दुई वर्षदेखि कमलका बाढीपीडित टहरामै

0
682

दमक, दुई वर्षअघि कमल खोलामा आएको बाढीले घरबारविहीन झापा, कमल गाउँपालिका–१ मिस्त्री बस्तीका बाढीपीडित अझै टहरामा बस्दै आएका छन् ।
त्यहाँका बाढीपीडित १० घरपरिवारलाई दाताले नमूना बस्ती बनाएर पुनःस्थापना गराउने भनी थालिएको निर्माण कार्य निर्धारित समयमा पूरा हुन नसक्दा उनीहरू टहरामा बस्न बाध्य भएका हुन् ।
विश्वका १८ मुलुकमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजद्वारा गएको असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ २०७५ फागुन ३० गते नमूना वस्तीको शिलान्यास गरिएको थियो । हालसम्म तीन वटा घर निर्माणाधीन अवस्थामा रहे पनि अन्य घर बनाउने छाँटकाँट देखिएको छैन ।
नमूना बस्तीको काम दुई वर्ष बित्न लाग्दा समेत पूर्ण नभएको दुखेसो बाढीपीडित स्थानीय सुनील मिस्त्रीको छ । उनी कष्टपूर्ण टहरा बसाइ छोटिएला भन्ने आशाले बसे पनि अहिलेसम्म निर्माण कार्यले पूर्णता नपाउँदा दैनिक समस्या भोग्नुपरेको बताउँछन् । उनले भने– जाडोयाम शुरु भयो, टहराको दैनिकीले समस्या निम्त्याउन थालेको छ । टहराको बसाइले बूढाबूढी, बालबच्चा बढी प्रभावित हुँदै आएका छन् ।
त्यहाँ १० घर बनाइदिन स्थानीयस्तरमा एक निर्माण उपभोक्ता समितिमार्फत् काम शुरु भएको थियो । समितिका संयोजक प्रकाश प्रसाईंले विदेशमा रहेको समाजले समयमा पैसा पठाइदिन नसक्दा काम समयमै पूरा गर्न नसकिएको बताए । उनले बाँकी रहेका अन्य सबै घर बनाउन समाजले पैसा पठाउने तय गरेको र छिट्टै घर निर्माण पूरा हुने बताए । विस्थापितलाई नमूना बस्तीमा बसाउन स्थानीय एक दाताले तीन कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here