झापा, नेपाल–भारत सीमावर्ती क्षेत्रबीच सांस्कृतिक सहकार्य, पर्यटन प्रवद्र्धन तथा आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यसहित झापाको बिर्तामोडमा ‘कोशी–बंगाल सांस्कृतिक तथा पर्यटन उत्सव–२०८२’ आयोजना हुने भएको छ ।
“सीमापार संस्कृति, सम्पदा र पर्यटनको उत्सव” भन्ने मूल नाराका साथ आगामी चैत २४ र २५ गते सञ्चालन हुने उक्त महोत्सवले कोशी प्रदेश र भारतको बंगाल क्षेत्रबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।

पर्यटन कार्यालय काँकडभिट्टाको प्रवद्र्धनमा आयोजना हुन लागेको उक्त उत्सव निजी क्षेत्रको सक्रियतामा सञ्चालन गरिने जनाइएको छ । होटल व्यवसायी संघ झापाकी अध्यक्ष तथा आयोजक समितिकी अध्यक्ष इन्दिरा श्रेष्ठका अनुसार सीमापार पर्यटन प्रवद्र्धनसँगै स्थानीय व्यवसायलाई चलायमान बनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।
“कोशी प्रदेशलाई बंगालसँग पर्यटन र संस्कृतिका माध्यमबाट जोड्ने प्रयासस्वरूप यो उत्सव आयोजना गरिएको बताउँदै श्रेष्ठले भन्नुभयो – “यसले दुवै क्षेत्रका व्यवसायी, कलाकार तथा पर्यटकबीच सहकार्यको नयाँ ढोका खोल्ने विश्वास लिएका छौँ ।”
उक्त उत्सवमा नेपालका १८ वटा र बंगालका १२ वटा स्टल रहने पर्यटन कार्यालय झापाका प्रमुख छविलाल खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार ती स्टलहरूमा स्थानीय परिकार, हस्तकला सामग्री, पर्यटनसम्बन्धी जानकारी तथा सेवा प्रस्तुत गरिनेछ ।
उत्सव अवधिभर फोटो तथा चित्रकला प्रदर्शनी, लोक तथा सांस्कृतिक नृत्य, संगीत प्रस्तुति लगायत विविध कार्यक्रम समावेश गरिने आयोजकले जनाएको छ । यसबाट स्थानीय कला र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने अवसर सिर्जना हुने अपेक्षा गरिएको छ ।
महोत्सवमा टुर तथा ट्राभल व्यवसायी, होटल तथा होमस्टे सञ्चालकहरूको उल्लेख्य सहभागिता रहने जनाइएको छ । सहभागीहरूले आफ्ना सेवा, प्याकेज तथा गन्तव्यहरूको प्रत्यक्ष प्रचार–प्रसार गर्ने अवसर पाउनेछन् ।
विशेषगरी पूर्वी नेपालका पर्यटकीय गन्तव्यहरूलाई भारतीय पर्यटकसमक्ष प्रवद्र्धन गर्ने तथा बंगाल क्षेत्रका पर्यटकीय सम्भावनालाई नेपाली बजारमा विस्तार गर्ने लक्ष्य राखिएको आयोजक पक्षले जनाएको छ ।
आयोजकका अनुसार यस्ता किसिमका उत्सवहरूले सीमावर्ती क्षेत्रमा पर्यटन आवागमन वृद्धि गर्ने, स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याउने तथा सांस्कृतिक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास गरिएको छ ।
दुई देशबीचको खुला सीमा तथा सांस्कृतिक समानतालाई उपयोग गर्दै दीर्घकालीन पर्यटन सहकार्यको आधार तयार पार्ने लक्ष्यसहित कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ ।
बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा पर्यटन अभियन्ता अर्जुन कार्की, महिला उद्यमी सुश्मा पौडेल, नाट्टा कोशी प्रदेश महासचिव नविन खरेललगायतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण होमस्टे (घरवास) महासंघ नेपालका महासचिव मन्जिल देवानले गर्नुभएको थियो ।






























