जेन–जी विद्रोहको भावना र आदेश अनुसार फागुन २१ मा भएको निर्वाचनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ऐतिहासिक विजयसहितको बलियो सरकारको हैसियतमा पु¥याएको छ । झण्डै दुई तिहाई सिटसहित संसदमा प्रवेश गरेको पार्टीले घोषणा मुताबिक बोलेन्द्र शाहलाई प्रधानमन्त्रीको पदमा आसिन गराइसकेको छ भने सरकारले पनि शासकीय सुधारका लागि सरकारको कार्यसूची सार्वजनिक गरेको छ । साढे तीन दशकदेखि अस्थिरताको दुष्चक्रमा फसेको नेपालको राजनीतिलाई नेपाली मतदाताले ‘लय’मा टेकाइ दिएका छन् । अब त्यसलाई विधि र पद्धति अनुसार स्थिरता, सुशासन हुँदै देशलाई समृद्धिको यात्रामा हिँडाउनु छ ।

नेपालमा प्रजातन्त्रका नाममा त कहिले अझै उन्नत भन्दै लोकतन्त्रका नाममा विभिन्न कालाखण्डमा आन्दोलन भए । दलहरुको अगुवाइलाई नेपाली जनताले साथ र समर्थन पनि दिए । तर, जनअपेक्षा अनुसार न शान्ति र सुव्यवस्था न त भ्रष्टाचारमुक्त शासन प्रणाली नै निर्माण भयो । अन्ततः तिनै नेपालीले यसपटकको निर्वाचन परिवर्तनको पक्षमा मत जाहेर गरे । पुराना भनिएका नेपाली कांग्रेस, नेकपा एमाले जस्ता दलहरुलाई अस्तित्व रक्षा गर्न झण्डै–झण्डै मुस्किल भयो । यस्तो अवस्थामा बनेको सरकारलाई देशको प्रजातान्त्रिक छविलाई स्वच्छ, पारदर्शी, परिपक्व र प्रतिष्पर्धीको उचाइमा पु¥याउने अवसर छ । नवपुस्ताको आशा र अपेक्षा पनि यही हो कि देशमा शासकीय सुधार होस्, विधिको शासन चलोस्, बेथितिहरु निर्मूल होऊन् ।
रास्वपालाई प्राप्त यसपटकको अभूतपूर्व जनादेश शासकीय सुधार मार्फत देशमा सुशासन र समुन्नति कायम गर्नु हो । यस्तो बेला खासगरी सरकारले विगतका सरकारका सकारात्मक कार्य तथा अभ्यासलाई मूल्यांकन गर्दै नयाँ राजनीतिक संस्कार र संस्कृतिको निर्माण गर्ने अग्रसरता देखाउनुपर्छ । निर्वाचनका माध्यमबाट प्राप्त जनादेश पनि व्यापक सुधारको अपेक्षा नै हो । सरकारले पनि त्यही भावनालाई आत्मसात गर्दै नतिजामुखी काममा ध्यान दिँदै एक महिनाभित्र अध्ययन टोली र कार्यदल गठन गर्ने प्रतबिद्धता जनाएको छ । विगतका सरकारको अक्षमता र सत्ता केन्द्रित स्वार्थका कारण बढेको भ्रष्टाचार, सेवा प्रवाहमा रहेको ढिलासुस्तीलाई चिरेर शासन व्यवस्थालाई पारदर्शी, जवाफदेही र नतिजामुखी बनाउनुपर्छ । यसका लागि सरकारको छायाँका रुपमा रहेको कर्मचारीतन्त्रलाई जिम्मेवार बनाउनुपर्छ । सरकारको प्रतिबिम्बका रुपमा रहेका कर्मचारीलाई स्वस्थ र स्वच्छ बनाएर सेवामुखी शासन व्यवस्थाको यात्रा तय गर्नुपर्छ । यसका लागि सरकारलाई सफलता प्राप्त होस् शुभकामना ।


























