बचाउन सकिन्छ तर चेतना अभाव छ । जनचेतनाको पाटोलाई सशक्त बनाउनु अहिलेको आवश्यकता बनेको छ ।’
good morning Dr.Arpita
very good tips for jhapali people and Dr.you continu do service on jhapa we will be get profit from you.
im from jhapa
kankai nagar palika