सदाचारी शिक्षाको खाँचो

२८ फाल्गुन २०७४, सोमबार मा प्रकाशित

जीवनका विभिन्न चरणहरु मध्येको अत्यन्त संवेदनशील उमेर समूह मानिन्छ– किशोरावस्थालाई । यही समय उचित मार्गदर्शन, संरक्षण तथा शिक्षा प्रदान गर्न नसकिए ईश्वर भनिने उमेरबाट विचलित र दिग्भ्रमित हुँदै कुमार्गमा हिँड्न पुग्छन् उनीहरु । यही बेला नैतिक शिक्षासहितको कर्तव्याकर्तव्यको बोध गराउँदै संस्कार, सभ्यता र मानवोचित चरित्र निर्माणको मार्गदर्शन आवश्यक हुन्छ । समृद्ध संस्कृतिका अनुचर हुँदाहुँदै पनि आधुनिक सेवा, सुविधा र सुख प्राप्तिको लालसाका कारण सबै नैतिक कर्तव्य र जिम्मेवारीबाट स्खलित हुँदै जाँदा हाम्रो भविष्य नै अन्यौलग्रस्त बन्दैछ ।
बालबालिकालाई जन्मदेखि रेखदेख, संरक्षण लालनपालनसँगै जीवनोपयोगी शिक्षा दिने आमालाई पहिलो गुरुआमा मानिन्छ । आमा प्रत्येककी पहिलो गुरुआमा हुन् जसले बोल्न, हिँड्न र सभ्य, सुसंस्कृत बन्न शिक्षा दिन्छिन् । अहिलै अनुकरण गर्ने मानसिकता र अन्धानुशरण गर्ने आयातित तथाकथित नुतन संस्कृतिले हाम्रो मौलिक संस्कृतिलाई विस्थापनको संघारमा पुर्याएको छ । यही बेला राष्ट्रियता संरक्षण युवामञ्च नेपालले झापाको अर्जुनधारा क्षेत्रमा पूर्वीय दर्शनमा आधारित मर्यादा कक्षा प्रारम्भ गरेको सुखद् खबर प्रकाशित भएको छ । यो खबरले थोरै मात्र पनि मौलिक संस्कृति, धर्म, दर्शन, मूल्य, मान्यता, राष्ट्र र राष्ट्रियताप्रति मोह हुनेलाई खुशी तुल्याएको हुनुपर्छ ।
भनिन्छ शिक्षा सम्पूर्ण विकासको आधार हो । त्यसमा पनि एउटा असल मान्छे बन्नका लागि नैतिक शिक्षाको आवश्यकता हुन्छ । हाम्रो औपचारिक शिक्षा प्रणालीमा मर्यादा, अनुशासन र नैतिकताको शिक्षा न व्यवहारमा दिइँदैछ न त पाठ्यपुस्तकका माध्यमबाटै । पूर्वीय दर्शन अनुसारको पारिवारिक ढाँचा पनि बदलिँदै एकल परिवारमा रुपान्तरित हुँदै जाँदा बालबालिकालाई सिकाउनुपर्ने आचरण, व्यवहार र अनुशासनको शिक्षा हराएका कारण अहिलेको युवापिढी विकृति र विसंगतितर्फ उन्मुख भएको छ । अझ भोगविलासको लालसाले ऐश्वर्य आर्जन गर्ने मोहले आफ्ना सन्तानलाई अलग राख्ने कु–संस्कृतिको विकास हुँदैछ । त्यसमाथि स–साना नानीलाई छाडेर विदेश जाने आमाहरुका कारण तिनले उचित शिक्षा–दिक्षा लालनपालन नपाएर एकाकी बन्दै जाँदैछन् ।
यही सत्यबाट उत्पन्न पीडालाई बोध गरेर शुरु गरेको सदाचार, मर्यादाको कक्षाले हाम्रा बालबालिकालाई दिशानिर्देश गर्न सक्यो भने कमजोर हुन थालेको सामाजिक सद्भाव पुनः स्थापित हुनेछ । हप्ताको एकदिन मात्रै पनि बालबालिकाले मर्यादा, सदाचार, सद्विचार, असल व्यवहारको शिक्षा ग्रहण गरे भने पारिवारिक, सामाजिक एकता र सद्भाव कामय गर्न, सहिष्णु, सहयोगी र उपकारी बन्न बल पुग्नेछ । यसले खण्डित र विचलन हुँदै गएको पूर्वीय दर्शन, धर्म र संस्कृतिको बन्धनलाई बलियो बनाउनेछ । यो डोरीले एकतायुक्त, संस्कारी, सदाचारी र व्यावहारिक बनाउँदै हाम्रो मौलिक पहिचानलाई पुनर्जीवित तुल्याउनेछ । यस्तो पवित्र अभियानमा क्रियाशील राष्ट्रियता संरक्षण युवामञ्च नेपालको शिक्षा बिस्तार गर्ने लक्ष्य सफल होस् । सबै नागरिकमा राष्ट्र, राष्ट्रियता, स्वाभिमान, जातीय गौरवको भावना जागृत हुन सकोस्, मुटुका हरेक धमनीमा यस्ता मौलिक विशिष्टताको सञ्चार होस् । अनि मात्र हाम्रा पूर्वजका योगदानलाई अक्षुण्ण राख्न र त्यसआधारमा जातिको जीवन्तता कायम राख्न सकिनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here