मानव स्वास्थ्यप्रति गम्भीर बन

२३ फाल्गुन २०७४, बुधबार मा प्रकाशित

झापाकै प्रदुषित तथा दुर्गन्धित शहरका रुपमा नयाँ परिचय बनाउँदै गरेको बिर्तामोड कैयन अव्यवस्थाहरुका माझ आकर्षणरहित बन्दैछ । बीस वर्षपछि जनप्रतिनिधि पाएका स्थानीय तहहरु मध्येको सुदूरपूर्वको यो शहर अव्यवस्थित बसोबासका कारण कुरुप त थियो नै बढ्दो जनघनत्वका कारण दुर्गन्धित समेत बन्दै जाँदा स्थानीय अगुवा, सचेत वर्ग मात्र होइन, निर्वाचित जनप्रतिनिधि नै बेखबर, उदासीन र निरपेक्ष रहँदा यहाँको जनजीवन नै दुसाध्य बनिँदैछ ।
स्थानीय तहले नेतृत्व ग्रहण गरेको पनि एक वर्ष हुन लाग्यो । निर्वाचनमा अनेक लोभ देखाएर, आश्वासन बाँडेर, प्रतिबद्धता प्रकट गरेर जनताको मत आफूतर्फ पारेका निर्वाचित जनप्रतिनिधिले विद्यमान अव्यवस्थालाई टुलुटुलु हेरेर बस्न पाउँदैनन् । आफूखुशी, अवैज्ञानिक र अव्यवहारिक कर उठाउँदै आएका स्थानीय सरकार भनिने नगरपालिका र गाउँपालिकाहरु जनताप्रति गैरजिम्मेवार देखिइरहेका बेला आर्थिक, सामाजिक, शैक्षिक तथा राजनीतिक दृष्टिले समेत केन्द्रमा रहेको बिर्तामोड नगरपालिकाले यतिका दिनसम्म अनुभूति हुनेखालको अग्रसरता देखाएको कतै सुन्न र देख्न पाइएको छैन ।
आवश्यक सेवा, सुविधा र आधुनिकतासँग पहुँच बढाउन र हिमाल, पहाडदेखि तराईका ग्रामीण बस्तीमा बसोबास गर्नेसम्मको रोजाइमा परेको बिर्तामोड त्यही कारण छोटै समयमा घनाबस्तीमा रुपान्तरित भयो । यही कारण यस क्षेत्रको जमिनको मूल्यको आकाश छोयो अनि पनि यसको आकर्षण घटेन । वैदेशिक रोजगार र व्यापार व्यवसायले उचालिएको आर्थिक जीवनका कारण बढेको जनघनत्व नै यहाँको प्रदुषणको कारण बन्न पुग्यो । सरकारको दीर्घकालीन योजना नभएको, दीगो विकासको अवधारणा पनि नभएका कारण अव्यवस्थाका बीच बनेको शहर अहिले प्राणी मात्रकै लागि अनुपयुक्त बन्दै जान थालेको छ ।
मानव सभ्यताको प्रारम्भ विन्दु नदी किनार रहेको इतिहास पढेकाहरुले अहिले पनि नदीलाई सभ्यताको आधार मान्दछन् । यहीँबाट जंगली युगको अन्त्य भई कृषि, औद्योगिक हुँदै कम्प्युटरको युगमा मानव सभ्यतालाई स्थापित गराएको छ । बिर्तामोड पनि अनन्त स्रोत भएको, प्रकृतिको उपहारका रुपमा प्राप्त अन्धुवाको पवित्र, स्वच्छ र निर्मल बहावबाट सिञ्चित र अभिषिक्त थलो थियो । तर, आज बढेको घनत्वले त्यसको स्वच्छता र पवित्रतालाई कलंकित बनाइदिएको छ । जन्मिएको थोरै समयमै बिर्तामोड मानवद्वारा नै अपवित्र, कुरुप र प्रदुषित बनाइएको छ ।
सबै अव्यवस्थालाई व्यवस्थाभित्र पारेर हुर्किएका विकृति र विसंगतिलाई निर्मुल गर्दै सभ्य मानवबस्तीको निर्माण गर्नु बिर्तामोडको पहिलो आवश्यकता हो । यसैका लागि निर्वाचित जनप्रतिनिधिहरुले तीन सय दिन भुक्तान गरिसकेका छन् । यो समय चुनौतिहरुको सामना गर्नेतर्फ केन्द्रीत भएको छैन । मानव उत्सर्जित फोहर व्यवस्थापन गर्ने ठाउँको अभावमा मानव बस्तीकै बीचमा रहेको पूर्व–पश्चिम राजमार्गको किनारमा थुपार्ने गरेका कारण समस्या झनै चुलिएको छ र दुर्गन्धित बन्दै गएको छ । यस्तोमा निर्वाचन वडा सदस्यदेखि प्रमुख र अध्यक्षसम्मले सबैभन्दा पहिले मानव स्वास्थ्यमा प्रतिकूलता ल्याउने विषयलाई सम्बोधन गर्नुपर्छ । नसड्ने फोहोरलाई जमिनमा गाड्नु भनेको प्राकृतिक अनुहारमा अप्राकृतिक रंग दल्नु जस्तै हो, जो पानी पर्दा वा पसिना आउँदा मात्रै पनि पखालिन्छ ।
प्रदुषणको स्रोत बनिँदै आएको मानव व्यवहार र बिर्तामोडको कृषि उपज बजारलाई प्रदुषण उत्सर्जनमा नियन्त्रण गरिनुपर्दछ । अन्धुवाको सौन्दर्यलाई पुनस्थापित गर्न यसका सहायक पैनीहरुलाई पुनजागृत गराउनु पर्दछ । अन्धुवालाई ढलमुक्त बनाउनु पर्दछ र यसविरुद्ध जानेहरुका लागि कानून निर्माण गरेर दण्डको दायरामा ल्याउनु पर्दछ । त्यसो भयो भने बिर्तामोड मात्र होइन मेचीनगर र यी जस्तै अन्य शहरी क्षेत्रलाई स्वस्थकर बनाउन सकिन्छ । यसतर्फ स्वयम्सेवी संस्थासँगै स्थानीय सरकारको गम्भीर अग्रसरता देखियोस्, यो नै अनिवार्य आवश्यकता हो बिर्तामोड नगर क्षेत्रको ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here