मोटरसाइकल चोरी गर्ने गिरोह सक्रिय

0
503

भद्रपुर, पूर्व–पश्चिम राजमार्ग अन्तरगतका बजार क्षेत्रबाट मोटरसाइकल चोरी गर्दै आइरहेका गिरोहले केही दिन यता सीमा क्षेत्रका बजारलाई ‘टार्गेट’ गर्न थालेको छ ।
झापाका मुख्य बजार क्षेत्रमा प्रहरीको निगरानी बढेपछि मोटरसाइकल चोरीमा आवद्ध समूहले अहिले सीमा क्षेत्रका बजारबाट मोटरसाइकल चोरी गर्न थालेका हुन् । झापाको सदरमुकाम भद्रपुर क्षेत्रबाट १० दिनको अवधिमा तीनवटा मोटरसाइकल चोरी भएका छन् । त्यसमा एउटा मोटरसाइकल प्रहरीले बेवारिसे अवस्थामा फेला पारेपनि दुई वटा मोटरसाइकल अझै फेला परेको छैन । मोटरसाइकल चोरी बढ्न थालेपछि भद्रपुरका प्रहरीलाई थप चुनौति थपिएको छ ।
घटना विवरण अनुसार शनिवार दिउँसो भद्रपुर बजारबाटै एउटा मोटरसाइकल चोरी भएको छ । भद्रपुर–६स्थित हटिया (बजार) लाग्ने पार्किङ स्थलबाटै भद्रपुर–४ निवासी द्रिर्णे राजवंशीको मे २ प ८२२५ नम्बरको हिरोहोण्डा कम्पनीको कालो रंगको सुपर स्पेलण्डर मोटरसाइकल चोरी भएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक प्रकाश जगेवूले जानकारी दिए ।
पार्किङ स्थलमा मोटरसाइकल राख्दा सवारीधनी राजवंशीले चावी नै मोटरसाइकलमा छाडेर बजार गर्न गएका थिए । बजार गरेर फर्किएर आउँदा राजवंशीको मोटरसाइकल नभेटिएपछि बजारमा होहल्ला भएको थियो । बजारमा होहल्ला भएपछि प्रहरी घटनास्थल पुगेको प्रहरी निरीक्षक जगेवूले बताए ।
त्यसैगरी गतमाघ १२ गते भद्रपुर–८ स्थित हस्पिटल चोकमा रहेको नेपाल रेडक्रस सोसाइटी झापा शाखाको परिसरबाटै राति साढे २ बजे मे ७ प ४४४१ नम्बरको मोटरसाइकल चोरी भएको छ । बजाज कम्पनीको डिस्कभर मोटरसाइकल चोरी भएको हो । चोरी गर्न आएका दुई युवकलाई रेडक्रसको सीसी क्यामेराले कैद गरे पनि पहिचान हुन नसक्दा हालसम्म उनीहरु पक्राउ परेका छैनन् । सीसी क्यामेराले चोरको सम्पूर्ण गतिविधि कैद गरेको छ ।
त्यस्तै भद्रपुर–६ स्थित विकेन्द्र श्रेष्ठको घरबाट माघ ११ गते मे९प ७२२ नम्बरको होण्डा कम्पनीको कालो रंगलको हर्नेट मोटरसाइकल चोरी भएको थियो । घरधनी श्रेष्ठ काम विशेषले घर बाहिर गएको बेला उनको मोटरसाइकल घरको बरण्डाबाट चोरी भएको थियो । मोटरसाइकल चोरी भएको जानकारी पाउनासाथ वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उक्त मोटरसाइकल नेपाल–भारत सीमावर्ती नजिकैबाट सोही दिन बिहान वेबारिसे अवस्थामा फेला पारेको प्रहरी निरीक्षक जगेवूले जानकारी दिए ।
केही महिनादेखि झापामा मोटरसाइकल चोरी गर्ने समूहको बिग्बिगी भएपछि मोटरसाइकल धनीहरु त्रसित बनेका छन् । झापा प्रहरीले अहिलेसम्म मोटरसाइकल चोरी गर्ने १२ जनाभन्दा बढीलाई पक्राउ गरिसकेको छ । तरपनि, झापाका बजार क्षेत्रमा मोटरसाइकल चोरीका घटनामा कमी आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here