बिर्तामोड, झापाको कनकाई नगरपालिका वडा नं.९ स्थित समावेशी तथा एकता बाल क्लबको आयोजना तथा आदर्श बालक्लबको सह आयोजनामा अन्तर माविस्तरीय लोक सांस्कृतिक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
आदर्श विद्या मन्दिर मावि घैलाडुब्बाको प्राङ्गणमा भएको उक्त प्रतियोगितामा भृकुटी मावि दुर्गापुरकी उर्मिला भण्डारी प्रथम भएकी छिन् भने बीर अमरसिंह मावि र चम्पापुर माविका क्रमशः दोस्रो र तेस्रो भएका थिए ।
त्यसैगरी आदर्श मावि घैलाडुब्बा र कनकाई मावि सुरुङ्गा सान्त्वना घोषित गरिएको अमृत योङहाङले जानकारी दिए । बालक्बकी अध्यक्ष सरीता भट्टराईको अध्यक्षता तथा कनकाई–९ का वडाध्यक्ष प्रेमप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको प्रतियोगिताको निर्णायकमा ध्रुव पाठक र अनिरुद्र ओली रहेका थिए ।
कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनलाल राजवंशीले बोलेका थिए ।
त्यस्तै विद्यालयको बार्षिक क्यालेण्डरको कार्यक्रम अनुरुप विद्यालय परिसरमा वृक्षरोपण गरिएको थियो । कार्यक्रममा ४० वटा अशोक जातका विरुवा रोपिएको बताइएको छ । कार्यक्रमको सञ्चालन बालक्लबका सचिव सुरेन्द्र थापाले गरेका थिए ।