बनियानी (झापा),

साहित्यकार कृष्ण धरावासीलाई दीर्घसाहित्य सेवा सम्मान प्रदान गरिएको छ । झापाको अर्जुनधारा नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृति प्रवर्द्धन समितिले साहित्यकार धरावासीलाई उक्त सम्मान प्रदान गरेको हो ।
आज नगरपालिकाको सभाहलमा आयोजित ‘साहित्य विमर्श तथा दीर्घ साहित्य सेवा सम्मान समारोह’मा साहित्यकार धराबासीलाई रू एक लाख एक हजारसहित दीर्घ सेवा सम्मान प्रदान गरिएको नगर कार्यालयले जनाएको छ ।
कार्यक्रममा वरिष्ठ साहित्कार प्रकाश बुढाथोकी, नगरप्रमुख बलदेवसिंह गोम्देन तामाङ, उपप्रमुख खड्गमाया पराजुलीलगायतले सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
नगरप्रमुख गोम्देनको अध्यक्षतामा भएको कार्यक्रमको उद्देश्य एवं औचित्यमाथि उपप्रमुख पराजुलीले प्रकाश पार्नुभयो । समितिकी संयोजक कञ्चना काफ्लेले सहभागीलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गर्नुभएको थियो ।
सोही कार्यक्रममा साहित्य विमर्शसमेत गरिएको छ । विमर्श कार्यक्रममा साहित्यकार चन्द्र भण्डारी, सीमा आवास र दिपेन्द्र आचार्य प्रमुख वक्ताका रूपमा रहनुभएको थियो भने विमर्शको सहजीकरण पत्रकार सन्तोष आचार्यले गर्नुभएको थियो ।
कार्यक्रममा साहित्यकारले कविता, गीत, गजललगायत रचना प्रस्तुत गर्नुभएको नगरउपप्रमुख पराजुलीले बताउनुभयो । नगरले प्रदान गर्दै आएको उक्त दीर्घसेवा सम्मानबाट सरोजकुमार ओली, विष्णुकुमार भट्टराई, कालीबहादुर थापा, हस्त परियार र कृष्ण बराल सम्मानित भइसक्नुभएको छ ।




























