चार करोड सहयोगमा विद्याश्रम मावि बन्ने

0
534

 

इलाम, भदौ २१ । यहाँको बरबोटे–१ तोरीबारीस्थित सप्तमाई गुरुकुल विद्याश्रम माविको भवन निर्माणका लागि भारत सरकारले रु चार करोड आर्थिक सहयोग गर्ने भएको छ ।

भवन अभावमा टहरामा चलिरहेको उक्त विद्याश्रम निर्माणका लागि भारतीय दूतावासले आर्थिक सहयोग गर्ने विद्याश्रमका प्रधानाध्यापक भोगेन्द्र दाहालले जानकारी दिनुभयो । २४ कोठा रहने भवन निर्माणका लागि दूतावासले चार करोड रूपैया“ आर्थिक सहयोग गर्ने द्विपक्षीय सम्झौता भएको हो ।

विसं २०६५ सालमा स्थापित विद्याश्रममा बालकक्षासहित १ देखि १० कक्षासम्म पठनपाठन हुने गरेको छ । ११५ विद्यार्थीमध्ये आवासीय रूपमा अध्ययन गर्ने विद्यार्थी ७० छन् । नया“ बन्ने भवन आवासीय सुविधासहितको हुनेछ ।

व्यवस्थित भवन नहुँदा विद्यार्थी टहरामा अध्ययन गर्न बाध्य छन् । “ठूलो पानी पर्दा, चर्को घाम लाग्दा र हुरीबतास चल्दा पठनपाठन नै रोक्नुपर्ने अवस्था थियो”, प्रधानाध्यापक भोगेन्द्र दाहालले भन्नुभयो, “भवन बन्ने भएपछि चिन्ता हटेको छ ।” स्थापनाकालमा सदरमुकामस्थित माईस्थान मन्दिरमा सञ्चालन गरिएको कक्षा केही पछि बरबोटेमा सारिएको हो । स्थानीयस्तरका दाताबाट रकम सङ्कलन गरी विद्याश्रमले १७ रोपनी जग्गासमेत खरिद गरेको छ ।

संस्कृत वाङ्मय अध्ययनका लागि स्रोतकेन्द्रका रुपमा विकास गर्ने उद्देश्यका साथ सप्तमाई गुरुकुल संस्कृत वाङ्मय अध्ययन–अनुसन्धान केन्द्रले विद्यालय सञ्चालन गरेको हो ।

“जमिनको व्यवस्थापन गरेपनि भवनको अभावले समस्यामा थियौँ”, केन्द्रका अध्यक्ष अर्जुन थापाले भन्नुभयो, “दूतावासको सहयोगले थप हर्षित भएका छौँ ।” “असोजदेखि काम थाल्ने र १५ महिनामा सम्पन्न हुन्छ,” केन्द्रका अध्यक्ष थापाले भन्नुभयो । मुट्ठीदान, जजमान कोष र दाताको सहयोगबाट सञ्चालित विद्यालयमा जिल्ला शिक्षा कार्यालयले शिक्षक दरबन्दी पनि दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here