विद्यालय शिक्षा र नेपाल शिक्षक महासंघ

0
1407

शिक्षा राज्यको अभिन्न अंग हो । शिक्षाको मुख्य काम देशका नागरिकहरुलाई प्रशिक्षण गर्नु वा शिक्षित बनाउनु हो । अशिक्षित मानिसको जीवन अन्धकारमय हुने भएकोले मानवीय जीवनमा शिक्षाको अतुलनीय महत्व रहेको हुन्छ । शिक्षा बिनाको जीवन अपुरो, अधुरो, अप्ठ्यारो हुन्छ । औपचारिक रुपमा होस् अथवा अनौपचारिक रुपमा शिक्षा मानवीय जीवनमा अनिवार्य बनाएकोमा दुईमत छैन । विद्यमान शोषणप्रधान समाजमा भएको अन्याय, अत्याचार, कुरीति तथा कुसंस्कारका विरुद्धको संघर्षलाई सचेत ढंगले अगाडि बढाउन र शोषणलाई अन्त्य गर्न मानवीय जीवनमा शिक्षाको महत्व रहेको छ  । समाजलाई रुपान्तरण गर्न, सिंगो मानव जगतलाई मुक्तिका लागि समाज रुपान्तरणका वाहक शक्तिको रुपमा शिक्षा नै रहेको हुन्छ ।
वर्तमान शिक्षा सामन्ती संरचनामा अडिएको छ र केबल प्रमाणपत्र प्राप्त गर्ने कुरासँग जोडिएको छ । वैज्ञानिक र जनमुखी शिक्षा बिना मानवीय जीवन सरल, सुखी र उपयोगी हुन सक्दैन । शिक्षा जनतामुखी र उत्पादनमुखी भएमा मात्र समाज रुपान्तरणको ढोका खुल्ने हो । शिक्षक समुदाय आफू जलेर उज्यालो छर्ने मैनबत्ती वर्गको रुपमा आफूलाई परिभाषित गर्न रुचाउँछ, तर सम्पूर्ण सच्चाइ होइन । अब त शिक्षक समुदाय उज्यालो छर्ने र आफै पनि उज्यालिँदै आफ्नो जीवन सफल भएको मान्ने बन्नुपर्छ । वैराग्यभावभन्दा पनि त्यागसहित खुशी प्राप्तिको पेशा बनाउन सके शिक्षक पेशा मर्यादित हुन्छ, प्रतिष्ठित हुन्छ । शिक्षकले आफू स्वयम् जलेर सिद्धिने मात्र कुरा गर्ने होइन, आफ्नो जीवन पनि सार्थक भएको सम्झनु पर्छ । आफूले आफ्नो सम्मान गरेमा मात्र अरुले पनि गर्ने हुन् । अरुले नगरे पनि आफ्नो सम्मान आफै गर्नुपर्छ शिक्षकले ।
शिक्षा सबैको अधिकार हो भन्ने मूल्य र मान्यता स्थापित हुन सकेमा मात्र उज्यालो भविष्यको आंकलन गर्न सकिन्छ । आज शिक्षा क्षेत्रमा जुन प्रकारका समस्याहरु देखिएका छन् र ती समस्याहरुको समाधान समयमा नै गरिएन भने भावी पुस्ताको भविष्य पनि अन्धकारमा नै रुमल्लिने निश्चित छ । शिक्षा क्षेत्रको विकासद्वारा समाजको आर्थिक, सामाजिक र सांस्कृतिक स्तरोन्नति गर्ने अभियानमा शिक्षकको भूमिका अग्रणी मानिएको छ । नेपालमा शिक्षाको विकास र शिक्षकहरुको हक, हित र इज्जत प्राप्तिको महान अभियानमा शिक्षक समुदायले पु¥याएको योगदानले सर्वाधिक महत्व राख्दछ । आजसम्म शिक्षकले पाएका जति पनि हकअधिकार छन्, ती सबै शिक्षककै आन्दोलनका उपलब्धि हुन् । ती कसैको निगाहाबाट बक्स भएका होइनन् । शिक्षा क्षेत्रमा गरिएको लगानी र गुणस्तरमा सन्तुलनको अवस्था नभएको कुरा बारम्बार उठिरहेको छ । शिक्षाको गुणस्तर निकै कमजोर रहेको र शिक्षक यसका लागि जिम्मेवार रहेको कुरो पनि उत्तिकै उठिरहेको छ । शिक्षकलाई राज्यले तलब उपलब्ध गराइरहेको तर राज्यले शिक्षकलाई अपेक्षाकृत नतिजा दिलाउन बाध्य पार्न नसकिरहेको कुरा प्रमुख रूपमा आउने गरेको छ । शिक्षा गुणस्तरहीन भएको भनी यसको सम्पूर्ण दोषी शिक्षक नै हुन् आरोपित गरिएको छ । देशका ८० प्रतिशतभन्दा बढी बालबालिकाको पहँुच पुग्ने भनेका सामुदायिक विद्यालयहरु नै हुन् ।
यस्ता विद्यालयको गुणस्तरीयता कमजोर भएकोमा सर्बत्र आलोचना गरिन्छ । धेरथोर जे भए पनि सरकारी नीति, सामाजिक संरचना, अस्थिर राजनीतिक अवस्था शिक्षाको गुणस्तरीयता खस्कनुमा जिम्मेवार छन्, तर सबैभन्दा बढी उत्तरदायित्व शिक्षकको हुन्छ भन्ने सच्चाइलाई सबैले मान्नुपर्ने हुन्छ । शिक्षाको केन्द्रविन्दु शिक्षक हो र विद्यालय व्यवस्थापन समिति वा शिक्षक–अभिभावक संघले राजनीतिक तथा व्यक्तिगत अहम् र बडप्पनले यो सच्चाइलाई ग्रहण नगरे पनि यथार्थ यही हो । स्वयम् शिक्षक पनि विद्यालय शिक्षाको मेरुदण्ड शिक्षक नै भएको कुरालाई मान्न हिच्किचाउँछन् । शिक्षाको गुणस्तर बिग्रनुमा वा नसुध्रनुमा मुख्य दोषी शिक्षक हुन् भनेर पाँडेगाली गर्नु वा विद्यालय व्यवस्थापन समितिले हातमा डण्डा बोकेर प्रधानाध्यापकलाई निरीह बनाएर प्रशासन चलाउने तहसम्मका परिपाटी खेदजनक छन् । सबैले बुझ्नुपर्ने कुरा भनेको सुधारको मुख्य सम्बाहक पनि शिक्षक नै हुन् । तसर्थ, शिक्षकलाई अनावश्यक दवाव दिएर वा उनीहरुलाई हतोत्साहित गरेर शिक्षामा सुधार सम्भव छैन । संस्थागत विद्यालयको शुरुवात र विकासलाई सामुदायिक विद्यालयको उन्नतिको बाधक मान्नु ठीक होइन र आर्थिक तथा भौतिक सुखसुविधा शिक्षामा गुणस्तरीयता कायम गर्न सहायक मात्र हुन् भन्ने यथार्थलाई मान्न आवश्यक छ । शिक्षक समुदायले पनि आफ्नो हकअधिकारको कुरा गर्दा आफ्ना कर्तव्यहरुलाई पनि बिर्सन मिल्दैन ।
नेपालको ट्रेड युनियन, पेशागत आन्दोलनको विकास, लोकतन्त्र प्राप्ति र यसको विकासको लागि समेत नेपाली शिक्षक समुदायले गरेको बलिदानीपूर्ण संघर्ष अविस्मरणीय रहेको छ । तर, नेपाली शिक्षकहरुले आफ्नो पेशागत प्रतिष्ठा, प्रोत्साहन र संरक्षणको लागि वर्षौंदेखि सचेत र संगठित तवरले उठाएका मुद्दाहरु यथावत रहेका छन् । नेपालको शिक्षा र शिक्षा क्षेत्रमा कार्यरत् पेशाकर्मीहरुका समस्याहरुको समाधानार्थ विगतमा सरकारसँग नेपाल शिक्षक युनियन र नेपाल शिक्षक महासंघले विभिन्न समझदारीहरु गरे पनि ठीक समयमा ती समझदारी कार्यान्वयन भएनन् । राष्ट्रिय राजनीति अस्थिरताको एउटा मोडबाट पार गरेर स्थीरताको मार्गमा गुज्रिरहेको यो बेलामा शिक्षकहरुका पेशागत मामिला र समस्याहरुलाई जिम्मेवारीपूर्वक समाधान गर्नको लागि नेपाल शिक्षक महासंघ प्रयत्नशील रहने र आधुनिक शिक्षाको माध्यमबाट आधुनिक नेपालको जग खन्ने काम शिक्षक समुदायले नै गर्ने सच्चाइलाई पुनर्पुष्टी गर्ने समय आएको छ ।
समयानुकूल स्तरीय शिक्षाको प्रत्याभूतिका लागि शिक्षकको भूमिका महत्वपूर्ण हुन्छ भन्ने कुरालाई व्यवहारबाट पुष्टी गर्नुपर्ने र नेपालको संविधान २०७२ भाग–३ मौलिक हक र कर्तव्य अन्तर्गत धारा ३४ मा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हक हुनेछ, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानका आधारित सुरक्षाको हक हुनेछ र प्रत्येक श्रमिकलाई कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजी गर्न पाउने हक हुनेछ भनी उल्लेख गरिएको छ । संविधानको यो प्रावधानलाई नेपाली शिक्षकहरुको जीवनमा लागू गर्न नेपाल शिक्षक महासंघको सबैभन्दा ठूलो भूमिका रहन्छ ।
शारीरिक वा मानसिक श्रम गरी ज्याला आर्जन गर्ने मजदुर, कामदार, कर्मचारी र शिक्षकलाई मजदुरको परिभाषामा समेटी नेपालमा कार्यरत पेशाकर्मीहरुको राजनीतिक अधिकार सहितको ट्रेड युनियन अधिकारको सुनिश्चितता, रोजगारीको सुरक्षा, सामाजिक सुरक्षा लगायतका हकअधिकालाई संविधानमा समावेश गरिएको छ । नेपालको संविधानको प्रथम मस्यौदा जारी भएपछि, सार्वजनिक शिक्षालाई नागरिकहरुको मौलिक हकको रुपमा प्रदान गर्न स्थानीय सरकारको साटो संघीय र प्रादेशिक सरकारको साझा दायित्वमा पर्ने गरी शिक्षालाई राख्न नेपाल शिक्षक महासंघ क्रियाशील छ । शिक्षक महासंघ शिक्षक र विद्यालय कर्मचारीको साझा संस्था हुनुपर्छ र राजनीतिक दलको खेलमैदान बन्नुहुँदैन । कर्तव्य र अधिकारको सन्तुलनमा सहमति, सहकार्य र एकताको तागतमा शिक्षण पेशालाई अझ व्यवस्थित, प्रतिष्ठित, जनमुखी, खुशीयालीपूर्ण र मुलुकको विकासको मूल आधारका रुपमा समुन्नत बनाउन शिक्षक महासंघले काम गर्न जरूरी छ ।
तष्चतजबपजबचभद्दिण्द्दड२नmबष्।िअयm

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here