[प्रकाश शिवाकोटी]
अन्य चाडपर्व जस्तै होलीका पनि आफ्नै विशेषता छ । हरेक मुलुकमा आ–आफ्नै तरिकाले होली पर्व मनाइन्छ । नेपालमा फाल्गुण शुक्ल अष्टमीका दिन विभिन्न रङ्गीन कपडाहरू मिलाएर बनाएको चिर गाडे पछि होली पर्व शुरू भएको मानिन्छ । यसरी शुरू भएको होली पर्व पूर्णिमाका दिन चिरलाई ढालेर जलाएपछि होली सम्पन्न हुन्छ । तराईमा भने भोलिपल्ट होली खेलिन्छ । इटालीमा बोलियाकोनोन्सको नामले होली मनाइन्छ भने चीनमा च्वेजका नामले । यसैगरी अमेरिका, जापान, इजिप्ट, इण्डोनिशिया, थाइल्याण्ड आदि देशमा पनि आ–आफ्नै प्रकारले यो पर्व मनाइन्छ । होलीलाई असत्यमाथि सत्यको जितको प्रतीकका रूपमा लिइन्छ । नेवारी परम्परा अनुसार पानीसँग नभएर अबिर र रंगसँग होली खेल्ने चलन छ । नेवारी संस्कृतिमा होलीका बारेमा युवा–युवतीलाई जिस्क्याउँदै गाएका अनेक शिष्ट तथा रोचक गीतहरू प्रशस्त पाइन्छन् । होलीको सन्दर्भमा गाइएका नेवारी गीतमा निकै मार्मिक तथा प्रेममय भावमा व्यक्त गरिएका छन् ।
नेपालः रंगहरुको पर्वका रुपमा मनाइने होली पर्व वसन्त ऋतुको आगमनसंगै रङ्ग खेलेर उल्लासपूर्ण रुपमा मनाइँदैछ । यस पर्वलाई मेलमिलाप, आपसी भाइचारा र सद्भावको सन्देश प्रवाह गर्ने विशेष अवसरका रुपमा मनाइन्छ । नेपालमा पहाड र तराई क्षेत्रमा छुट्टाछुट्टै दिनमा होली मनाउने गरिन्छ । हिन्दू संस्कृतिमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाका दिन होली मनाइन्छ । फाल्गुण महिनामा पर्ने भएकोले यस पर्वलाई तराईतिर फगुवा भनिन्छ । होलीका दिन एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हानेर रंगीन बनाउने बन्ने गरिन्छ । परम्परा अनुसार वसन्तपुरमा विधिपूर्वक चिर ठड्याइएपछि फागू पर्व शुरु हुन्छ । हनुमानढोका दरवारको गद्दी बैठक दक्षिणमा तीन तले चिर ठड्याइन्छ । यसो गरेपछि फागू अर्थात् होली पर्व शुरु भएको मानिन्छ । असत्यमाथि सत्यको विजय भएको मान्यताका साथ प्रतिकात्मक रूपमा चिर उठाउने र एकसातापछि फागू पूर्णिमाका दिन सो चिर ढालिन्छ । पछि त्यसलाई टुँडिखेल पु¥याएर दहन गरिन्छ । चिर ढालिनु अघि अन्तिममा दर्शन र पूजा गर्ने परम्परा रहेको छ । चिर दाहपछि बनेको खरानीलाई प्रसादका रूपमा घर लैजाने चलन छ । त्रेतायुगमा हिरण्यकश्यपु नामको दानवका प्रल्हाद नाम गरेका छोरा थिए । उनी भगवान् बिष्णुका भक्त थिए । उनलाई मार्न हिरण्यकस्यपु स्वयम्ले धेरै प्रयास गरे तर केही गर्दा पनि नसकेपछि आगोले समेत जलाउन नसक्ने वरदान पाएकी होलिका नाम गरेकी राक्षसनी जो हिरण्यकस्यपुकी बहिनी थिइन्, प्रल्हादलाई मार्ने आदेश दिएर पठाए । होलिकाले प्रल्हादलाई काखमा लिएर आगो होमिइन् तर आगोले प्रल्हाद वरु केही भएनन्, होलिका नै जलेर नष्ट भइन् । हिराण्यकश्यपुलाई पनि भगवान विष्णुले पछि नरसिंह अवतार लिएर मारे । यसरी होलिका दहन भएपछि भोलिपल्ट बिहान रङ्ग घोलेर एक अर्कामाथि लगाइदिने चलन छ । यही पौराणिक घटनाकी होलिका नामकी राक्षसनीको वध भएको दिनको रुपमा होली खेल्ने चलन शुरु भएको किम्वदन्ती रहेको छ । होलीमा रातो, हरियो, पहेंलो, निलोसहित बाँकी सवै प्रकारका रङ्गको प्रयोग गरिन्छ । रातो टीका लगाएर खुशियाली मनाइन्छ । आजको दिनलाई पर्व विदाका रुपमा सार्वजनिक विदा दिने गरिन्छ । काठमाडौं उपत्यका र पहाडी जिल्लामा पूर्णिमाकै दिन र त्यसको भोलिपल्ट तराईका जिल्लामा होली खेलिने भएकोले त्यही अनुसार विदा दिने चलन छ ।
अर्को पौराणिक प्रसङ्ग अनुसार द्वापर युगमा श्रीकृष्णलाई मार्न स्तनमा बिष दलेर दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई कृष्णले उल्टै मारिदिएको र पुतनाको भयंकरठूलो शवलाई गोपालवासीहरूले होलीकै दिन जलाएर जयजयकार गर्दै रङ्गहरुको जात्रा गरेको र खुशियाली मनाएको मानिन्छ । यसरी होली पर्वको वर्णन धेरै धार्मिक ग्रन्थहरुमा गरिएको पाइन्छ । विशेष गरी नारदपुराण र भविष्य पुराणमाहोलीको प्राचीनताबारे उल्लेख गरिएको छ । होलीको दिन युवायुवतीहरू गीत गाउँदै नाच्दै रङ्ग लगाइ दिएर होली खेल्छन् । यस पर्वमा पहाडदेखि तराई र गाउँदेखि शहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरू समेत हुल बाँधेर एक अर्कालाई रङ्ग लगाउँदै हिंड्ने गर्दछन् ।
भारतः होली वा फगुवालाई भारतका विभिन्न प्रान्तमा फागवह वा डोलजात्रा, डोलाजात्रा र वसन्तोत्सवका नामले पनि जानिन्छ । भगवान् कृष्णको ब्रजभूमि मथुरा, बृन्दावन, नन्दगाव र बर्सनाको होली हेर्न त पर्यटकको ओइरो नै लाग्छ ।
गुजरात, उत्तरप्रदेश, उत्तराखण्ड, बिहार, बंगाल, उडिसा, असम, गोवा, महाराष्ट्र, मणिपुर, केरला, कर्नाटका, तेलंगाना, आन्ध्रप्रदेश, जम्मु र कश्मिर, पञ्जाब, मध्यप्रदेश र तमिलनाडुको होलीमा स्थानीय लोक संस्कृतिको झलक पाइन्छ ।
त्यसमा पनि गुजरातको अहमदावादमा नौनीले भरिएको माटाको भाँडा फोर्ने प्रतियोगिता तथा उत्तरप्रदेशको ब्रजक्षेत्रको मथुरानजिकैको बर्सनामा महिलाले पुरुषलाई कुट्ने लठ मार होली (लौरोले प्रहार गर्ने होली) निकै लोकप्रिय छ । धार्मिक र सामाजिक रूपले महिलालाई जिस्काउने र दुव्र्यवहार गर्न नहुने सन्देश दिन यो परम्पराको उद्देश्य हो । किंवदन्ती अनुसार भगवान् कृष्ण यस दिन राधाको गाउँ पुगेर उनलाई र उनका सखीहरूलाई जिस्काएका थिए । प्रतिकारमा बर्सनाका महिलाहरूले उनलाई लखेटेका थिए । त्यति बेलादेखि नै यो परम्परा कायम छ । छिमेकी बिहारको भोजपुरी शैलीको होली पनि चित्ताकर्षक हुन्छ । त्यहाँको जोगिरा गायन अर्थात् ‘जोगिरा सरर…’ पूरा एशियामा लोकप्रिय छ ।
पाकिस्तानः पाकिस्तानमा पनि होली पर्व मनाउने चलन छ । भारतीय संस्कृतिको प्रभाव रहेको यो मुलुकमा हिन्दू धर्म मनाउनेहरूको पनि उपस्थिति छ । यहाँ घर–आँगन सफा गर्ने र विभिन्न खालका मिठाई बनाएर खाने तथा आफन्त एवम् इष्टमित्रहरूलाई ख्वाउने चलन छ । पाकिस्तानी होलीमा साथीहरूसँग सांगीतिक वातावरणमा रमाइलो गर्ने चलन पनि छ । प्रायः मन्दिरहरूमा भेला भै होली मनाइन्छ ।
बंगलादेशः बंगलादेशमा पनि होली पर्व मनाइन्छ । यो मुलुक बहुसांस्कृतिक मुलुक हो । यहाँ विशेषतः हिन्दू, बौद्ध एवम् मुस्लिम समुदायका मानिसहरू बसोबास गर्छन् । मुस्लिम समुदायको वर्चस्व रहे पनि हिन्दू धर्मावलम्बीहरूले यो पर्व मनाउँछन् । हिन्दू धर्मावलम्बीहरू मन्दिरमा जम्मा भएर रङका साथमा होली खेल्ने चलन छ । बंगलादेशका अधिकांश क्षेत्रमा भारतीय संस्कृतिको प्रभाव छ ।
गुयानाः दक्षिण अमेरिकाको दक्षिण क्षेत्र गुयानामा पनि होली मनाउने चलन छ । उक्त क्षेत्रमा होलीको विशेष महत्व छ । यहाँ पानी, रङ र गीत–संगीतका बीच होली मनाउने चलन छ । बालबालिकाहरू पनि पिचकारीले पानी छ्यापेर होली खेल्छन् । भगवान् शिवको नाममा यहाँ होली मनाउने चलन छ । त्यहाँका हिन्दूहरूलाई यो पर्वमा सार्वजनिक बिदासमेत दिइन्छ । पारिवारिक जमघट गरेर पनि रमाइलोका साथ होली पर्व मनाइन्छ ।
बेलायतः बेलायतमा बसोबास गरिरहेका अन्य मुलुकका नागरिकले आ–आफ्नै किसिमले होली मनाए पनि त्यहाँको आफ्नै परम्परा र संस्कृति छ । यहाँ विशेष गरी आफन्त र साथीहरूलाई निम्तो गरेर होली मनाउने चलन छ । कतिपय ठाउँमा टिकट बेचेर होली मनाउने चलन पनि छ । ठूलो मुलुक र थुप्रै समुदाय भएकाले होली विभिन्न समय र प्रकृति अनुसार मनाइन्छ । होलीमा सांगीतिक कार्यक्रमहरू पनि सम्पन्न गरिन्छन् । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेका क्षेत्रहरूमा धुमधामका साथ होली मनाउने चलन छ ।
मरिससः अफ्रिकी महादेशमा पर्ने यो मुलुकमा करिब ६३ प्रतिशत नागरिक भारतीय मूलका छन् । यहाँ होलीका दिन सार्वजनिक बिदा दिइन्छ । यहाँ पनि होलिका दहन गर्ने चलन छ । एकापसमा मिठाई बाँडेर तथा पानी र रङका साथ होली खेलिन्छ । साथीभाइसँग खानपिन गरेर रमाइलो गर्ने चलन छ ।
फिजीः फिजीमा सांगीतिक रमझमका साथ होली मनाइन्छ । राधा र कृष्णको प्रेमभावका गीतहरू गाएर होली मनाउने चलन छ । यहाँ पनि विभिन्न खालका रङ दलेर होली खेलिन्छ । फिजीमा होलीमा मात्र होइन, यो मौसमभरिनै होली गीतहरू गाइन्छ ।
दक्षिण अफ्रिकाः दक्षिण अफ्रिकामा गीतहरू गाउने, नाच्ने र साथीभाइहरू जमघट भई होली खेल्ने चलन छ । विशेषतः भारतीय नागरिकको वर्चस्व रहेको क्षेत्रमा होलीको वातावरण देखिन्छ । दिनभर होली खेलेर साँझपख मिठाई तथा चकलेटहरू बाँडेर होली मनाउने चलन छ ।
सुरिनामः सुरिनाममा ३५ देखि ४० प्रतिशत हिन्दू छन्, जो भारतको उत्तर प्रदेश तथा विहारबाट गएका हुन् । त्यहाँ पनि होलीका गीत गाउने र रङ खेलेर होली मनाउने चलन छ । यसका साथै विभिन्न प्रकारका मिठाई बनाएर बाँड्ने र खाने चलन छ । साथीभाइ एवम् परिवारसँग जमघट गरेर रमाइलो गर्ने चलन पनि छ ।
अमेरिकाः अमेरिकाका विभिन्न राज्यमा पनि होलीको रौनक देख्न पाइन्छ । विश्वभरका नागरिक बसोबास गर्ने यो मुलुकमा होली मनाउने आफ्नै परम्परा छ । यसका साथै अन्य नागरिकले पनि आफ्नो समुदाय र प्रचलन अनुसार होली मनाउने गरेका छन् । अमेरिकामा फेसन शो, म्युजिक कन्सर्ट तथा सांगीतिक कार्यक्रमहरू आयोजित गरेर होली मनाइन्छ । आफन्तहरूसँगको भेटघाट एवम् खानपिन पनि अमेरिकी होलीको महत्वपूर्ण पक्ष हो ।
समग्रमा सबैतिर उल्लासपूर्वक होली मनाइन्छ । होलीमा प्रयोग गरिने नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । त्यसैले नीलो वर्णका श्रीहरि बिष्णुले अधर्म नाश गर्न तथा धर्म रक्षाका लागि युगअनुसार अवतार लिँदै आउने धार्मिक विश्वास रहेको छ । पहेंलो रङ्ग श्रीकृष्णको प्रिय रङ्ग हो । मेलमिलाप, आपसी भाईचारा र सद्भाव कायम राख्न होली पर्वले शक्ति प्रदान गरोस्,यो अवसरमा शुभकामना छ ।
(शिवाकोटी झापा उद्योग वाणिज्य संघ बिर्तामोडका उपाध्यक्ष हुन्)