झापामा ३४६ बालबालिकामा अटिजम

0
2

झापा।

झापामा तीन सय ४६ जना बालवालिकामा अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको छ । १९औं विश्व अटिजम सचेतना दिवसको अवसरमा झापाको बिर्तामोडमा विहीवार आयोजना गरिएको कार्यक्रममा २६१ जना बालक र ८५ जना बालिकामा अटिजम भएको तथ्याङ्क सार्वजनिक भएको हो ।

करुणा फाउण्डेशनले सन् २०२५मा तयार पारेको तथ्याङ्क सार्वजनिक गर्दै अटिजमका बिरामी बालबालिकाको संख्या बढ्दो अवस्थामा रहे पनि आवश्यक सेवा, सुविधा र नीतिगत व्यवस्था भने अझै अपूर्ण रहेको सरोकारवालाहरूले बताएका थिए ।

सार्वजनिक गरिएको तथ्याङ्कमा सबैभन्दा बढी अटिजम बिर्तामोड नगरपालिकामा देखिएको छ । यहाँका ५२ जना बालवालिकामा अटिजम देखिएको समान भविष्य फाउण्डेशनका सञ्चालक कुमार चुडालले जानकारी दिए ।

उनका अनुसार अर्जुनधारा नगरपालिकामा ५६ जना, वाह्रदशी गाउँपालिकामा ७ सात जना, भद्रपुर नगरपालिकामा २६ जना, वुद्धशान्ति गाउँपालिकामा १५ जना, दमक नगरपालिकामा ४३ जना, गौरादह नगरपालिकामा ७ जना, गौरीगञ्ज गाउँपालिकामा ९ जना, हल्दिवारी गाउँपालिकामा ११ जना, झापा गाउँपालिकामा ११ जना, कचनकवल गाउँपालिकामा ५ जना, कमल गाउँपालिकामा २४ जना, कनकाई नगरपालिकामा ११ जना, मेचीनगरमा ४५ जना र शिवसताक्षी नगरपालिकामा २४ जना अटिजम भएको बालवालिका रहेका छन् ।

सार्वजनिक गरिएको तथ्याङ्क अनुसार कचनकवल गाउँपालिकामा सबैभन्दा थोरै ५ जनामा मात्र अटिजम देखिएको छ । समान भविष्य फाउण्डेशन र न्याय तथा विकासका लागि सामाजिक सञ्जाल (एसएनजेडी)ले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा करुणा फाउण्डेशन (२०२५) को तथ्यांक सार्वजनिक गरिएको थियो । एसएनजेडीका कार्यक्रम संयोजक तथा समान भविष्य फाउण्डेशनका सञ्चालक चुडालका अनुसार अभिभावकले आफ्ना बालबालिकामा अटिजम भएको स्वीकार नगर्ने प्रवृत्तिका कारण वास्तविक संख्या अझै बढी हुन सक्ने अनुमान गरिएको छ ।

झापाको बिर्तामोड, अर्जुनधारा र मेचीनगर क्षेत्रमा अटिजम भएका बालबालिकाको संख्या बढी देखिएको छ भने ग्रामीण क्षेत्रमा कम रहेको छ । यसले शहरी क्षेत्रमा पहिचान बढ्दै गएको संकेत गरे पनि ग्रामीण क्षेत्रमा सेवा पहुँच अझै कमजोर रहेको देखाउँछ ।

नेपालको संविधान २०७२, अपाङ्गता अधिकार ऐन २०७४ तथा समावेशी शिक्षा नीतिले अटिजम भएका व्यक्तिको अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन प्रभावकारी हुन नसकेको कार्यक्रममा उल्लेख गरिएको छ । अटिजम सम्बन्धी छुट्टै राष्ट्रिय नीति कार्यान्वयनमा नआउँदा बालबालिकाको शिक्षा, उपचार र हेरचाहमा अभिभावकले समस्या भोग्दै आएका छन् । समान भविष्य फाउण्डेशनका सञ्चालक रञ्जन धमलाका अनुसार प्रारम्भिक पहिचान र निदानको अभाव, विशेषज्ञ जनशक्तिको कमी, समावेशी शिक्षा प्रणाली कमजोर, स्पिच तथा अकुपेशनल थेरापी सेवाको अभाव, सामाजिक कलंक तथा ग्रामीण क्षेत्रमा सेवा पहुँच सीमित हुनु प्रमुख चुनौतिका रूपमा रहेका छन् ।

सरकारले अपाङ्गता परिचय–पत्र, मासिक भत्ता तथा निःशुल्क स्वास्थ्य सेवाको व्यवस्था गरे पनि ती सेवा प्रभावकारी रूपमा सबैसम्म पुग्न सकेका छैनन् । साथै, अटिजम भएका बालबालिकाको सही वर्गीकरण र सेवा पहुँचमा समेत समस्या देखिएको छ ।

सरकारी सेवा सीमित हुँदा निजी तथा गैरसरकारी संस्थामा निर्भरता बढ्दै गएको छ, जसले खर्च बढाउने र सेवामा पहुँच सीमित बनाउने समस्या निम्त्याएको छ । निजी थेरापी केन्द्रहरूले महँगो शुल्क लिने प्रवृत्तिले अभिभावकहरू आर्थिक रूपमा थप दबाबमा परिरहेका छन् ।

सरोकारवालाहरूले स्थानीय तहले बजेट बिनियोजन गरी सेवा केन्द्र स्थापना गर्नुपर्ने, विद्यालयहरूमा समावेशी शिक्षा प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य संस्थाबाट प्रारम्भिक स्क्रिनिङ तथा थेरापी सेवा विस्तार गर्नुपर्ने र समुदायस्तरमा सचेतना बढाउनुपर्नेमा जोड दिएका छन् ।

हाल झापाको दमकस्थित सरस्वती माध्यमिक बिद्यालय र बिर्तामोडको महेन्द्ररत्न विद्यालयमा अटिजम भएका बालबालिकाका लागि विशेष कक्षा सञ्चालनमा छन् । तर, प्रत्येक स्थानीय तहमा यस्ता कक्षा विस्तार गर्नुपर्ने माग उठेको छ । निजी पहलमा अभिभावकहरूले स्थापना गरेको समान भविष्य फाउण्डेशनले बिर्तामोड–४मा ‘समान भविष्य पूर्वप्राथमिक विद्यालय’ सञ्चालन गरिरहेको छ, जहाँ हाल १२ जना बालबालिका अध्ययनरत रहेको सञ्चालक पुष्प खड्काले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here