नदीजन्य सामग्री उत्खनन्को समस्या दीगो समाधानका लागि पहल

0
418

बिर्तामोड, माघ २६ । झापाको शनिअर्जुन, खुदुनाबारी र बुधबारेको मध्य भाग भएर बग्ने विरीङ नदीबाट नदीजन्य सामग्री उत्खनन् तथा संकलन गर्ने सम्बन्धमा उत्पन्न समस्या दीगो रुपमा समाधान गर्न सरोकारवाला सबै तयार भएका छन् ।
झापाको बिर्तामोडमा संवाद समूहको समन्वयमा मंगलबार भएको छलफलमा झापाका मुख्य राजनीतिक दलसहित सरोकारवालाहरु लामो समयदेखिको उक्त समस्या समाधानमा गम्भीर बन्दै तयार भएका हुन् । छलफलमा समस्याको दीगो समाधान गर्न झापाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्लाका सबै राजनीतिक दल, जिविस, स्थानीय सरोकारवाला सबैको सहभागितामा संवाद गरी निष्कर्ष निकाल्ने निर्णय भएको छ ।
छलफलमा सहभागीले जिल्ला प्राविधिक समितिको प्रतिवेदन तथा अनुगमनका आधारमा जिल्ला अनुगमन तथा समन्वय समिति झापाको गत माघ १८ गतेको ११ बुँदे निर्णय कार्यान्वयनमा जोड दिए । त्यस्तै नदीका दुबैतर्फका सबै पैनीका मुहान संरक्षण गर्ने, मुहान बिग्रिएका पैनीको समस्या समाधान गर्ने साझा धारणा समेत तय भएको छ । त्यस्तै मापदण्ड विपरीत नदीजन्य सामग्री उत्खनन् गर्न नदिने यदि त्यसो पाइएमा दोषीलाई तत्काल कार्वाही गर्नुपर्ने, उत्खनन् कार्य बन्द हुने असार, साउन र भदौमा नदीबाट ढुंगा लगायत कुनै पनि सामग्री उठाउन नपाइने तर त्यस्तो भएको पाइएमा अनुगमन र कार्वाही गर्ने साझा धारणा समेत सहभागीले तय गरेका छन् । उनीहरुले विरीङ जलाधार संरक्षण समितिसँग जिविसले विगतमा गरेको सहमति कार्यान्वयन गर्ने, जलाधार संरक्षणका लागि प्रोत्साहन गर्न संरक्षण समितिलाई कार्यक्रमसहितका सहयोग प्रदान गर्दै १३ वटै ब्लकको साझेदारीमा कार्यक्रम सञ्चालन गर्ने, स्थानीयसँगको छलफल, अन्तरक्रियालाई नियमित रुपमा सञ्चालन गर्ने र त्यसका लागि राजनीतिक दल तथा जिविसले समन्वय गर्नुपर्नेमा समेत जोड दिए । नदीजन्य सामग्री उत्खनन्को समस्या समाधान भएपछि पनि कुनै असमझदारी वा समस्या उत्पन्न भए संवादकै माध्यमबाट समाधान खोज्ने प्रतिबद्धता समेत सरोकारवालाहरुले व्यक्त गरेका छन् ।
छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति उद्धव थापा, नेकपा एमालेका अध्यक्ष चिन्तन पाठक, नेकपा माओवादी केन्द्रका इञ्चार्ज झलकसिंह दर्लामी मगर सन्देश, मणिकुमार साम्पाङ विजय, स्थानीय शान्ति समिति संयोजक जयबहादुर श्रेष्ठ, सद्भावना पार्टी अध्यक्ष सूर्यनारायण गणेश, सहायक प्रमुख जिल्ला अधिकारी डम्बरुप्रसाद निरौला, स्थानीय विकास अधिकारी खेमराज ओझा, व्यवसायीका प्रतिनिधि प्रवीण पोखरेलले उक्त समस्यालाई गम्भीर रुपमा लिएको जनाउँदै सहज निकासका लागि आ–आफ्नो ठाउँबाट गम्भीर रुपमा पहल गर्ने प्रतिबद्धता जनाए ।
त्यस्तै, विरीङ जलाधार संरक्षण समितिका केन्द्रीय अध्यक्ष छविलाल शिवाकोटी, सूचना संयोजक दिपीन राई, विभिन्न ब्लक तथा पैनीका प्रतिनिधिहरु सेवन्त ढकाल, नेत्रप्रसाद गौतम, विष्णुप्रसाद रिजाल, पहलमान बराल, शम्भुप्रसाद ढुंगाना, ठाकुरप्रसाद खतिवडा लगायतले आफूहरु विकास विरोधी नरहेको बताउँदै स्थानीयबासीको भावना र उत्पन्न समस्यालाई सहज रुपमा समाधान गर्नुपर्नेमा जोड दिए । उनीहरुले संवादकै माध्यमबाट समस्या हल हुने विश्वास समेत व्यक्त गरे । छलफलको सहजीकरण संवाद समूह सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here