बिर्तामोड, कात्तिक २०। छोटी भन्सार कार्यालय भद्रपुरले पछिल्ला महिनामा राजश्व असुलीलाई बढावा दिएको छ ।
भदौ, असोज र कात्तिक महिनाको दोस्रो हप्ताभित्र विभिन्न चाड पर्व परे पनि त्यसले राजश्व संकलनमा कुनै प्रभाव नपारेको कार्यालयको तथ्यांकबाट देखिएको छ ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत भीमप्रसाद अधिकारीका अनुसार भदौ महिनामा सो कार्यालयले एक करोड ८० लाख रुपैयाँ राजश्व संकलन गरेको छ ।
त्यस्तै असोजमा एक करोड १० लाख र कात्तिकको १९ गते सम्ममा ८८ लाख रुपैयाँ राजश्व संकलन भएको प्रमुख भन्सार अधिकृत अधिकारीले बताए ।
चाडपर्वको समयमा समेत सेवाग्राहीलाई मध्यनजर गर्दै कार्यालयले निरन्तर सेवा दिइरहेको र विदाका दिन बाहेक अन्य समयमा छोटी भन्सार कार्यालयले उच्च प्राथमिकताका साथ काम गरिरहेको उनले बताए ।
यता मेची भन्सार कार्यालयले भन्सार सम्बन्धी गुनासो राख्न सकिने गरी सेवाग्राही कक्षको विकास गर्दै टोल फ्रि नं. को स्थापना गरेको छ ।
कार्यालयले १६६०२३५६००० टोल फ्रि नं. राखेको र कार्यालय समयावधिमा भन्सार सम्बन्धी गुनासा राख्न सकिने अधिकारीको भनाइ छ ।