जय भोलेको टिम भोलि राजगढमा

0
658

झापा,  । दर्शकको मन जित्न सफल चलचित्र जय भोलेको टिम अहिले देश दैडाहमा छ । फ्लिमको ब्यापार अझ बढाउन दर्शकमाझ उनीहरु नजिकिरहेका छन् । यस अघि छक्का पञ्जा –३ को टिमले झापामा दर्शकहरुसंग वसेर चलचित्र हेरिसहेका छन् ।
सोचे भन्दा राम्रो व्यापार गर्न सफल यी दुई चलचित्रले झापामा पनि राम्रै व्यापार गरेको सञ्चालकहरुको भनाई छ । राजगढमा विजया दशमीको अवसरमै सञ्चालनमा आएको एभरेष्ट डिजिटल सिनेमा हलका सञ्चालक चान्द महम्मद हुसेनका अनुसार यि दुई चलचित्रले तुलनात्मक रुपमा उस्तै उस्तै कमाई गरेका छन् ।

अझ जय भोले पूर्वमै छायङ्कन गरिएकाले यो फ्लिमले अझ राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ उनले भने । जय भोलेको टिम आज राजगढ पनि आउँछ । ग्रामीण वस्तीमा पहिलो पटक डिजिटल सिनेमा हल निर्माण गरिएकाले पनि यहाँको अवस्था र दर्शक माझ रहेर चलचित्र हेर्न जय भोलेको टिम राजगढ आउन लागेको उनले बताए । खगेन्द्र लामिछानेको लेखन रहेको चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वास्तिमा खड्का, बुद्धि तामाङ, सलोन बस्नेत, राजाराम पौडेल, लक्ष्मी गिरी आदिले अभिनय गरेका छन् ।

दशैमा दर्शकको मन जित्यो जय भोले र छक्का पञ्जाले

तछाड मछाड गर्दै विजया दशमीको अवसरमा रिलिज गरिएका छक्का पञ्जा – ३ र जय भोलेले दर्शकको मन जित्दै मनग्य ब्यापार गर्न सफल भए । दशैमा रिलिज गरिएका यी दुई चलचित्रले अझैंपनि दर्शकको मन लोभ्याईरहेका छन् । अझ भनै मल्टिस्टार फिल्म ‘छक्का पञ्जा–३’ का दर्शकलाई फर्काउने चुनौति दिँदै ‘जय भोले’सँग यथावत छ । करिब उस्तै किसिमको फिल्म, उस्तै समयमा एकसाथ प्रदर्शनमा आएकाले पनि दर्शक विभाजित हुने भय फिल्ममेकर्सलाई हुनसक्छ ‘जय भोले’ ।
अशोक शर्मा आफ्नो जमानाका चल्तापूर्जा निर्देशक हुन, जसले ‘ट्रक ड्राइभर’, ‘अल्लारे’ जस्ता सुपरहिट फिल्म बनाए । आज त्यही विशेषण नवीकरण गर्नका लागि उनी ‘जय भोले’ लिएर आएका छन् । तर, यतिबेला ‘ट्रक ड्राइभर’को ह्याङओभरले कुनै जादु देखाउनेवाला छैन । किनभने दर्शकको सिनेमा चेत फेरिइसकेको छ । त्यसो त अशोक शर्मा ‘जय भोले’का एक्लो कप्तान होइनन् । उनको ब्याकअपमा खगेन्द्र लामिछाने छन् । खगेन्द्रलाई सम्झने एकाध फिल्म छन्, पशुपतिप्रसाद जस्ता । खगेन्द्रको खासियत के भने, उनमा साहित्य चेत छ । अभिनयमा दख्खल छ । सिनेमाका अवयवलाई बुझेका छन् । आफुले अभिनय गर्ने फिल्ममा अक्सर उनी नै स्क्रिप्ट तयार गर्छन् । अतः खगेन्द्र लामिछाने र अशोक शर्मा गठबन्धनको उपज हो, जय भोले ।
एकातिर प्रेम र घृणाको लडाई, अर्काेतिर सत्रुता र सहकार्यको जोडघटाउ जय भोलेमा देख्न सकिन्छ ।
खगेन्द्र लामिछानेले भड्किलो वा चड्किलो होइन, सरल र सरस कथा रचेका छन् । घतलाग्दो त के भने, सरसर्ती हेर्दा फिल्म वैशालु नवजोडीको प्रेमकथा जस्तो लाग्छ । तर, यो कथा मित्रताको हो । सुदमा र कृष्णजीको जस्तो । नेपाली समाजले गुमाइसकेको ‘मीतेरी प्रथा’लाई यसले व्युँत्याइदिएको छ । वैदेशिक रोजगारीले राष्ट्रिय अर्थतन्त्रमा गतिलो योगदान दिइरहेको होला । तर, यसले कसरी हाम्रा संस्कृति र परम्परालाई मास्दै लगेको छ भन्ने सुक्ष्म तथ्यलाई पनि फिल्मले जोडेको छ । ‘लोकबाजा तालिम केन्द्र’ खोल्नुपर्ने वहस छेड्दै फिल्मले परोक्ष रुपमा अनेक स्वार्थले फाट्दै र फुट्दै गएका युवाहरु एकजुट हुनुपर्छ भन्ने सन्देश दिएको छ ।


प्रेमको मियोमा फिल्मले मित्रताको कथा भनेको छ, एकदम सरल ढंगले । मध्यन्तरअघि दर्शकले पर्दाबाट ध्यान हटाउन सक्दैन । कथानकभन्दा पनि हास्यरसयुक्त प्रसंगहरुले दर्शकलाई एकोहोरो बनाउँछ । कमेडी फिल्म भएको नाताले दर्शकमा हाँसो ल्याउने यत्न गरिएको छ, त्यो पनि स्वभाविक ढंगले । कुनैपनि पात्र मुख बङ्याएर वा द्विअर्थी डायलग बोलेर हसाउँने चेष्टा गदैनन् ।
पात्रहरु सरल छन् । पारिवारिक पृष्टभूमी अनुसार उनीहरुको प्रवृत्ति झल्कन्छ । गेटअप, हाउभाउ, बोलीचाली पात्रको प्रवृत्ति अनुरुप मिल्दो देखिन्छ । इलाम र झापाको मनोरम पृष्टभूमीमा खिचिएको फिल्मले स्थानियताको मिठास पनि दिलाउँछ । खासगरी खगेन्द्र लामिछाने अर्थात जयले लेग्रो तानेर बोल्ने लवज र ‘दाजु’ सम्बोधन सुरुचीपूर्ण लाग्छ ।
फिल्ममा तीन पुस्ते कलाकार छन्, राजाराम पौडेल देखि स्वास्तिमा खड्कासम्म । लक्ष्मी गिरीदेखि सलोन बस्नेतसम्म । रामचन्द्र अधिकारीदेखि खगेन्द्र लामिछानेसम्म । यी सबैलाई एउटै ठाउँमा उभ्याएर फिल्मको तौल बढाउने जुन प्रयास गरिएको छ, त्यसका निम्ति गरिएको कसरत अनुत्पादक छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here