कमिशन खानेलाई ‘कार्वाही’

0
316

बिर्तामोड, जेठ १ । निजी विद्यालयको पाठ्यपुस्तकमा भइरहेको कमिशनको खेलले अभिभावक मारमा परेको गुनासो बढेसँगै जिल्ला शिक्षा कार्यालय झापाले कार्वाही थालेको छ ।
कमिशनको लागि विद्यालयहरुले हरेक वर्ष नर्सरीदेखि कक्षा १० सम्मका पाठ्यपुस्तक फेर्ने गरेकाले अभिभावक मारमा परेको गुनासोसँगै जिल्ला शिक्षा कार्यालयले अनुगमन गर्दै त्यस्ता विद्यालयलाई कारवाही गर्न शुरु गरेको जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालले बताए ।
विद्यालय र व्यवसायीहरुले पुस्तकमा उल्लेख गरिएको मूल्यको २५देखि ४० प्रतिशतसम्म कमिशन लिने गरेको श्रोतको दावी छ । विभिन्न विद्यालयले पुस्तकमा मात्र नभई स्टेशनरी सामग्रीमा पनि उत्तिनै कमिशन लिने गरेका छन्् ।
अधिकांश विद्यालयले आफैं विद्यार्थीलाई कपी, व्याग, टाई–बेल्ट, जुत्ता–मोजा र पोशाक समेत विक्री गर्ने गरेका छन् । विद्यालयकै नाम प्रिन्ट गरेर विद्यार्थीलाई कपी बेच्ने गरिएको छ ।


स्टेशनरी सामग्री विद्यालयले बेच्न नपाइने प्रावधान रहे पनि जिल्लामा सञ्चालित अधिकांश निजी विद्यालयले विद्यार्थीसँग चर्को शुल्क लिएर स्टेशनरी सामग्री विक्री गरिरहेका छन् । अभिभावकले यस विषयमा जिल्ला शिक्षा कार्यालय झापालाई उजुरी गरेसँगै जिल्ला शिक्षा कार्यालय झापाले लक्ष्मीपुरमा रहेको होलिबेजिल एजुकेशन फाउण्डेशनमा अनुगमन समेत गरेको छ ।
जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बरालसहितको टोलीले विद्यालयमा अनुगमन गर्दै आगामी दिनमा यस्तो नगर्न सुझाव दिएर फर्किएको छ । उजुरी परेका विद्यालयमा मात्र जिल्ला शिक्षा कार्यालय झापाले अनुगमन गर्ने गरेको बताइन्छ ।
अधिकांश विद्यालयले चर्को शुल्क लिएर विद्यालयभित्रै पाठ्यपुस्तक र स्टेशनरी सामग्री विक्री–वितरण गर्ने गरेका कारण आफूहरु मारमा परेको अभिभावकको गुनासो छ ।
झापाको दमक नगरपालिका–१ मा रहेको सिद्धार्थ बोर्डिङ स्कूलले स्टेशनरी सामग्री विद्यालयमै किन्न लगाउने गरेको एक अभिभावकले बताए । उनले भने– ‘मेरो नानी सिद्धार्थमा पढ्छ, कपी पठाएको थिएँ, तीन दिनसम्म होमवर्क नै दिएनन्, बुझ्दा विद्यालयको कपी नकिनेकाले होमवर्क नदिएको शिक्षकले बताए । उनले थपे– बाहिर किनेको कपी स्कूलमा प्रयोग गर्न नपाइने नियम बनाएको भन्दै प्रिन्सिपलले गैरजिम्मेवार पूर्ण जवाफ दिए ।
यस विषयमा विद्यालयका प्रिन्सिपल तेजकुमार श्रेष्ठसँग टेलिफोन सम्पर्क गर्दा सो विषयमा बताउन चाहेनन् ।
यता प्याब्सन झापाका अध्यक्ष कोषराज प्याकुरेलले एक रुपताका लागि निजी विद्यालयले यस्तो गरेता पनि अर्काे वर्षदेखि यस्तो कार्य नहुने बताएका छन् । उनले यो विषयमा प्याव्सनमा पनि छलफल भएको बताए ।
जिल्ला शिक्षा अधिकारी बरालले भने – सबै विद्यालयलाई स्टेशनरी सामग्री नबेच्न भनेका छौं, यदि त्यस्तो पाइए विद्यालयलाई तत्काल कारवाही गर्छाैं ।
सामुदायिक विद्यालयमा
पुस्तक नपाइने समस्या
शैक्षिक सत्र शुरु भएको एक महिना बितिसक्दा पनि झापाका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तक अभाव छ ।
जनक शिक्षा साम्रगी केन्द्र लिमिटेडले पाठ्य पुस्तक पर्याप्त उपलब्ध गराउन नसक्दा झापाका विद्यालयहरुमा पाठ्य पुस्तक अभाव भएको जिल्ला शिक्षा अधिकारी बरालले बताए । उनले भने–‘अहिले माध्यमिक तहको ऐच्छिक विषय अभाव छ, पटक–पटक यस विषयमा विभागलाई खवर गर्दा समेत अझै पुस्तक आइपुगेको छैन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here