पार्थ मण्डल /झापा ।

तोकिएको लक्ष्यअनुसारको मासिक राजस्व उठाउन धौ–धौ परिरहेको भद्रपुर भन्सार कार्यालय लामो समयदेखि प्रमुखविहीन बनेको छ। गत मंसिर २९ गतेदेखि प्रमुख भन्सार अधिकृतविहीन बनेको भद्रपुर भन्सार कार्यालयमा राजस्व असुलीबाहेक अन्य दैनिकी कामकाज प्रभावित बनेको छ।
प्रमुख भन्सार अधिकृत अर्जुन सिटौलाको गत मंसिर २८ गते अनिवार्य अवकाश भएको थियो। भन्सार अधिकृत सिटौला अवकाश पाएको तीन महिना १९ दिन बितिसक्दा पनि भन्सार विभागले अझै पनि प्रमुख भन्सार अधिकृत पठाएको छैन।
भन्सार विभागले तत्काल काम चलाउनका लागि निमित्त प्रमुख भन्सार अधिकृतको रूपमा सुब्बा प्रमोद गौतमलाई जिम्मेवारी दिएको रहेछ। सुब्बा गौतम मेची भन्सार कार्यालय काँकडभिट्टाबाट मंसिर १४ गते विभागको निर्णयबमोजिम सरुवा भएर भद्रपुर आएका हुन्।
भदौ २४ गतेको जेन—जी आन्दोलनको क्रममा आगजनी गरी ध्वस्त बनाइएको यस भन्सारमा प्रमुख भन्सार अधिकृतको लागि पटकपटक विभागसँग माग गरिसकेको बताउँदै निमित्त भन्सार प्रमुख गौतमले भने, ‘विभागले अझै पनि भन्सार प्रमुख पठाएको छैन, अबको १५ दिनभित्र पठाउने जानकारी प्राप्त भएको छ।’ केही कर्मचारी बढुवाको प्रक्रियामा रहेकोले बढुवा भएपछि त्यहीमध्येबाट कसैलाई पठाउने विभागबाट बुझिएको उनले बताए।
यता कर्मचारी स्रोतका अनुसार पहिला जस्तो भारतबाट लत्ताकपडा नआउँदा कोही पनि भन्सार अधिकृत भद्रपुर भन्सार आउन नमानेकोले करिब साढे तीन महिना बित्यो। अरू कति दिन प्रमुखविहीन हुने हो त्यसको पनि टुंगो लागि नसकेको उनको भनाइ छ। बालेन नेतृत्वको सरकार गठन भएसँगै अर्थ मन्त्रालयले चैत १६ गते ३० उपसचिवको सरुवा गर्दा १२ जनालाई भन्सार विभागअन्तर्गत खटाएको छ। भद्रपुर भन्सारको दरबन्दी अधिकृत रहेकोले उपसचिव तहको कर्मचारी नपरेको हो।
तस्करी बढ्दा राजस्व असुलीमा गिरावट
भारतको पश्चिम बंगाल र विहार राज्यसँग जोडिएको सीमा नाकामा पर्ने भद्रपुर भन्सार कार्यालयमा पछिल्लो समययता राजस्व असुलीमा भारी गिरावट भएको छ। कुनै समय थियो, पूर्वकै सबैभन्दा बढी लत्ताकपडा भित्रिने भन्सारको रूपमा भद्रपुर भन्सारलाई चिनिन्थ्यो। अहिले जिल्लाका सीमा नाकाहरूबाट खुलेआम चोरी तस्करी मौलाएसँगै भद्रपुर भन्सारमा लत्ताकपडा आउनै छाडियो।
विशेषगरी काँकडभिट्टा, कचनकवलको पाठामारी र केचना नाका, झापा र गौरीगन्ज सीमा नाकाहरूबाट लत्ताकपडा भन्सार छलेर नेपाल भित्रिरहेको स्वयं कारोबारी बताउँछन्। छिमेकी जिल्ला इलामको पशुपतिनगरलगायत आसपासको नाकाबाट लत्ताकपडा झापा आइरहेको कारोबारीहरूको दाबी छ। ती नाकाहरूबाट भन्सार छलेर भित्राइएका लत्ताकपडाको पोकाहरू ७ देखि १० हजारमै बिर्तामोडका व्यापारीहरूको गोदाम पु¥याइन्छ। भन्सार ल्याउँदा त्यही सामान कम्तीमा १५ हजारदेखि ३० हजारसम्म पर्न जान्छ। त्यसैले बिर्तामोडका ठूलाठूला कपडा व्यापारीहरूले पनि चोरी तस्करीकै बाटो रोजिरहेकाले भन्सारमा लत्ताकपडा आउनै छाडिसकेको बताइन्छ।
भन्सारमा सरसामान नआउँदा कर्मचारीसमेत फुर्सदिला बनेका छन्। भद्रपुर नाकाबाट लत्ताकपडा त आउनै छाड्यो। भन्सार सुनसान जस्तै छ। भरिभराउ हुने गोदामहरू अहिले खाली छन्। विषादीजन्य औषधि, सुर्ती, कृषि सामग्रीलगायतका सरसामान मात्र भन्सार आउने गरेको निमित्त भन्सार प्रमुख प्रमोद गौतमले बताए। उनका अनुसार चालु आर्थिक वर्षको भन्सार लक्ष्य २५ करोड ३ लाख २५ हजार तोकिएको छ। साउनदेखि चैत १७ गतेसम्म ११ करोड ४० लाख ८२ हजार ३ सय ४ रुपैयाँमात्र राजस्व संकलन भएको छ। ९ महिना बित्न लाग्दा आधा पनि लक्ष्य नपुगेको उनको भनाइ छ।
गत आर्थिक वर्ष ०८१÷०८२ मा पनि लक्ष्य पुगेको थिएन। ३३ करोड १३ लाख रुपैयाँ लक्ष्य राखेकोमा २० करोड ८६ लाख रुपैयाँ उठेको थियो। यो पटक अघिल्लो वर्षको तुलनामा लक्ष्य ८ करोड रुपैयाँले घटी छ। यो पटक २० करोड उठाउन पनि समस्या देखिरहेको उनले बताए। भन्सारको तथ्यांक अनुसार साउनमा लक्ष्य १ करोड ९७ लाख २५ हजार तोकिएकोमा प्रगति १ करोड ६८ लाख ५२ हजार, भदौमा लक्ष्य २ करोड ४२ लाख तोकिएकोमा प्रगति १ करोड ४८ लाख ८२ हजार, असोजमा लक्ष्य २ करोड १७ लाख २८ हजार तोकिएकोमा प्रगति १ करोड ४४ लाख ३२ हजार, कात्तिकमा लक्ष्य २ करोड १३ लाख ६८ हजार तोकिएकोमा प्रगति १ करोड ४२ लाख भएको छ।
त्यस्तै, मंसिरमा लक्ष्य १ करोड ९० लाख २७ हजार तोकिएकोमा प्रगति १ करोड ४९ लाख ८७ हजार, पुसमा लक्ष्य १ करोड ९२ लाख ६२ हजार तोकिएकोमा प्रगति ५४ लाख ८६ हजार, माघमा लक्ष्य १ करोड ९३ लाख ७३ हजार तोकिएकोमा प्रगति १ करोड ७९ हजार, फागुनमा लक्ष्य १ करोड ९६ लाख ९१ हजार तोकिएकोमा प्रगति १ करोड १२ लाख २७ हजार र चैतमा लक्ष्य २ करोड १३ लाख ९१ हजार तोकिएकोमा चैत १७ गतेसम्म प्रगति १ करोड १९ लाख ३२ हजार भएको जनाइएको छ।






























