पूर्णबहादुर कटुवाल
अधिकांश सामुदायिक विद्यालयहरुले प्रशंसनीय काम गरेर नमूना बनेका सुखद् समाचार आइरहेको बेला झापाको कनकाई नगरपालिका– ६ स्थित चम्पापुर माध्यमिक विद्यालयले व्यवस्थापकीय उल्झन खेपिरहेको खवर सञ्चारमाध्यममा आएको छ । हामीले बारम्बार सुन्दै, बोल्दै र लेख्दै आएका छौं कि विद्यालय केवल ज्ञान लिने र दिने पवित्र स्थल मात्र बनिनु र बनाइनुपर्छ । विद्यालयलाई न त कुनै दलको स्वार्थ पूर्ति गर्ने थलो बनाइनु हुन्छ, न त कुनै पद प्राप्त गर्ने प्रतिष्पर्धाको कोर्ट वा कसैको व्यक्तिगत अभिष्ट पूरा गर्ने क्रिडास्थल नै बनाइनुहुन्छ । विद्यालय केवल निस्वार्थ र पवित्र मन्दिरको रुपमा स्थापित हुनुपर्छ । विद्यालयलाई हेर्ने देष्टिकोण साझा र सकारात्मक भए मात्र यसको प्रतिफल स्वच्छ हुन्छ अनि सबैको मर्यादा र प्रतिष्ठा उच्च रहन्छ ।
यो विद्यालय स्थापनाकालमा तत्कालीन संस्थापक र त्यसका सरोकारवालाले जुन सपना देखेका थिए त्यसलाई आँच पुर्याउने काम हामी कोही कसैबाट भयो भने कलंकित इतिहासको साक्षी हामी आफै हुने छौं । इतिहासले हामीलाई नै धिक्कार्छ । वर्तमान युगका नालायक पात्रको कोटीमा हामी नै पर्छौं । त्यसैले विगतको हाम्रा पितापुर्खाले स्थापना गरेको धरोहर र शिक्षाको मन्दिरलाई अझ प्रतिष्ठित बनाउन हामीले जानेनौं वा बेवास्ता गर्यौं भने समयले हामीलाई पक्कै धिक्कार्छ । अनि हाम्रो मुख्र्याईलाई पछिल्लो पिंढी र समाजले कदापि स्वीकार्दैन ।
विवाद र आरोप–प्रत्यारोपको उत्कर्षमा विद्यालय
कुनै दिन राम्रो भनिएको यो विद्यालयभित्र प्रशासकीय र व्यवस्थापकीय सवालमा देखिएका देखाइएका केही विवादले यसको इतिहासलाई अवनतिको बाटोमा त लैजाँदैन भन्ने चिन्ता बढेको छ । आखिर हामीले सुझबुझ र विवेक नपुर्याई हतासमा गरिएका निर्णय भोलिका लागि घातक हुन सक्छन् । शिक्षाको धरोहर अग्रगमनको बाटोबाट पछाडि धकेलिन सक्छ । विद्यालय स्थानीयको साझा विरासत हो । स्थानीयको सम्पत्ति हो । प्रतिष्ठा र इज्जत र सामाजिक पहिचान हो । विद्यालय सञ्चालनमा रहेका हामी जति सरोकारवाला छौं, हामीले गरेका अदूरदर्शी निर्णयले नै संस्थालाई बर्वादीको दिशामा लैजान सक्छ । यसतर्फ सबैले समयमै सचेत भएमात्र हाम्रो बुद्धिमानीको सम्मान हुन सक्छ । संस्था बिग्रियो भत्कियो र तहस–नहस भयो भने यसको पीडा पराइले होइन हामीले नै भोग्न बाध्य हुनुपर्छ । वर्षेनि सयौं अवोध बालिकाले ज्ञान आर्जन गर्र्ने पवित्र मन्दिरलाई हाम्रो क्षणिक आवेश, संवेदनशीलताको कमी र निर्णय क्षमताको कमजोर प्रस्तुतिले ध्वस्त बनाउन सक्छ ।
संस्था सञ्चालन पारदर्शिता र आपसी समझदारी मुख्य कडी हो । यस अतिरिक्त प्रतिष्ठा र पदको लालची, पदीय प्रतिष्ठाको होडबाजी, व्यक्तिगत स्वार्थ पूर्ति गर्ने धृष्टता राखियो भने संस्थाको लागि घातक हुन सक्छ, अनि यो कसैको लागि पनि क्षम्य हुन सक्दैन । सयौं हजारौं बालबालिकाले ज्ञान आर्जन गर्ने पवित्र पीठमा हिलो छ्यापाछ्याप गर्ने काममा न त विद्यालय व्यवस्थापन समिति न त विद्यालय प्रशासन न त अभिभावक कसैलाई पनि छुट छैन । सामुदायिक स्वार्थका लागि पदलाई ठूलो सम्झने प्रवृत्ति हामीबीच हावी भएको छ । पदमा भए सबै गर्न सकिने नभए केही गर्न नसकिने र नहुने भन्ने संकीर्ण सोचाईको पराकाष्ठाले त यस विद्यालयलाई अहिलेको अवस्थामा पुर्याएको होइन ? यदि यस्तो कुचेष्टा कहीं कतैकाट राखियो भने घातक हुनसक्छ । टीमभित्र सानो कमजोरी भए सुधार्ने र सुध्रिने मौका होइन यसलाई नै व्यापक इस्यू बनाएर संस्था ध्वस्त पार्ने प्रवृत्ति हावी भएको छ भने यो पनि हाम्रा लागि नै हानिकारक हुन सक्छ । केवल यो अवस्थाको सिर्जना पदले र कुर्सीको नैतिकताले नगरेको हुनुपर्छ । मानवीय प्रवृत्तिले गरेको हुनसक्छ । व्यक्तिगत मनमुटाव, मपाइत्व र पदको होडबाजी र सुधारको पाटोभन्दा पनि कमजोरी देखाउने बानी परिसकेका हामीबीचबाटै त कुनै त्रुटी भएको होइन ? एकपटक गम्भीर भएर सोच्नुको विकल्प छैन ।
विद्यालय सञ्चालन गर्नु भनेको कुनै अकटिलो पहाडै फोर्नु होइन । तर, तिललाई पहाड देख्ने हाम्रो कुटील मानसिकता नै यसको उपज हो । व्यक्तिको व्यग्रता नकारात्मक दिशामा मोडियो भने संकटका पलहरु सिर्जना हुन थाल्छन् र छरपष्टिन्छन् । त्यसैले चम्पापुर माविले यी अपजसिला र पेचिला परिवेशहरुको सामना गर्नसिक्नु पर्छ, तिनलाई सकारात्मक विवेकले चिर्न सक्नुपर्छ । व्यवस्थापन समितिको अध्यक्ष वा प्रधानाध्यापक नै त्यो वस्तु होइन, त्यो वस्तु हो जो समस्याको जरो पत्ता लगाएर समाधान गर्न टेबल वरिपरि बस्छ र स्वच्छ हृदयले समाधानको बाटो पहिल्याउँछ । र संस्थालाई सकारात्मक दिशामा अघि बढाउँने प्रयत्न गर्छ ।
अहिले विद्यालयको सबै सरोकारवालाको व्यवहार र प्रवृत्ति पनि यति धेरै गहन र नकारात्मक मोडमा पुगेको देखिँदैन । भलै केहीमा व्यक्तिगत सोचका कारण उब्जेका साना–मसिना आधारहीन महत्वकांक्षा हुनसक्छन् र परिस्थितिलाई काबु बाहिर लैजान प्रोपोगाण्डा निस्कन सक्छन् । तर, तिनलाई चिर्न बौद्धिकता र नैतिकताको प्रदर्शन गरिनुपर्छ । विद्यालय एउटा व्यक्ति र एउटा कुर्सीको होइन, सबैको हो सबैले बुझ्नु पर्छ । यदाकदा सिर्जना गरिएका अफवाह कुनै समय घातक पनि हुन सक्छन्, यसतर्फ पनि समयमा नै सचेत हुनुपर्छ । किलकिलेमा आएर अवरुद्ध भएका कुण्ठालाई तेरीमेरी गर्नुको साटो शान्त र निस्वार्थ भएर टेबलबाट निचोडमा पुर्याउनुको बुद्धिमानी वाहेक अन्य कुनै अस्त्र छैन कि जादुको छडिले विद्यालय तुरन्तै फेरियोस् ।
अध्यक्षको राजीनामाको वैधता
अहिले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद नेपालले दिएको राजीनामा चर्चाको विषय बनेको छ । व्यक्तिले संस्थामा बसरे काम गर्नु र काम गर्न असहज परिस्थितिको सिर्जना भए विधिसम्मत राजीनामा गर्ने प्रचलन अनौठो होइन । तर, यो विषय यतिबेला नौलो हुन्छ जब परिस्थिति बसमा हुँदाहुँदै र समस्याको समाधानमा आफ्नो भूमिका बुद्धिमानी तरिकाले महत्वपूर्ण हँुदा वा राजीनामा दिने प्रक्रिया असहज भयो भने । पूर्व शिक्षक तथा प्रधानाध्यापक भएर ३० वर्षसम्म काम गरिसकेका सेवानिवृत्त आदरणीय गुरुका अघि यी चुनौति सामान्य हुनुपर्ने हो । हिजोसम्म संस्थाको प्रमुख भएर वर्षौंसम्म संस्था हाँकेका विद्धत व्यक्तित्वका लागि विद्यालयका सानातिना चुनौति सामना गर्ने सामथ्र्य किन पछि हट्यो भन्ने विषय पनि महत्वपूर्ण हो ।
विद्यालय व्यवस्थापन समिति जस्तो गरिमामय संस्था जसले संस्थाका दिशानिर्देशमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो हुन नसक्नु दुःखद् हो । हिजोसम्म सहकर्मी रहेका शिक्षक, प्रधानाध्यापक र आम अभिभावकलाई सही गोरेटोमा हिँडाउने क्षमता राख्ने व्यक्तित्वको राजीनामाको विषय चर्चित बनेको छ । विद्यालयको हिसावकिताब नमिलेकै कारण राजीनामा दिइएको हो भने यसको जिम्मा व्यवस्थापन समितिले किन लिन सकेन ? आर्थिक अनियमितता भएको हो भने पनि पदीय दायित्वभित्र रहेर सबुत प्रमाण संकलन गरी कमजोरी गर्नेलाई कानूनी दायरामा ल्याउनु पथ्र्यो । यता मौजुदा ऐन, नियममावलीको आधारमा राजीनामा नदिएको भन्दै सो राजीनामा स्वीकृत वा अस्वीकृत हुन सकेको छैन । यसले विद्यालयको आर्थिक, प्रशासनिक व्यवस्थापकीय काम कारवाही समेत गुमराहमा परेको छ । समस्या समाधानको निकास बन्धक बनाइएको यस्तो खबरले संस्थाका हित पक्कै गर्दैन । त्यसैले समस्याको समाधानबाट जिम्मेवार पक्षले पन्छिन कदापि मिल्दैन । पद भित्रैबाट के–कस्ता आर्थिक अपचलन र अपारदर्शिता भएका छन्, सबुत विवरणसहित व्यवस्थापन समिति र विद्यालय प्रशासन प्रतिबद्ध हुन जरुरी छ ।
प्रधानाध्यापक परिवर्तन समस्याको समाधान होइन
विद्यालय व्यवस्थापन समिति अध्यक्षको राजीनामा आर्थिक पक्षसँग जोडिएको छ । यही विषयलाई लिएर प्रधानाध्यापक डम्वरबहादुर राउतको राजीनामाको सवाल पनि जोडिएको विषयले प्रमुखता पाएको छ । पदीय राजीनामा समस्या समाधानको उपाय होइन । प्रधानाध्यापक बदल्ने सोचले विद्यालयको अवस्थालाई नजरअन्दाज गर्न सकिँदैन । संस्था प्रणालीका आधारमा चल्ने हुनाले आपसी बुझाबुझको कमी–कमजोरलाई नपन्छाई अघि बढ्न सके उत्तम विकल्प बन्न सक्छ । बदल्ने खेलमा लाग्ने हो भने बदल्दाबदल्दै सिंगो प्रणाली बदल्ने अफवाहले संस्थालाई नोक्सानी गर्न सक्छ । विषयको गाम्भीर्यता र यथार्थलाई मध्यनजर गरी अघि बढ्न यस्ता पक्ष पनि सान्दर्भिक हुँदैनन् ।
त्यसैबीच प्रधानाध्यापकबाट विद्यालयको सम्पत्ति र सबै हिसाबकिताब पारदर्शी र अनियमितता भएको प्रमाण भए ल्याउन र पुष्टि गर्न र त्यसको सामना गर्न आफू तयार रहेको अभिव्यक्ति आउनुले कमजोरी रहस्य वाह्य नै त छैनन् भन्ने कुरा बुझ्न समेत जरुरी छ । व्यवस्थापन समितिको निर्णय बमोजिम नै सबै भौतिक निर्माण र विद्यालयको खर्च हुँदै आएकोमा व्यवस्थापन समितिले लेखा समितिले हिसाबकिताब सार्वजनिक गर्नुअघि नै अध्यक्षको राजीनामा दिनु अनोठौ प्रसंग मान्न सकिन्छ । आफूबाट विद्यालयको हित विपरीत कुनै पनि काम भएको भएमा त्यसको बिगो भर्न र कारवाहीको भागी बन्न प्रधानाध्यापक पद त्याग्न तयार रहेको प्रतिबद्धता प्रधानाध्यापक राउतबाट आइरहनुले पनि विद्यालय गम्भीर समस्यामा नरहेको पुष्टि गर्दछ ।
शैक्षिक क्रियाकलाप सन्तोषजनक
ग्रामीण क्षेत्रको शान्त वातावरणमा सञ्चालित यो विद्यालयमा विगतदेखि नै शैक्षिक गतिविधिमा कुनै कमी देखिँदैन । शैक्षिक गुणस्तर कायम राख्नदेखि विद्यालयका हरेक क्रियाकलापमा विद्यालयको उत्कृष्टता सराहनीय छ । शिक्षकहरुको लगनशीलता र मेहनतका कारण समय, परिवेश र पाठ्यक्रम निर्देशित अपेक्षित शैक्षिक सूचांक र उपलब्धिमा विद्यालय सधैं अब्बल रहेको देखिन्छ । संस्थागत विद्यालयको बढोत्तरी र अभिभावकको निजीतिरको मोहका बाबजुद पनि कमजोर आर्थिक अवस्था भएका, आदिवासी जनजाति समुदायको बाहुल्यता रहेको यस विद्यालयको आम अभिभावक, दाता, अक्षयकोषदाता लगायतको उल्लेख्य चासो रहेको देखिन्छ । त्यसैले पनि विद्यालयको पछिल्लो समय चुलिएको व्यवस्थापकीय र प्रशासकीय विवादको चाँडै समाधानामा लाग्नु बुद्धिमानी हुनेछ ।
शिक्षा शाखाको भूमिका अपरिहार्य
चम्पापुर माध्यमिक विद्यालयको व्यवस्थापकीय किचलोलाई साम्य पार्दै शैक्षिक गतिविधिलाई चुस्त–दुरुस्त राख्न एकपटक स्थानीय शिक्षा शाखाको भूमिका समेत अपरिहार्य भएको छ । सामुदायिक विद्यालयमा अधिकांश गतिविधि स्थानीय सरोकारवालाको जिम्मा मा भए पनि ऐन, नियमावली पालना गराउन उसको भूमिका उपलब्धिमूलक हुनसक्छ । अध्यक्षको राजीनामा कहाँ र किन भन्ने विषय अन्यौल बनेको बेला उसले सहजकर्ताको भूमिका खेल्नु पर्छ । मुकदर्शक बन्न हुँदैन । सशजीकरणका माध्यमबाट उपयुक्त निकासमा शाखाले ढिलाई गर्नु हुँदैन । विद्यालयको शैक्षिक, प्रशासनिक र व्यवस्थापकीय अवस्थाबीचको विवादलाई लेखा समितिको प्रतिवेदनको आधारमा अप्ठ्याराहरुको निकास पहिल्याउँदै विद्यालयको समग्र वातावरणलाई चुस्तदुरुस्त राख्न, स्वच्छ शैक्षिक क्रियाकलापलाई अघि बढाएको हेर्ने आम अभिभावकको अभिलाषाले चाँडै पूर्णता पाउनु पर्छ, जरुरी छ ।