योगेन्द्र योगी
सुन्दरहरैंचा(मोरङ),

सुनसरीको इनरुवास्थित मालपोत कार्यालय परिसरबाट दुई दर्जन लेखापढी व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सरकारी सेवा प्रवाहमा देखिएको अनियमितता, सेवाग्राहीलाई अनावश्यक दुःख दिने तथा बिचौलियाको सक्रियता बढेको गुनासो बढेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले विशेष अनुगमन अभियान सञ्चालन गर्दै उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीद्वारा जारी प्रेस विज्ञप्तिअनुसार सेवाग्राहीलाई सहजरूपमा सेवा उपलब्ध गराउने प्रक्रियामा अवरोध पुर्याउने, अनावश्यक हैरानी दिने र बिचौलियाको रूपमा काम गर्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिन अभियान तीव्र पारिएको हो। सोही क्रममा इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरमा खटिएको प्रहरी टोलीले १३ जनालाई नियन्त्रणमा लिएको उल्लेख गरिएको छ।
त्यस्तै, कोशी प्रदेश यातायात व्यवस्था कार्यालय, इटहरी क्षेत्रबाट समेत ५ जनालाई पक्राउ गरिएको विज्ञप्तिमा जनाइएको छ। यसरी दुई स्थानबाट कुल १८ जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये २ जना महिला र १६ जना पुरुष रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिएर सम्बन्धित प्रहरी कार्यालयमार्फत थप अनुसन्धान भइरहेको छ। सरकारी सेवा प्रवाहलाई पारदर्शी, सहज र सेवाग्राहीमैत्री बनाउने उद्देश्यले यस्तो अभियानलाई अझ कडाइका साथ निरन्तरता दिइने प्रहरीले स्पष्ट पारेको छ।
प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द्रबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा सार्वजनिक सेवा प्रवाहमा अवरोध पुर्याउने, बिचौलियाको रूपमा काम गर्ने तथा सेवाग्राहीलाई ठगी गर्ने गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाइएको उल्लेख गरिएको छ। साथै, यस्ता गतिविधिमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याइने चेतावनी दिइएको छ।
स्थानीय स्तरमा मालपोत कार्यालय जस्ता सेवामूलक निकायमा बिचौलियाको प्रभाव बढ्दै जाँदा सेवाग्राहीले अनावश्यक झन्झट र आर्थिक भार बेहोर्नुपरेको गुनासो बढ्दै आएको थियो। प्रहरीले पछिल्लो कदमले त्यस्ता गतिविधि नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको जनाएको छ।
यसैबीच, प्रहरीले सर्वसाधारणलाई यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन र कुनै पनि अनियमितता देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।






























