जनतालाई कर तिर्ने राज्य

0
560
भुवन तामाङ,

कथा
देवताहरु कहिल्यै पनि स्कुल या विश्वविद्यालय गएर पढ्दैनन् । देव बालबालिकाहरुलाई न कापी किताबको आवश्यकता पर्छ न त ट्यूसन र कोचिङको नै । उनीहरुलाई गाईडबुक र सोलुसनबुकको पनि आवश्यकता पर्दैन । उनीहरु उत्पत्ति या जन्मैले ज्ञानी हुन्छन् । सबै लोकको सबै आयामका ज्ञान उनीहरुमा स्वतः नै हुने गर्दछ । तर, देवलोकमा देवताहरुलाई युग बदलिएको महशुस हुन थाल्दछ । पृथ्वीलोकमा कलियुग चलिरहेको छ । पृथ्वीको कलियुगको प्रभाव देवलोकमा पनि परेको ठानिन्छ । तसर्थः देवलोकका देव बालबालिका, देव किशोर–किशोरी र देव युवा–युवतीहरुलाई युग सुहाउँदो शिक्षा दिन जरुरी भएको महशुस हुन थाल्दछ ।

देवताहरुद्वारा देवलोकमा स्कुल तथा विश्वविद्यालय स्थापना गरिन्छ । बादलैबादलको देवलोकमा बादलैमाथि बनेका सुन्दर स्कुल र विश्वविद्यालयमा बादलकै बाटो हिँड्दै आएर देव विद्यार्थीहरु पढ्न थाल्दछन् । उनीहरुलाई देवताहरुले देवलोक, ब्रह्माण्ड, तारामण्डल, सौर्यमण्डल सृष्टि तथा पृथ्वीलोक आदि बारे पढाउँदछन् । देवताका सन्तानहरु शिक्षादिक्षा पाएर अत्यन्तै ज्ञानी, विद्वान, विदुषी तथा दार्शनिक बन्दछन् । देवलोकका विश्वविद्यालयबाट कतिपय देव विद्यार्थीहरु शोधकार्यका लागि कोही कतै जान्छन् त कोही कतै । कोही ब्रह्माण्डतिर, कोही तारामण्डलतिर, कोही ब्लाकहोलतिर त कोही सूर्यतिर शोधकार्यका लागि जान्छन् । त्यस्तै दुई देव शोधार्थीहरुलाई पृथ्वीलोकको अध्ययनका लागि पठाइन्छ । पृथ्वीलोकमा धेरै महादेश र धेरै देश छन् । तसर्थः देव विद्यार्थीहरुले कुनै दुई महादेशका एक–एक देशलाई आधार मानेर उत्तम देश र खत्तम देश बारेमा शोध अध्ययन गर्नका लागि पठाइन्छ ।

दुई देव विद्यार्थीहरु देवलोकबाट उड्दैउड्दै आकाश र बादलको बाटो हुँदै पृथ्वीको बायुमण्डल तहभन्दा केहीमाथि आइपुगेपछि टक्क रोकिन्छन् । निलो पृथ्वीलोक देखेर देव विद्यार्थीहरु मन्त्रमुग्ध हुन्छन् । धेरैजसो भाग समुद्र नै समुद्रले ढाकिएको पृथ्वीलोक, देवलोकभन्दा सुन्दर लाग्दछ । जमिनको भागमा रहेका चाँदी टल्के जस्ता सेता हिमालहरु, हरिया पहाड र वनजंगलहरु, खेतबारीहरु, गाउँबस्तीहरु र शहरहरु देखेर देव विद्यार्थीहरु पृथ्वीलोकको विविधता र सुन्दरताले लठ्ठै हुन्छन् । उनीहरु भन्छन्– पृथ्वीलोक यति सुन्दर र वैभवपूर्ण देखिन्छ । त्यहाँ सबै उत्तम देशहरु नै होलान् अनि कसरी खत्तम देश पत्ता लगाउनु ? विश्वविद्यालयबाट कतै हामीलाई गलत शोध विषय त दिइएन ? तर आपूmहरु दुबैले दिइएका विषय सहर्ष स्वीकारेरै आएकाले यसमा अनावश्यक तर्क गर्नु उचित नभएको मात्र होइन अनुशासनहीन ठहरिने निक्र्यौलमा पुग्दछन् ।

पृथ्वीलोकमा शोध कार्य गर्न आउन त आइयो तर अब आपूmहरुमध्ये को चाहिँ कुन महादेशको कुन देश जाने र को चाहिँ कुन महादेशको कुन देश जाने भन्ने विमर्श गर्न थाल्दछन् देव विद्यार्थीहरु । निकैबेरको विमर्श पश्चात निश्कर्षमा पुग्दछन् । उनीहरु रातको समयमा आ–आप्mनो रोजाइको महादेश र देश तर्पm ओर्लन्छन् । देव शोधार्थीहरुलाई देखेर पृथ्वीलोकका मानिसहरु आश्चर्यमा पर्लान्, दुःख देलान्, आक्रमण पनि गर्न सक्लान् भनेर देव शोधार्थीहरु पृथ्वीलोकका मानिसहरु जस्तै भेषभुषामा प्रस्तुत हुन्छन् । मानौ उनीहरु पृथ्वीलोककै मानिसहरु हुन् ।

शोधकार्यमा आवश्यक पर्ने अवस्थामा देव शोधार्थीहरु आप्mनो असली परिचयमै प्रस्तुत हुन्छन् । यस्तो रहस्य थाहा पाएर पृथ्वीलोकका मानिसहरु चकित पर्दछन् । देव शोधार्थीहरु आआप्mनो शोध क्षेत्रमा भ्रमण गर्दै आवश्यकता अनुसार लिटरेचर रिभ्यू, प्रश्नोत्तर, तथ्यांक संकलन, विश्लेषणदेखि शोध रिपोर्ट तयार पार्दै जान्छन् । शोधकार्य गर्ने क्रममा देखिएका, भेटिएका, अवलोकन, अनुभव गरिएका विभिन्न पाटाहरुबाट देव शोधार्थीहरु निकै प्रभावित हुन्छन् । देव शोधार्थीहरुलाई पृथ्वीलोक निकै आनन्ददायी र रमाईलो पनि लाग्दछ । यहाँका मान्छेहरुको विविध आयाम, सुख–दुःख स्वयम् आपैmले अनुभूति गर्न पाउँदा देव विद्यार्थीहरु आपूmमा नयाँ चेतना भरिएको महशुस गर्दछन् ।

वर्षदिनको समय लगाएर बाह्रै महिनाको गतिबिधि नियालेर देव शोधार्थीहरुले आ–आप्mनो शोध कार्य पूरा गर्दछन् । उनीहरुलाई पृथ्वीलोक छाडेर जान मन लाग्दैन, तर फर्कनु नै छ । देव शोधार्थीहरु पृथ्वी छाड्दै वेगले उडेर पृथ्वीको वायुमण्डल पार गरेर टक्क अडिन्छन् । उनीहरु तल पृथ्वीलोकको अलौकिक रुप हेरेर पुनः मन्त्रमुग्ध हुन्छन् । तत्पश्चात उनीहरु देवलोकका लागि प्रस्थान हुन्छन् । देवलोकको देव विश्वविद्यालयमा देव शोधार्थीहरुलाई उनीहरुले पृथ्वीलोकमा गरेका शोध प्रतिवेदन प्रेजेन्टेशन गर्न निर्देशन दिइन्छ । विश्वविद्यालयका देव प्रोफेसरहरुका समक्ष देव शोधार्थीहरुले आ–आप्mनो प्रतिवेदन प्रेजेन्टेशन गर्दछन् । सर्वप्रथम पृथ्वीलोकको एशिया महादेशको ‘नेपाल’ देशको शोध कार्य गर्ने देव शोधार्थीले आप्mनो प्रेजेन्टेशन गर्दछन् ।

आदरणीय गुरुजनहरु ! देवलोकको देव विश्वविद्यालयबाट निर्दिष्ट गरिएको विषयमा, पृथ्वीलोकको एशिया महादेशको नेपाल देशको शोध कार्य गरेर आउन सफल भएकोमा म अत्यन्त हर्षित छु । मेरो शोध गुरुगण समक्ष प्रस्तुत गर्ने अनुमति चाहन्छु । नेपाल देश प्राकृतिक श्रोतसाधन र सुन्दरताले भरिपूर्ण देवलोकभन्दा अलौकिक रहेको पाइयो । सर्वोच्च शिखर सगरमाथा लगायत कैयन हिमश्रृंखला, उर्वर हरिया पहाड, उस्तै उर्वर समथर तराईले सुशोभित देश नेपाल अत्यन्त समृद्ध बन्न सक्ने भएता पनि त्यहाँका शासकवर्गको स्वार्थी सोच र लोभी व्यबहारका कारण अभैm पनि सत्रौँ शताब्दीकालको अवस्थामा रहेको पाइयो । प्रचुर वनजंगल र जैविक विविधता, देशैभर पर्यटकीय मनोरम छटाहरुले भरिएका छन् । वर्षैभर पर्यटकैपर्यटक आगमनले विदेशी धन वर्षा हुने देखिन्छ । तर, प्रक्रिया पर्यटकमैत्री नभएका कारण पर्यटकहरु नेपाल आउन झिँझो मान्ने गरेको पाइयो ।

पर्यटन उद्योग, जलविद्युत्, खनिजपदार्थ, जडिबुटी, फलपूmल, कृषि उपज आदि निर्यातबाट आर्जन हुने धनले त्यहाँका सबै जनतालाई बसी–बसी जीवन जीउन पुग्ने देखिन्छ । तर, आयातमात्र गर्न जान्ने, झण्डै शतप्रतिशत ब्यापार घाटा गर्ने, वर्षदिनमै खर्ब बढी सरकारी बजेट बेरुजु पार्र्ने र अत्यन्तै भ्रष्टाचार हुने भएकाले त्यो स्वर्णीम अवसरबाट त्यहाँका जनता बिमुख भएको पाइयो । फलस्वरुप प्रत्येक नेपालीका थाप्लामा बत्तीस हजार बढीका दरको ऋण रहेको पाइयो । त्यहाँको सरकार जनताको साथमा रहेको थोरै पैसा पनि तानिहाल्न बहुत सिपालु रहेछ । शासकहरु भ्रष्टाचार र अनियमितताको माध्यमबाट देशको धन व्यक्तिगत, पारिवारिक बनाउन माहिर रहेछन्् । त्यतिमात्र होइन जनतालाई करैकरको जंजीरले बाँधेर, नियमै नियमको कोर्राले हानेर थला पारिएको रहेछ ।

नेपाल देश माग्नमात्र जान्दो रहेछ । विश्वका विभिन्न देशमा प्राकृतिक तथा मानवीय विपत्ती पर्दा एक कन्ची पनि आर्थिक सहायता गरेको देखिएन । जब उसले आप्mनो बार्षिक बजेटको आधा भाग विदेशी अनुदानले भर्ने गर्दछ । समग्रमा मेरो रिसर्चको निचोड, नेपालको आप्mनै धनले नेपालका करिब तीन करोड जनसंख्या बसी–बसी वैभवको जीवन जीउन सक्छन् भन्ने रहेको छ । समस्या समाधानका रुपमा नेपालका शासकहरुलाई सदाचार र नैतिक शिक्षा अनिवार्य दिनुपर्ने देखिन्छ । नत्र यसको असर देवलोकमा पनि अझ थपिँदै जाने देखिन्छ ।

अर्का शोधार्थी पनि आप्mनो शोध प्रतिवेदन उसैगरी प्रस्तुत गर्दछन् । यूरोप र अमेरीकी महादेशबीचमा रहेको कुनै एक अत्यन्तै समृद्ध देशको शोध कार्यगरी प्रतिवेदन तयार गर्न पाउँदा म अत्यन्त खुशी भएको छु । मैले शोध गरेको देशमा राज्यले आप्mना जनतालाई नै उल्टै कर तिर्दोरहेछ । देशको नागरिक भैदिएकामा अत्यन्त सम्मानका साथ प्रत्येक जनताको बैंक खातामा मासिकरुपमा मनग्य कर जम्मा गरिदिँदोरहेछ । त्यसैले त्यहाँका जनता विश्वकै अत्यन्त भाग्यशाली रहेका मेरो शोधले देखाएको दाबी गर्दछु । त्यस देशमा औद्योगिक क्षेत्र उन्नत रहेछ । विभिन्न वस्तुहरु उत्पादन गरी निर्यातैनिर्यात गरेर प्रचुर धन आर्जन गरिँदोरहेछ । कृषि, पशुपंक्षी, खनिज पदार्थ, इन्धन, वनपैदावर, खाद्य सामग्री, उपभोग्य सामग्री, उर्जा, विकास निर्माण आदिका उद्योगहरु देशैभर रहेछन् । उजाड, बन्जर क्षेत्रलाई समेत मेहनतले रमणीय, उर्वर बनाइ पर्यटकीय क्षेत्रका रुपमा विकास गरिएको पाइयो । त्यहाँ विश्वस्तरीय शिक्षा र स्वास्थ्यको व्यबस्था रहेछ । विश्वभरबाट लाखौँ विद्यार्थीहरु त्यहाँ विश्व शिक्षा हासिल गर्न आउँदा रहेछन् । उत्कृष्ट स्वास्थ्य उपचारका लागि विश्वभरबाट धनाढ्यहरु आउँदा रहेछन् ।

जताततै आम्दानी नै आम्दानीको श्रोत रहेछन् । मानौ त्यहाँ रुखमा पैसा फल्दछन् । त्यहाँ ब्यापार घाटा, बेरुजु र भ्रष्टाचार शून्य रहेछ । तर, त्यो विलक्षण उन्नतिको स्तरमा त्यसै पुगेका भने होइनन् । त्यहाँका सबै वर्गका जनताहरुको कडा मेहनतले सम्भव भएको हो । सरकार (शासक)हरुको दुरदर्शीता, देश, जनताप्रतिको इमान्दार व्यबहार र उच्च कर्मले गर्दा त्यो उपलब्धि प्राप्त भएको पाइयो । मेरो शोधको प्रमुख निचोड, त्यस देशले जनताबाट एक पैसा पनि कर लिँदैन । उपभोग्य सामग्री खरिद गर्दा लिइएको अप्रत्यक्ष कर पनि सरकारले फिर्ता गरिदिँदोरहेछ । देश, राष्ट्र या राज्य होस् त्यस्तो पो त । समस्यै बेगरको ।

जनतालाई कर तिर्ने । दुबै शोधार्थीको शोध रिपोर्ट सुनेपछि देव विश्वविद्यालयका देव प्रोफेसरहरु अनायासै भन्छन्– नेपाल चाहिँ खत्तम देश रहेछ । तर, नेपालका शासकहरुले जाने भने त्यहाँको सरकारले पनि जनताहरुलाई नै उल्टै कर तिर्न सक्ने रहेछ । त्यसैले त्यहाँका जनताले यस्तो आवाज बुलन्द पार्नुपर्छ, ‘जनतालाई नै कर तिर्ने राज्य आजको आवश्यकता ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here