विपन्न समुदायलाई सबैभन्दा बढी बजेट

0
897

दमक,स्थानीय पूर्वाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत प्रधानमन्त्री केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ मा बिपन्न समुदायलाई आवास कार्यक्रमलाई सबैभन्दा बढी बजेट विनियोजन गरेको पाइएको छ ।
यस निर्वाचन क्षेत्रका सांसद रहेका प्रधानमन्त्री ओलीले आठवटा योजनाहरुमा चार करोड रुपैयाँ छुट्याएका हुन् । ओलीका निजी सचिवालय सदस्य होमबहादुर थापाका अनुसार दमक नगरपालिका क्षेत्रभित्र बिपन्न आवास निर्माण कार्यक्रममा सबैभन्दा बढी बजेट विनियोजन भएको छ । यसका लागि एक करोड ४० लाख रुपैयाँ बजेट छुट्याइएको छ । यो यही आर्थिक बर्षभित्र काम सम्पन्न गरिसक्नु पर्ने ब्यवस्था रहेको छ ।
त्यसैगरी गौरीगञ्ज गाउँपालिका वडा नं. ५ चिल्लारामा रहेको मुसहर बस्तीमा घर निर्माणका लागि २५ लाख रुपैयाँ छुट्याइएको पाइएको छ । अति बिपन्न मुसहरहरुको घर निर्माणमा सहयोग पुर्याउने उद्देश्यले यो रकम छुट्याइएको थापाले बताए । ‘बिपन्नलाई आवासका लागि यो शुरुवाती कदम हो’ –थापाले भने ।
ओलीले पुल निर्माणमा समेत बिशेष चासो दिएको पाइएको छ । निर्वाचनको समयमा आफ्नो निर्वाचन क्षेत्रका खोलाहरुमा बाँसको पुल पुर्णरुपमा बिस्थापित गर्ने बताएका ओलीले यसमा ध्यान दिएको पाइएको हो । ‘अति आवश्यक ठाउँहरुमा पुलका योजनाहरुलाई समावेश गरिएको छ’ –थापाले जानकारी दिए ।
गौरादह बजारबाट स्कूलचौन जाने बाटोमा पर्ने गेउरीया पुल निर्माण, कमल गाउँपालिका ३ र ४ मा पर्ने केर्खा बजारबाट गोसखान हँुदै गौरादह जोड्ने बाटोको ढ्याङ्ग्री खोलामा पुल निर्माणमा ५० लाखको दरले एक करोड रकम छुट्याइएको छ । यसैगरी ग्वालडुब्बा बजारपूर्व बैगुन्धुरा, महाभारा जाने बाटोमा पर्ने सकुना होलीमा पुल निर्माणका लागि ५० लाख बजेट राखिएको थापाले बताए ।
साविक लखनपुर हाल कमल गाउँपालिका वडा नं. ७ रंगपुर बाह्घरे सडकखण्डको सरस्वती मावि पश्चिम चाँदु होलीमा कल्भर्ट निर्माणका लागि पनि ५० लाख छुट्याएको पाइएको छ । दुई बर्ष अघिदेखि यहाँ कल्भर्ट नहँुदा बर्षायाममा यहाँका बासिन्दा र बिद्यार्थीहरु तीन किलोमिटरभन्दा लामो दुरी घुमेर दैनिकी चलाउनुपर्ने अवस्था रहँदै आएको छ ।
ओलीले यस कार्यक्रम अन्तर्गत नै गौरीगञ्ज गाउँपालिका वडा नं. ३ क्याम्पस पूर्व दक्षिण लेहरा खोलामा पुल निर्माणका लागि २५ लाख र दमक– ८ स्थित ज्येष्ठ नागरिक भवन निर्माणमा १० लाख रुपैयाँ छुट्याएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका तथा गाउँपालिकाहरुमा योजनाहरु समेटिएको पाइएको हो ।
क्षेत्र नं. ५ अन्तर्गत दुई नगरपालिका र दुई गाँउपालिका रहेका छन् । दमक र गौरादह नगरपालिका छन् भने कमल र गौरीगञ्ज गाउँपालिका यस निर्वाचन क्षेत्रमा पर्दछ । क्षेत्र नं. ५ मा ठूला–साना गरेर डेढ दर्जनभन्दा बढी खोलाहरु रहेका छन् । स्थानीयहरुले पुल, कल्भर्ट निर्माणका लागि नै धेरै माग गरेकाले यसलाई पनि उच्च प्राथमिकतामा राखिएको बताइन्छ । यी सबै योजनाहरु स्थानीय सरकारबाट नै सम्झौता भएर कामअघि बढ्ने समेत थापाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here