बिर्तामोड।
नयाँ शैक्षिक सत्र शुरु भएसँगै बर्षेनि अभिभावकले झेल्दै आएको साझा समस्या भनेको समयमा पाठ्यपुस्तक नपाइनु हो । त्यसमाथि पनि निम्न आय भएका अभिभावकका लागि आर्थिक अभाव अर्काे ठूलो तगारो बन्ने गरेको छ ।
यस वर्ष पनि कतिपय अभिभावकले अघिल्ला वर्षझैं आफ्ना छोराछोरीका लागि समयमा पाठ्यपुस्तक किन्न नसकेर निराश बन्नुपर्ने अवस्था सृजना नहोस् भन्दै विद्यार्थीलाई बिर्तामोडमा निःशुल्क पाठ्यपुस्तक वितरण गरिएको छ ।
मारवाडी महिला मञ्च तथा मारवाडी युवती मञ्चले सोमवारबाट तीन दिनसम्म बिद्यार्थीका लागि निःशुल्क पुस्तक वितरण शुरु गरेका छन् । बिर्तामोडस्थित मारवाडी सेवा समितिको भवनमा बिद्यार्थीलाई लक्षित गर्दै पुस्तक वितरण शुरु गरिएको मारवाडी महिला मञ्चकी अध्यक्ष रीता चित्लाङ्गीयाले बताइन् । उनले भनिन्– विद्यार्थीले समयमा पाठ्य पुस्तक नपाएको गुनासो हरेक वर्ष सुनिँदै आएको छ, कतिपय अभिभावकले चाहँदा चाहँदै पनि आर्थिक अभावले समयमा पाठ्यपुस्तक किन्न सक्नुहुन्न, यस्तो अवस्थामा हामीले बिद्यार्थी र अभिभावकलाई सहज होस् भन्दै निःशुल्क किताव वितरण शुरु गरेका हौं ।’
पुस्तक बितरणका लागि मारवाडी सेवा समिति र मारवाडी युवा मञ्चले सहयोग पु¥याएको चित्लाङ्गीयाको भनाइ छ । उनका अनुसार पहिलो दिन नै एक हजार ८ सय भन्दा बढी पुस्तक वितरण गरिएको छ । तीन दिनभित्र तीन हजार थान पुस्तक बितरण गर्ने लक्ष्य लिएका छौं – अध्यक्ष चित्लाङ्गीयाले भनिन्– ‘हामीसँग तीन हजार थान पुस्तक उपलब्ध छन्, हामीसंग नभएका पुस्तक पनि विद्यार्थीले खोजी गरे मगाएर उपलब्ध गराउँछौं ।’
मारवाडी महिला मञ्चको अगुवाइमा भएको निःशुल्क पाठ्यपुस्तक वितरण समारोहमा बोल्दै मारवाडी सेवा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल भद्रपुरेले बिर्तामोड आसपासका झण्डै पाँच सय बिद्यार्थीले निःशुल्क पुस्तक पाउने बताए । उनले भने– ‘हामीले निःशुल्क पुस्तक बितरण गर्दा विद्यार्थीसंगै अभिभावकलाई पनि राहत मिल्छ ।’
विभिन्न विद्यालय, पब्लिकेसन, सहयोगी दातासंगको सहकार्यमा मारवाडी महिला मञ्चले पुस्तक जुटाएको र वितरण शुरु गरेको अध्यक्ष चित्लाङ्गीयाको भनाइ छ । नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई पुस्तक वितरण गरिँदै आएको चित्लाङ्गीयाले बताइन् ।
निलम अग्रवालको संयोजकत्वमा पुस्तक वितरण भइरहेको बताइएको छ । मारवाडी समुदायले निःशुल्क पुस्तक वितरण शुरु गरे पनि अभिभावक पनि उत्साहित बनेका छन् । पुस्तक लिन मारवाडी सेवा समिति आइपुगेकी बिर्तामोड निवासी बिमला थापा मगर र लीला ठाकुरले मारवाडी महिला मञ्चले अत्यन्त राम्रो र उदाहरणीय कार्य गरेको भन्दै खुशी व्यक्त गरे ।































