पाँच महिनामा चौरासी फरार अभियुक्त पक्राउ ,जवरजस्ती करणी मुद्दाका धेरै

0
315

झापा,पुस १३ । जिल्ला अदालत झापाबाट कैद तथा जरिवाना तोकिएर फरार भएका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गर्ने क्रम तीब्र बनाएको छ ।
प्रहरीको एक टोलीले जिल्लाका विभिन्न स्थानमा लुकेर वसेका त्यस्ता फरार अभियुक्तलाई पक्राउ गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसाद शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार चालू आर्थिक बर्षमा जिल्लाका विभिन्न स्थानबाट ८४ जना त्यस्ता फरार अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत बुझाइएको छ ।
उनीहरुबाट ६८ लाख ४२ हजार ८ सय ६३ रुपैयाँ ५२ पैसा राजश्व संकलन भएको प्रहरीले जनाएको छ । पक्राउ परेका ८४ जनाको एक सय ५४ बर्ष तीन महिना १२ दिन कैद भुक्तान गर्न बाँकी रहेकाले उनीहरुलाई अदालत बुझाएको बताइएको हो ।
पक्राउ परेका अभियुक्तहरुमा सबैभन्दा बढी जवरजस्ती करणी मुद्दाका रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी समेत रहनुभएका शर्माका अनुसार १२ जना जवरजस्ती करणी मुद्दाका फरार अभियुक्त छन् ।
त्यस्तै अंशवण्डा मुद्दाका ८, डाकाका ६, जालसाजी र सवारी ज्यानका ५÷५ वटा, बहुविवाहका ४, चोरीका ६ , लुटपाटको एउटा, सवारी अंगभंग १, कीर्ते नागरिकता २, चन्दा २, कुटपिट १, कर्तव्यज्यानका ३ वटा, सार्वजनिक अपराधका १ र लागु औषध मुद्दाका तीन जना फरार अभियुक्तलाई पक्राउ गरी अदालत वुझाइएको उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here