कत्रो आँट

३ माघ २०७५, बिहीबार मा प्रकाशित

[बिन्दु अधिकारी ढकाल]

झनै पो सडियो अनुहार, झलक्क हेर्दा मुहारको भाव क्रोध मात्र थियो । कुरो ठूलो नभए पनि समय परिस्थितिले नयाँ मोड लिएसँगै बिगौती रिसले चुर भएकी छे भनेर लेखिकालाई थाहा नभएको होइन । हुनत लेखिकाले गलत कुरा भनेकी पनि थिइन । तर स–सानोे कुरामा अर्घेलीझैँं बन्ने बिगौती हरदम अड्को थाप्थी । सामूहिक हितको काम, सक्छु र गर्छु भनेर बात बोलिसकेपछि आफैले बुझ्नुपर्ने ठाउँमा सतर्क गराउन खोज्दा आक्रोस सुहाउँथ्यो ? बूढापाकाले त्यसै भन्ने गरेका रहेनछन्, ‘घातकसँगको सँगत हित भन्दा बढी अहित’, ‘बुझ्नेलाई ‘श्रीखण्ड‘ नबुझ्नेलाई ‘खुर्पाको बीँड‘ भनेर उखानटुक्का त्यसै बनेको होइन रहेछन् ।

झट्ट हेर्दा आदिम पुर्खा (बाँदर) को मुहार जस्तो अनुहारमा भएभरको क्रीम–पाउडर (लिपपोत) थोपर्नु थोपरेर आँखामा गाँजल र ओठमा रातो लाली लाएपछि बेस्सरी हाँसी भनेचाहिँ बिगौती केही जस्ती देखिन्थी । नत्र भने बिगौतीभन्दा कुरूप महिला दुनियाँँमा सायदै होलान् । हुन त मानिसको बाहिरी सौन्दर्य जे जस्तो भए पनि दिल यदि सफा छ भने त्यो नै बहुआयामिक उज्यालो हो । तर चाहिने त्यही चीज छैन भने त्यो भन्दा काती र फोहोर कुनै होला÷मिल्ला ?

निकै छोटो कदकी बिगौती धेरै नै होची थिई । ऊसँग उठबस गर्नेहरू प्रायः सबै अग्ला÷सग्ला थिए । कच्याक्कुचुक् अनुहारकी बिगौती न रूप, न रङ्ग, जीउ न डाल पातला छिचरा परेका दाँत थिए । नयाँ उम्रेको केश पनि बूढो÷लट्टेझैँ देखिन्थ्यो । वास्तविक उमेरभन्दा पनि केही वर्ष छिप्पु परेकी ऊ बोल्थी कति भने, ट्वार्रट्वार्र भ्यागुता बरु अड्कलेरै कराउँछन्… ।

कसैलाई मन परोस् या नपरोस् घरी यता  फ¥याक्क  घरी  उता  फुरुक्क अधिकांशको चुलोचौका धाउँथी । चाप्लुसी गर्न यति माहिर थिई, मनपरेकासँग हजुर र ज्यूज्यू त कति लाउँथी कति । बिगौतीको उठबस जोसँग जति थियो जानेर हो वा नजानेर लेखिका भने कतिपनि नजिक थिइन । ‘साथीको ताँती नानाभाती’ भन्दा सक्षम व्यक्तित्वमा लेखिकाको चाह हुन्थ्यो । दैनिक फुल मेकअपमा आदत परेकी बिगौतीलाई हेर्दा लेखिकालाई कहिल्यै यो लालसा जागेन कि, ऊ पनि आफ्नी एक असल साथी बनोस् ।

हुन त एउटै कम्पनीमा काम गर्ने उनीहरू प्रायः भेटि नै रहन्थे । हाइ, हलो, दर्शन, नमस्ते बाहेक दुइटीबीच अरू नाता थिएन पनि । यद्यपि बिगौतीले लेखिकालाई भाउजू ! सम्बोधन गर्थी । त्यो किन रहेछ भने, लेखिकाको घर तर्फको गोत्र नै बिगौतीका माइती खलक (सगोत्री) पर्दा रहेछन् । त्यस कुराको हेक्का (सर्तकता) पनि बिगौतीले नै गराएकी थिई ।

बिगौती र लेखिका जुन कम्पनीमा काम गर्थे पैसाको हिसाबकिताब उनेरको घरको भरथेग त केही चल्दैनथ्यो । अफिसको आम्दानी नभर हैन तर काम नै त्यस्तै किसिमको थियो । दुइटी मात्र हैन धेरै थिए त्यहाँ । सबै जम्मा भएकाबेला राम्राराम्रा लुगा, राम्रा नयाँ जुत्ता, चप्पल, ब्याग, सरवालकुर्ता, गहना र साडी छाम्दै देखासेखी कुरा गर्थे । खानाका अनेक परिकार बारे छलफल चुल्याउँथे । दैनिक राम्री बन्नुपर्ने, फाउण्डेसन क्रिम यो राम्रो त्यो नराम्रो भनेर प्रचारप्रसार गर्ने चाहिँ बिगौती नै हुन्थी । उसले भनेको कुरो उछिन्न कसैले नसोचे हुन्थ्यो । लोग्नेचाहिँ कस्तो ? स्वास्नीलाई उपद्रो कति थुपारिदिन सक्या हो ? तरेली तरेली कपडा र तरेली तरेली विभिन्न सेट गहना…। तर कोही हात्ती चढ्यो भन्दैमा लेखिकालाई धुरी चढ्नु थिएन ।

एक दिनको कुरा हो, अफिसमा मिटिङ थियो । कर्मचारी जति सबै आ–आफ्नो सिटमा बसेका थिए । सबैका अघिल्तिर टेबुलमा एजेण्डा फायल थियो । कम्पनीले एक वर्ष भित्रमा गर्ने दुई–चारवटा काम जस्तो कि, असहाय बालबालिकालाई पढाइमा सहयोग, जेहेन्दार विद्यार्थीलाई पुरस्कार, बाढी पहिरो र आगजनीमा राहत वितरणदेखि अपाङ्ग तथा महिला दिवसको अवसर पारेर आयआर्जनसँग सम्बन्धित विभिन्न सीपमूलक तालिम पनि दिन्थ्यो । साथै कम्पनीले आफ्नो स्थापना दिवस मनाएकै दिनमा नेपाली महिलाहरूको महान् पर्व हरितालिका तिजको दर पनि खुवाउँथ्यो । अवधि–अवधि कहिले दुई वर्षमा त कहिले तीन वर्षमा नयाँ अध्यक्ष चयनसँगै कम्पनी सञ्चालनमा पनि नयाँ कार्यसमिति गठन हुन्थ्यो । नयाँ नियुक्ति पछि उहाँकै मुताविक संस्था हिँड्थ्यो । नयाँ वर्ष र पर्वहरूसँगै कम्पनी पनि एक कदम अघि बढ्थ्यो ।

प्रायः वर्षहरूमा पहिला साधारणसभा बैठक बस्थ्यो र त्यसपछि स्थापना दिवस मनाउने दिन तय गरिन्थ्यो । सोही परम्परा अनुसार त्यस वर्ष पनि स्थापना दिवस मनाउने दिन टुङ्गो भइसकेपछि कार्यक्रम उद्घोषकले माइकबाट भने, ‘यसपटक स्वागत गीत गाउन इच्छुकले आजै नाम टिपाउनु होला है । हुन त कम्पनीको नियम अनुसार, कार्य समितिमा जो छन् उनीहरूकै ढैढाँचा अनुसार कार्यक्रम तर्जुमा र प्रस्तुतीकरण गरिन्थ्यो । बिगौतीले आफ्नो नाम टिपाइछ । ऊ पछि लिस्टमा अरू पनि नाम थपिए…।

अघिल्लो–अघिल्लो साल गाउने र नयाँहरूलाई एकै माला मिलाएर लैजाने काम त्यति सजिलो थिएन । सङ्ख्याको हिसाब एघार जना भए पनि कोही धेरै जान्ने थिए भने कोही नजान्ने थिए । मेहनेत गरेर सिक्यो भन्ने सकिएला नि भन्ने खालेचाहिँ थोरै थिए । एउटी त ढोकाबाट भित्र पस्न पा‘छैन, ठूलोठूलो आवाजले धम्क्याउँदै अर्कीलाई भनी, ‘गत साल तिमेरले गाएको स्वागत गीत सबै बिग्रेको थियो । यति नमीठो आवाज सुनिएको थियो कि, कतिले त कविता पाठ गरेजस्तो भने बुझ्यौ । सुर, ताल र लय क्यो हो त्यस्तो…? यसपालि त लय फेरेर गाउने हो भने म पनि बसिदिउँला नत्र भने त…।‘ उसले पालो सकेकै थिइन, बीचैमा फेरि अर्कीले भाषण ठोकी, ‘गीत गाउन भनेर आइया छ, गाउने नै हो तर सङ्गीत टिचरभन्दा अर्को जान्ने भा’ देखेर त हानिहालौँ जस्तो…। हामीलाई पनि थाहा छ । हाम्रो पनि कार्यक्रम हो, सिकाउँछौ ? प्रोफेसनल गायक नै हौ भने ठीक छ नत्र…।‘ एकआपसमा हानथाप देखेर लेखिका गहिरो सोचाइमा परी, ‘तै रानी मै रानी… । यस्तो भयो भने त कसले भर्ला कुवाको पानी ?’

लेखिका प्रायः समयमा अफिस पुग्थी । बिगौती समेत अरू चार÷पाँच जना पनि पुग्थे । सबैसँगै भेला भएर अभ्यास गर्दा त धेरै दिन लाग्ने थिएन । कहिले को नआउने, कहिले को नभ्याउने, भ्याएकाहरू पनि ठीक समयमा जम्मा नहुने समस्याले असहज भइरहेको बेला बिगौती यसरी करकर गर्थी, ‘लेखिका म्याडम (भाउजू) ! म त सधै समयमा आउँछु है । काम जिम्मा लिएपछि म त अरूजस्तो हैन है । बित्न त मेरो पनि घरमा के के बितेकोछ… खै त अरूहरू यसरी तातेका ? समय मिलाउन नसक्नेले किन नाउँ टिपाउनु ? कि तपाईंले नै ड्याङ भनिदिनु, नामले ठाउँ ओगटेर मात्र हुँदैन त हो । भोलिदेखि कि म नआऊँ ?” एकैदिन एकपटक होइन दुई पटक हैन, सयाँै÷हजारौँ पटक बिगौती बोल्थी । एउटै कुरा दोहो¥याइरहन्थी । भनौँँ के ? नभनौँ के ? बोलेर अक्सर कसैलाई नबिझाउने लेखिका सधैँ आपतमा पर्थी ।

‘लागूऔषध प्रयोग गर्नु मात्र कुलत हैन, यदि कोही मान्छे हदसेहद बोल्छ भने, चौबीस घण्टा दिनमा पूरै समय इन्टरनेटमा झुम्छ भने अथवा एउटै किसिमको काम बारम्बार दोहो¥याइरहन चाहन्छ भने त्यहाँ पनि एकखाले नशा जुर्मुराएको हुन्छ । त्यो पनि कुलत नै हो, भन्छन् काउन्सिलरहरूले । जोरीपारी देखासेखी गर्न लोभीपापी मन कि जबर्जस्ती ठाउँ नओगट्नु । कि त गर्छु भनेर आँटिसकेपछि अमर्यादित पनि नबन्नु । लेखिकालाई यस्तो लाग्दैन थियो कि, अन्तरआत्मादेखि भावना समर्पण नगर्ने कोही भेटिएलान् सायद तर हुँदारहेछन् त्यस्ता धेरै…। कोही भन्थे घर घरको, कोही भन्थे बच्चा बच्चा त कोहीकोहीको जालझेल नसक्नुको… । अनि त्यही समूहकी बिगौती– चाहिँ फोटो मास्टर । जति क्लिकले पनि नपुग्ने । कुन खाले नशा रहेछ ? कि फोटोफोबिया ? हैट उसको त्यो नशा त झनै अप्ठ्यारो ।

गीत भनेको बीट ! गाउँछु मात्र भनेर हुँदैन । सुर, ताल र लय मिल्नुपर्छ । सङ्गीतको बीट बराबर शब्द उठायो भने र लयले परसम्म पुर्यायो भने तब बन्छ गीत ! न स्वर, न ताल, मनलागि आवाज कुदायो भने जति नाका (नाक) पोरा फुलाए पनि सिवाय फजुल हुन सक्छ । गीत गाउने भन्याछ भएभरको धुन फोटोमा खन्या छ ! अफिस आएर दर्शन÷नमस्कार भनेर÷गर्दा फोटो, भ¥याङ चढ्दा फोटो, चिया पिउँदा फोटो, पानी पिउँदा फोटो, अघिमात्र हिँड्ने बेला घसेको क्रिम कति गयो कति छ ? भनेर हेर्न पनि फोटो, रातो लाली थप्ने बेला र थपिसकेपछि पनि फोटो । हुँदाहुँदा त ट्वाइलेट छिर्दा पनि फोटो…। अब त पुग्यो होला लाग्या’थ्यो बल्ल त सबै भेला भएर गीत अभ्यास गर्ने पालोमा फेरि पनि फो…ओ…टो… कै पालो ! भएभरको समय फोटोले तानेपछि ? गीतको सुर, ताल र लय ? त्यो पनि फोटोले नै स्वाहा बनाएपछि, लेखिका बोली, ‘बिगौती म्याडम ! हाम्रो ध्यान अनेत्र भागो । यतिका दिन ओहोरदोहोर तर आज भने एघार जना नै छौँँ । हामीलाई सामूहिक अभ्यास पुगेकै छैन । त्यसैले फोटो कर्मलाई एकछिन् बन्द गरौँ न…।”

‘कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ कि बिगौतीलाई दनक त बिल्कुलै ठीक थियो । लेखिकालाई साथ दिएर हाक्काहाक्की बोल्ने तर त्यहाँ अरू कोही थिएनन् । कसैले केही नथपेपछि ऊ त लेखिका प्रति आक्रोसित भई । छिन्कोछिनै फुलेर डम्मडम्ती गर्दन्…। लेखिकाले सोची, ‘फल फलेको वृक्ष पो निरन्तर निहुरिन्छ त । त्यो ‘थाक्रो’ क्रोधलाई के थाहा फल कति हितकारी हुन्छ भनेर…?’ लोभीपापी देखासेखीमा लिप्त मान्छे यस्तै हो ।

फुर्रफुरी बिगौतीलाई कुनै दिन आफ्नो जिम्मेवारी महसुस नै भएन । न त ऊ लेखिकाप्रति रुष्ट हुन नै छाडी । बिनाकारण गर्धन फुलाउनेको ‘हिसाब न किताब’ के गर्नु बयान ? हदभन्दा बाहिर गयौ भनेर बिगौतीलाई न कसैले सम्झाए । न्यायीक धन्यवाद न लेखिकालाई कसैले प्रोत्साहन गरे ।

उहिल्यै छिमेकीको घरबाट बिगौती पोको पारेर कुडेनै सहित (चोरेर) भाग्दाभाग्दै, त्यही बेलादेखि ‘बालिका‘ नाम परिवर्तन भएर बिगौती बनेकी भनेर त लेखिकालाई पहिल्यै थाहा थियो । उसका मावली एक जनाले भनेका थिए । त्यति मात्र कहाँ नि, ऊ जन्मेको माटोदेखि ऊ हिँडेको बाटो, बाउबाजे सम्मको सबै इतिहास लेखिकालाई जम्मै थाहा थियो । छलफल नै गर्नुपरेको भए कहन पनि सक्थी । तर नकारात्मक किसिमको हरगत गर्न लेखिका कति पनि अग्रसर थिइन । नालायक कोही मानिससँग लड्नु÷भिड्नु भनेको आकासलाई थुक्नु सरह ऊ ठान्दथी ।

सामूहिक गीत अभ्यासकै सिलसिला थियो लेखिकाले बिगौतीलाई छोटो बोलेर जायज कुरा प्रस्ट्याएकी । तर त्यही बेलादेखि बिगौती लेखिकाप्रति आवेग भई । ‘नबिराउनु नडराउनु’ आखिर गर्छेस् के ? लेखिकाको मन स्वयं लेखिकासँग बोल्थ्यो । मुखले सिधा केही नभने पनि बाङ्गोटिङ्गो प्रहार त बिगौतीले थालिनै सकेकी थिई । सँगै बस्ने हैन उठबस पनि थिएन र पनि मुखले बाहिर ज्यूज्यु गर्दागर्दै भित्र त डुहुरे चाल छिनाल्न भ्याइसकेकी रहिछे । एकदिन मुहार पुस्तिका हेर्दै जाँदा लेखिकाले पत्ता लगाएकी थिई । ‘मित्रता गर्न लायक नभएपछि कुचाले बडार्नुपर्ने कसिङ्गर हावाले उडायो त बेसै भयो ।’ लेखिकाको साथी दीनानाथले त्यसो भनिरहँदा, ‘हुन त हो, त्यो जे भएको थियो सकियो पनि, तर उसको रिसको आवेग हेर्दा त आँट कत्रो… ? ‘बसेकै ठाउँबाट कुरा सोच्दासोच्दै आफ्नो अभिन्न मित्र दीनानाथको काखमा मुन्टो अड्याउँदै पहिला सहर, सहरबाट गाउँ र त्यहाँबाट टाढा निकै परसम्म पुग्दै लेखिका पुनः फर्की । ‘अरू त अरू समूहबाटै अलग्याउने बिचार कतिसम्मको नीच व्यवहार हो ? नखरमाउली झुत्रीको कत्रो आँट ? यसलाई  फोटोफोबिया हटाउन त काउन्सिलर व्यवस्था नगरी भएन भन्दै लेखिका आफ्नै तानामाना तर्फ मग्न भई । कोटेश्वर, काठमाडौँ

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here