बलभद्र माविमा महापुराण

0
1197

विर्तामोड ,विद्यार्थीहरुको सुविधालाई ध्यानमा राखेर स्कूल बस खरिद, अधुरो विद्यालय भवन पूर्णता तथा विद्यालयमा आवद्ध पितृहरुको आत्मशान्तिको कामना गर्दै मेचीनगर–११ स्थित बलभद्र माविमा सप्ताहव्यापी श्रीमद्भागवत महापुराणको आयोजना गरिने भएको छ ।
चैत २१ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने पुराणको तयारी पूरा भएको विद्यालय परिषरमा मंगलबार आयोजित पत्रकार भेटघाटमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रघुनाथ पाठकले जानकारी दिनुभयो ।
कक्षा–४ सम्म अंग्रेजी मिडियममा अध्यापन हुन थालेपनि विद्यालयको आफ्नो बस नहुँदा विद्यार्थी ल्याउन र पुर्याउन समस्या भएपछि बस किन्नका लागि पुराणको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पाठकले बताउनु भयो ।
विद्यालयमा अंग्रेजी माध्यमबाट पठन पाठन हुन थालेपछि विद्यार्थीको आकर्षण बढ्यो अध्यक्ष पाठकले भन्नुभयो– तर स–साना बालबालिका ल्याउन विद्यालयकै यातायातको साधन नहुँदा बर्षेनी विद्यालयले समस्या खेप्नु परेको छ ।’ हाल भाडामा लिएर विद्यालयले विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराउँदै आएको छ । भाडामा बस सञ्चालन गर्दा विद्यालयले यातायातमा ठूलो व्ययभार व्यहोर्नु परेको विद्यालय व्यवस्थापन समितिका शिक्षक प्रतिनिधि होमराज ढकालले बताउनु भयो ।
त्यस्तै १६ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता सहित भारतीय राजदुतावासको सहयोगमा विद्यालय निर्माण प्रारम्भ भएको सात वर्षसम्म पनि निर्माण सम्पन्न हुन नसकेपछि उक्त भवन निर्माण सम्पन्नको कामना पनि पुराणमार्फत गरिएको बताइएको छ ।
१६ महिनामा निर्माण सम्पन्न गर्ने सम्झौता सहित काठमाडौंको तुलसीभक्त कन्स्ट्रक्सनले निर्माण प्रारम्भ गरेको सात वर्षसम्म पनि भवन निर्माण नहुँदा वर्षातमा कक्षाकोठा भित्रै पानी जम्ने गरेको र आफूहरुले त्यस्तैमा बसेर पढ्नु परेको विद्यार्थीहरुले बताएका छन । २०१७ सालमा निर्माण भएका विद्यालय भवन २०७२ सालमा गएको भूकम्पले क्षति पुर्याउँदा जिर्ण अवस्थामा छन् ।
त्यसो त बलभद्र माविमा अध्यापन गरिरहेकै अवस्थामा अल्पायुमै ज्यान गुमाउन पुगेका तीनजना शिक्षकसहित दिवंगत विद्यालय अभिभावक तथा पूर्व शिक्षक, विद्यार्थी, सल्लाहकारहरुको आत्माको चिरशान्तिको कामना पुराणको आयोजना गरिएको विद्यालयका सहप्राध्यापक देवीप्रसाद खतिवडाले बताउनु भयो ।
विद्यालयका पूर्व प्रधानअध्यापक बसन्तकुमार दाहाल, शिक्षक उद्धवप्रसाद शिवाकोटी र शिक्षिका सन्ध्या प्रधानको विद्यालयमा बहाल अवस्थामै विभिन्न कारणले मृत्यु भएको थियो ।
चैत २१ गतेसम्म सञ्चालन हुने पुराणको व्यवस्थापकीय जिम्मेवारी पूर्वाञ्चल पर्यटन विकास संस्था तथा वैदिश सनातन बहुउद्देश्यीय धर्म रक्षा सेवा समितिले लिएको पुराण व्यासाचार्य पण्डित ताराप्रसाद कुईँकेल रहनु भएको विद्यालयका सहप्राध्यापक दिपेन्द्र बानियाँले जानकारी दिनुभयो ।
लोपोन्मुख मेचे जातिको बसोबास रहेको उक्त क्षेत्रमा विद्यालयका अभिभावकले विद्यालयलाई सहयोग गर्ने अवस्था नरहेको तथा सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क उठाउनु नियम विपरित हुने भएपछि यातायातको व्यवस्थाका लागि स्रोत जुटाउन पुराणको आयोजना गरिएको शिक्षक ढकालले बताउनु भयो ।
वि.सं.२०१७ सालमा स्थापना भएको यस विद्यालयमा हाल कक्षा १२ सम्म सञ्चालनमा रहेको छ । केही बर्ष अघि बाट शिक्षालाई अझ गुणस्तरिय बनाउने योजनाका साथ नर्सरी देखी कक्षा ४ सम्म अंग्रेजी माध्यका कक्षाहरु पनि विद्यालयले सञ्चालन गरिरहेको विद्यालय व्यवस्थापन समिती पाठकले जानकारी दिनुभयो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here