हास्य–व्यंग्य
व्यंग्यनारान पाँडे
“ए पाँडे भाइ, तपइँलाई समायोज्जन भन्ने शब्दको मिनिङ गर्न अथवा माने के हो, एस्को महत्तो र मइमा क्या हो भन्ने था छ कि छैन हँ ? एति चइँ मिन्निमम् पनि अन्डरइस्टानिङ गरिराख्नु हए । मैले समया र ट्याममै भन्दिया छु नि । पछि फेरि दाइ हजुरबड ह्वाँको बौमतको सर्खारले देशको फिरीका फिरी जोतभोग गरिराख्या ट्याममा पनि मलाई मर्जी गर्नु भ’न भन्र मुन दुखाउन पाउँदौन नि ।” —भने आज आउँदा आउँदै गौंथलीको बाऊले ।
मैले के भन्न आँट्तैथेँ, उनै भत्भुताए— “ओफ ! मेरा घराड तपइँको घरसम्म आउँदा नि गर्मीले भुतुक्कै गलाउन थालो हिँजआज गाँठे । सोख–चैनका दिन घुराइरछ यो पोल्टिकल लाएफले बानी बिग्रिगछ अब्ब चइँ । उइले–उइले दश पाथी नूनको कुम्लो कुममा हलुकै अल्झा’र दुई दिनको बाटो एक्कै दिनमा सइलै कुर्कुच्चा ख्या’र घर आइपुगेसि गाई–भुइँसी दोइन्थ्यो, बाछापाडा बाँदिन्थ्यो, गोबर–भकारो सोरसार पारिन्थ्यो र पनि नथाक्न बाद्दे हुनुपथ्र्यो ।
तो राजावादी कालको हिस्टोरीमा आफ्फैले अनुभौ गर्या कुरा भन्दैछु म । अैले हाम्रो नेपकाको सर्खारका पालामा सम्विर्धि छताछुल्ला आइराख्या छइँछ, सुखी नेपाली भइराख्या हुँदाउँदी जीउ–ज्यान नै सोखिन भकाले एत्ति हिन्दा पनि पसिना आउन थालो साला !…हिँजो बेल्का कैलुको भट्टी हुटेलमा समायोज्जनको सोस्–फोस् मिलाउन सधरमुकाम आका गाम्–गाम्मा ठूला–ठूला, धनी–माजन र पेलन्तामबड छोइनसक्ना भइखाका कम्रेट साथीहरसित अलि बढतै खाइयाथ्यो । तेस खानपानले आज दिसभरिसम्म झुइँ–झुइँ पार्ला भन्ने मैले अडि घराड हिन्दासम्म मौसूप गरिराख्या थेँ । एक्सेएक क्याँसका गाँठवाला कम्रेटहर्सित खाका बेला के खान कम्ती खानु त भन्दै धोकियाथ्यो, पसिनामा मिस्कट भ’र शरीरबड गेटाउट भइगो, तेस्सिमालाने ! खाको जिनिस शरीरमा लागिरने होस् भन्ने ठान्छु ता नि, पसिना र पेसापले तेसो हुनै दिंदैन ।”
म बोलेको थिइन, उनैले बित्थामा भने— “के भन्यौ तपइँले ?”
मैले भनें— “मैले के भनें र ? म त बोलेकै छुइन ।”
उनले गजक्क पर्दै भने— “अैलेको ट्यामका म जस्ता ठूलाठालू बोलिराख्या बेला तपइँ जस्ताहर्ले बी–बीचाँ बोल्नु हुँदैन पनि, अन्डीस्पीलनीहीन हुन्छ भन्ने बल्ल तपइँलाई मौसुप हुन थालेछ, कुरो गुडै हो । अनि समायोज्जन भनेको के हो, के महत्तो र मइमा छ भन्ने थाछ कि छैन त ?”
मैले भनें— “दाइ जस्ता जान्ने मान्छेले बताइदिंदा न जानिन्छ ।”
उनी राँक्किए— “ए तपइँले कल्लाई मान्छे भन्या ? म मान्छे हूँ कि यसबेला म के हूँ भन्ने आइड्या छैन भने के खान प्याच्च बोल्नु पर्या ?”
मैले फेरि भनें— “अनि तपाईं पनि म जस्तै मान्छे होइन त ?”
उनले कठबाँसको छिप्पिएको जरो जस्तै चर्चरी फुटेको र बटारिएको चोर औंलो मेरो नाकनेर ल्याएर ठड्याउँदै भने— “एइ पाँडे, तपइँ मुख समालेर बोल्ने गर हए, नभादेखनु् बस्लान् नि सुम्ला भाटे कारवाइका । तपइँ अैलेका ट्याममा म जस्तै कम्रेट होउ कि, म जस्तै मिस्कट भासाबिध होउ कि, म जस्तै पत्रकार गर्नेमा सिन्यार होउ कि, म जस्तै पोल्टिस्यान होउ कि अथ्बा मेरा छेउमा के चइँ होउ र मलाई तपइँ जस्तै मान्छे भन्छौ हँ ? हन तपइँलाई यो सर्खारको चिलिम नफर्कुन्जेल र आर्को सर्खार नबनुन्जेल एस देशमा बस्न मुन छैन कि क्या हो हँ ? कस्ता हरामी कुरा गर्या हेर त—म तपइँ जस्तै मान्छे अरे ? के भन्या तो ? तपइँ मसित खुरुक्क निउरेर एस्कुच–मी माग्छौ र तपइँको शब्द घुर्ता गर्छौ–गर्दौन हँ ? कि तपइँ अब तपइँलाई लाग्ने भामरीको दसो बिहोर्छौ आज्जैदेखुन् हउ काङरेस कि राजावादीका हरामी मान्छे ? म माने तपइँको गार्जेन, म हरिकान्त नारान, म मान्छेबड उल्था भइकन गको गत एलेक्सीनमा म समेतको पर्यायका पुन्नेपर्तापले गर्दाउँदी पाटीले पर्चन्न बौमत ल्या’र थाइ सत्तिशाली सर्खार बनाए एता मान्छेबड एस छेत्रको एरिआमा सब्से केजाति भएसि सब्से के जाति कम्रेटमा उल्था भइसक्या पर्तिप्टित बेक्तित्तोलाई मान्छे नै देख्यौ भने त मारिहाल्यौ नि ! मलाई अब्ब पनि मान्छे नै भइराख्नु थ्यो भने के खान पोल्टिस्यान गरिराख्थें हँ ? एस्तो हरामी निचो बाक्के म अब मरेकाटे बोल्दिन भन्दै एस्कुच–मी माग । होइन भने…।”
उनको चर्केको चिर्बिरे स्वरको छाना थर्किने आवाजबाट आँगन र फूलबारीतिर चरी–खेलीमा रहेका भँगेरा र भ्याकुराहरु पनि हच्केर भागेका थिए । अब उनी रीसको पारो चढाउँदै र तिघ्रा ठट्टाउँदै उठेर कराएर टोलै थर्काउँछन् होला भन्ने लागेकाले त्यसबाट जोगिने सोच्तासोच्तै कुन्नि कसरी मेरो मुखबाट फुस्किगो— “होइन भने के गर्नुहुन्छ ?”
उनले भने— “होइन भने खुरुक्क घर जान्छु नि, गर्न त के गर्नु र ? समायोज्जन भन्या के भन्ने तपइँलाई तेसको मिनिङ गर्न आउँछ कि आउँदैन भन्र टेस गर्न आइरथेँ, कुरो तपइँले मलाई अजै पनि मान्छे नै देख्तारछौ भन्नेतिर कुइँक्क घुरो र अन्तखेरी मेरा टउाको मगजमा गोस्सा आउनु सोभाभिक भकाले अलिक ठूलो सोर गरेँछु । भइगो नि, तपइँ डोन–माइन नगर न । कैले–काइँ हामी रानीतिक गर्ने पोल्टिस्यानलाई दसतिरका ट्यान्सिनले गर्दा रीस उठ्छ र फ्याक्स रिसाइन्छ क्या त पाँडे भाइ ।”
मैले पनि संयमित हुनै पर्यो । किनभने, हिजोआज यस्तै भत्तामार्का डेढ अक्कली, मौकाबाज, लम्फु, गोबरगणेश र फुइँबाजको आत्मबल बढेको अवस्था छ । उहिले राणा श्री ३ हरुको हैकमी शासनका बेला कुनै लठ्डक श्री ३ ले सोझो रुखलाई बाङ्गो छ भन्यो भने रैतीले बाङ्गै छ भन्नै पथ्र्यो अरे । त्यस्तै छ अहिले । गौंथली बाऊ जस्ता समाजमा खेर गएका, पोचो र मपाइँले मात्रै बाँचेका नत्र थोत्रा टीन ठटाएर लगारिनुपर्ने हरिलम्फुले जे भन्यो त्यही खुरुक्क नमान्ने चोरलाई चौउतारो–साधूलाई शूली भइहाल्छ । अहिले म जस्तै सबै नागरिकलाई फेरि रैतीमा अनुवाद गर्ने बहुमत पार्टीका माथिदेखि गौंथलीको बाऊसम्मबाट भइरहेको अवस्था छ । इत्यादि अनुभव छाम्दै मैले सोधें— “के हो त दाइ समायोजन भन्या ?”
उनले उपरखुट्टीमा खुट्टो फेर्दै नाकका पोरा फुलाएर भने— “अैले चइँ टेसिलो पश्न खाप्यौ यार तपइँले । यो समायोज्जन भन्या बिहेमा केटा र केटीका पछ्यौरा गाँठो पार्नुलाई लगनगाँठो भन्छन् नि ? पाटी–पाटीको लगनगाँठोलाई चइँ समायोज्जन बोल्छ पोल्टिकल समाचले । अैले हाम्रो एम्माले र उँधेरको माउबादी पाटीको पछ्यौराको लगनगाँठो बाँदिएको छ र हाम्रो नेपाललाई डल्लै जग्गे ठानेर देशको भकारीका नग्दौ–जिन्सौं ऊँ स्वाहा गर्दै बइँशालु दुलादुलै जस्तै सो–उक्त जग्गेमा घुम्ने काम हुँदैछ । यस्को साङ्गे यइ दुई हज्जार छ्यात्तर साल बइसाक नउ गते गर्ने भन्र हाम्रा दुई थान मुख्खे कर्ता केप्पी ओली र पर्चन्नले मतो मिलाए अरे भन्ने मेरा कानाँ पनि छ्यास्स परिरथो । अब दोडा दिन न छन् न उ गते हुन, धइर्जे रखेर हेरम् न के तातोपानी लाग्दो रछ ।’’
मैले भने– ‘‘यो समायोजन पर्वमा दाइलाई पनि तिहत्तर लाखको एयर कन्डिसन गाडी, झन्नै आधा लाखको मैनावारी तलब, बाहिरफेरो प्रमुख अतिथि गर्दै– रामरस गर्दै हिंड्दा पाइलैपिच्छे भत्ता पाइने पद प्राप्त हुन्छ होला नि ?’’
उनले अनुहार उज्यालो पार्दै, नङ्ले बेसारे दाँत खुर्किंदै र थु–थु गरेर त्यतैउतै थुक्तै भने– ‘‘भो मलाई तेस्तो चाइया छैन । अररु कतिपएले तेस्तो पदबड राम्रो बन्दबस्त मिला’र खपिसक्नै छैन र छोइसक्दा माजन भइसक्या छैनन् भने धेरैपएले चइँ पोइसा रेग्गुलरका रेग्गुलर हातलागी हुने सेटिङको सिकेन्सबड धोक्राधोक्रै कमाइराख्या छन् । मलाई चइँ समायोज्जन गर्दा सेटिङबड रेग्गुलर इन्कम हुने मै पार्दिंदा भेरी गुट नि हओ भाइ, मेरी गुट नि । पैला गोरुहट्टीको हाट–हाटमा गोबर बटुल्ने ठेक्दारकाँ गोबर बटुलेर बोरा–बोरामा पेकिन गर्ने नोकरीको हेट फोरम्यानको काम गरेदेखुन नोकरी सम्झिँदा बमी होला जस्तो हुन्छ । तेसकारन त मैले जिल्ला समनबए कमेटीको अदच्छे, नर्पालिका–गाम्पालिकाको मेयार, पाटीको सदस्सेहेरु केइको नोकरी पनि मलाई चाइएन भए भन्र माथि डाइरेक सिम्हदर्बारमै लिखत् खापिसक्या छु । दिन्छौ भने तिर्भुओन बिस्सोविद्देलएको कुल्पति देऊ, नेपाल पग्र्या पर्तिष्टानको कुल्पति देऊ, अज सक्तौन भने अमृकानको राज्दूतै दिए नि हुन्छ, केइ लागेन भने निर्वाचन आयोगको अदच्छे अथ्वा विद्युत परादिकर्णको ज्याम नै दिए नि हुन्छ भन्ने पनि सो–उक्त लेखत्मा ठ्याँसिरछु । हेरम् केमा राख्छन् ।”
मैले हाँस्तै सोधें— “सक्नुहुन्छ त्यस्ता संस्थाका त्यस्ता पदको काम गर्न ?”
उनले फेरि उपरखुट्टीमा अर्को खुट्टो बद्लिंदै भने— “आआआ, के नसक्नु । हार्मोनी बजाउनु, मादल बजाउनु, रेड्यो बजाउनु जस्तै त हो नि, जल्ले पनि बजाउन जानिहाल्छ भने म किन जान्दिन र सक्तन होला त हँ ?”
मैले फेरि सोधें— “ताल–सुर मिलाउन र सबैले जान्दछन् र ?”
उनले उपरखुट्टी लाउँदा अर्कोमाथि खप्ट्याएको खुट्टो फ्याट्ट तल झार्दै सुर्रिएर भने— “के एत्राको सुर–ताल, लए र छन्दका कुरा गर्छौ ? अैले नेपालमा हाम्रो पाटीले सर्खार हाँकिराख्या छ र सर्खारले सुर–ताल न लए र छन्द बिनै देशको भोग–चलन गरिराख्या देख्तौन ? देशको कुन छेत्रको एरिआमा चइँ सुर–ताल र लए–छन्द मिल्या देख्यौ तपइँले ? हार्मोनी बाजा जल्ले पनि बजाउन जान्दछ, मादल र डुक्की–तबेला ठोक्न जल्ले नि जान्या छ, रेड्यो–टिबी बजाउन जल्ले नि जान्या छ । सुर–ताल र लए–छन्दका राजाबादी खाले कुरा आज चाइँछ त ? जल्ले पनि हार्मोनी ट्याँट्याँ–प्याँप्याँ पार्न जानेकै छ । तेस्मा भाका, सुर, ताल, छन्द, लय किन चाइया ? आलू कुरा गर्छौ ! लु मेरो पेस्टिच, योग्गेता, खेमता, खुबिलिटिसित तपइँको स्टाण्डर सारै तल भ’काले बइलेन्–स पटक्कै मिलेन र मलाई फस्टेसन भो, म हिंडे पनि । खाँमुखाँ म जस्तो एक लम्बर नेता गर्नेलाई मान्छे भन्ने यस्तासित डिस्केस गरेर किन ट्याम लस गर्नु ? गनतन्त्र गर्ने दसोडा काम छोडेर इनकाँ आयो थुक्क ! रातभरि रुँगो बूढी जिउँदै, साला ।”…
उनी भुत्भुताउँदै गइरहेतिर हेर्दै अनि मैले मनमनै भनें— “हो त, हिजोआज सबै कित्ताको खेलोफड्को सुर–ताल र लय नजान्नेले मादल बजाए जस्तै त चल्दैछ नि !”….