झापा गोल्डकपलाई शुभकामना

२० फाल्गुन २०७४, आईतवार मा प्रकाशित

झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा तेस्रो रमपम झापा गोल्डकप प्रतियोगिता शुरु भएको छ । राष्ट्रिय स्तरको खेलकुदको महाकुम्भको रुपमा हेरिएको प्रतियोगिता पछिल्लो तीन वर्षदेखि निरन्तर सञ्चालन हुनु पक्कै पनि सुखद् कुरा हो । दशकौंदेखि झापामा साना–ठूला प्रतियोगिता हुँदै आए पनि पछिल्लो समय खेलप्रेमीले निरन्तररुपमा प्रतियोगिता सञ्चालन गर्नु चुनौति भए पनि यसलाई निरन्तरता दिलाउँदै लैजानु आम झापाबासीको गरिमासँग जोडिन जान्छ । कछुवाको गतिमा रहेको खेलकुदले पछिल्लो समय बिस्तारै फड्को मार्दै गएको छ । यही क्रममा झापामा पनि राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन हुनु आफैमा सुखद् कुरा हो । यहाँका राष्ट्रियस्तरका खेलाडीले झापालाई जुन रुपमा चिनाएका थिए । त्यो भन्दा मोफसलबाट उदाएको झापा ११ ले राष्ट्रिय स्तरको खेलमा डेभ्यू गर्दै अघि बढेपछि झापा, झापा ११ र झापा ११ का खेलाडी साच्चिकै अहिले गर्व लायक क्षणमा छन् । त्यसो त झापा गोल्डकप प्रतियोगिताले खेलाडीलाई अनुबन्धन गर्दै लैजानु, पुराना खेलाडीको सम्मान गर्नु र नव खेलाडीलाई प्रोत्साहन गर्दै खेलप्रति रुची जगाउन गरेका रचनात्मक काम प्रशंसनीय छन् ।
यसपटक पनि पुराना खेलाडी रामदर्शन गुरुङ र सन्तबहादुर रायमाझीलाई सम्मान गरेर झापा गोल्डकप मूल आयोजक समितिले उदाहरणीय कार्य गरेको छ । ६७ वर्षीय गुरुङ नेपाली खेल जगतका उत्कृष्ट रक्षकको रुपमा चिनिन्छन् । उनी नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य पनि हुन् । विश्वकप खेल्न सक्ने क्षमता राख्ने गुरुङ प्यासनका लागि फुटबल खेल्थे, ब्रिटिश आर्मी भएकाले पनि उनले व्यवसायिक रुपमा फुटबल भने खेल्न सकेनन् । त्यस्तै ६० वर्षीय रायमाझी २०३२ सालदेखि व्यवसायिक रुपमा फुटबल खेलेका व्यक्ति हुन् । २०३५ सालमा १०० गुणा ४ मा नेपाल तेस्रो भएका थिए । स्थानीय अमरज्योति क्लवबाट शुरुवात गरेका उनले मुनाल क्लव चन्द्रगढीबाट धेरै खेल खेले । मेची अञ्चलबाट प्रतिनिधित्व गर्दै २०३७ सालमा राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाएका उनी कनकाई खेलकुद प्रतिष्ठानका संस्थापक फुटबल प्रशिक्षक पनि हुन् ।
कुनैबेला ठूलाबडाले केबल मनोरञ्जनका लागि खेल्ने गरेका खेलहरु सर्वसाधारणका लागि विलासिताको रुपमा लिइन्थ्यो । तर, समयको विकासक्रमसँगै खेलकुद क्षेत्रको विकासका अलावा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा व्यक्ति तथा राष्ट्रको प्रतिष्ठान राख्ने दोहोरो आधार अहिले बनिसकेको छ । राष्ट्रको गहनाका रुपमा रहेको खेलकुद क्षेत्रले बिस्तारै फड्को मार्दै गएको अहिलेको अवस्थामा फुटबलभन्दा पनि क्रिकेट अगाडि छ । क्रिकेटमा विश्वकपसम्मको यात्रा तय गरेको नेपालले खेलकुद क्षेत्रको बादशाह मानिने फुटबलको पनि सँगसँगै विकास गर्न सकिने हो भने विश्वसामू नेपालको बेग्दै पहिचान हुनेमा दुईमत छैन । अतः स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म खेलकुदको विकास अपरिहार्य र आजको तटकारो आवश्यकता पनि हो । – २०७४ फागुन २० गते आइतबार

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here