योजना तर्जुमा सम्बन्धी छलफल

१२ जेष्ठ २०७५, शनिबार मा प्रकाशित

भद्रपुर, जेठ १२। आगामी आर्थिक बर्ष ०७५।७६ को भद्रपुर नगरपालिकाको बार्षिक योजना तर्जुमा सम्बन्धी मार्गदर्शन बिषयक छलफल तथा अन्तरिक्रया कार्यक्रम शक्रुवार सम्पन्न भएको छ ।


झापाको सदरमुकाम भद्रपुर नगरको विकासलाई कस्तो दिशा दिने भन्ने उद्देश्यले नगरपालिकाले नगर क्षेत्रका सरोकारवाला पक्षसँग छलफल तथा अन्तरक्रिया गरेको हो । नगर कार्यपालिकाले तयार पारेको विभिन्न बिषयक उल्लेखित मार्गदर्शनको बुदाँमाथि व्यापक छलफल गरिएको थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुलसीबहादुर श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्दै निर्वाचित जनप्रतिनिधिहरुलाई वडाको योजना छनौटमा कस्तो उद्देश्यले जाने भन्ने अन्यौल हटाउनका लागि छलफलको आयोजना गरिएको बताए ।
पछिल्लो समय नगरबासीले रुचाएका योजना तथा कार्यक्रमहरुलाई उच्च प्राथमिकतामा राखेर वडामा प्रस्तुत हँुदा सहज हुने उनले बताए । नगरको क्षेत्रगत मार्गदर्शन अन्तर्गत भौतिक, सामाजिक, आर्थिक बिकास योजना, वातावरण व्यवस्थापन योजना, संस्थागत बिकास योजना, एकीकृत बजेट तथा कार्यक्रम तर्जुमा लगायतको मुख्य बिषयलाई लिएर कार्यपत्र प्रस्तुत गरिएको थियो ।
नगरलाई अन्तरदेशीय व्यापारिक नाकाको रुपमा बिकास गर्ने, तरकारी, खाद्य उत्पादन, मासु, दूधमा आत्मनिर्भर बनाउने, नदीको डुबान र कटानलाई व्यवस्थित गर्ने, जनउत्तरदायी स्थानीय सरकारको बिकास गर्ने लगायतको बिषय राखिएको थियो । नगरपालिकाले प्रस्तुत गरेको कार्यपत्रमाथि टिप्पणी गर्दै नेपाली कांग्रेसका ३ नम्बर क्षेत्रीय सभापति गणेश पोखरेलले अघि सारेका योजनाहरु कागजमा नभई व्यवहारमा उतार्न सुझाव दिएका थिए ।
विगतमा निर्णय गरेका योजनाहरु समावेश गरी प्राथमिकताका आधारमा लैजान उनले अनुरोध गरेका थिए । पत्रकार दीपक अधिकारीले सडक र पानीको बीचमा समन्वय नभएका कारण नगरवासीले दुःख पाएको जनाए । कागजमा नीतिका कुरा गर्ने तर काम नगर्ने भएकोले ध्यान दिन जरुरी रहेको सुझाव दिएका थिए ।
कार्यक्रममा चन्द्रगढी सामुदायिक वन समूहका सल्लाहकार विष्णुप्रसाद शिवाकोटी, चन्द्रगढी खानेपानी समितिका सचिव बावुराम कार्की, नेकपाका नरेश सञ्जेल, असारु राजवंशी, पूर्व मेयर पुष्पराज पोखरेल, जिससका उपप्रमुख मिना पराजुलीले सुझाव तथा जिज्ञासा राखेका थिए ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख चन्द्रमाया श्रेष्ठले स्वागत मन्तव्य राखेकी थिइन् । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी राजन न्यौपानेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here