कचनकवलका वडा अध्यक्षसहित ९ जनाको नाममा पक्राउ पुर्जी

0
1066

झापा,

जिल्ला अदालत झापाले नेपाली नागरिकता काण्डमा मुछिएका जनप्रतिनिधि र कर्मचारीसहित ९ जनाको नाममा पक्राउ पुर्जी जारी गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार वडा अध्यक्षसहित दुई जना जनप्रतिनिधि, दुई जना कर्मचारी र पाँच जना स्थानीयको नाममा पक्राउ पुर्जी जारी गरेको हो।

अदालतले प्रहरीलाई पठाएको पक्राउ पुर्जीमा कचनकवल २ का वडा अध्यक्ष मेखबहादुर भट्टराई, वडा सदस्य धनबहादुर गुरुङ, वडा कार्यालयका वडा सचिव हरिप्रसाद गौतम, कर्मचारी खगेन्द्रप्रसाद खतिवडा, कचनकवल २ बस्ने कविता गुरुङ, सोही ठाउँका गंगाप्रसाद भट्टराई, तुलसीराम गुरुङ, प्रेमप्रसाद तिम्सिना, शिवकुमार दाहालको नाम उल्लेख भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

अदालतले पठाएको नामसहितको पक्राउ पुर्जी कागजात मंगलबार बेलुका इलाका प्रहरी कार्यालय बनियानीलाई पठाइसकेको उनले बताए। ‘पक्राउ पुर्जी हातमा परिसकेको छ’, इलाका प्रहरी कार्यालय बनियानीका प्रहरी नायव निरीक्षक उदयशमशेर राणाले भने, ‘नाम अनुसारको मान्छे पक्राउ गर्न प्रहरी खटाइसकेका छौं।

अहिलेसम्म कोही पक्राउ परेको छैन।’ नातामा छोरा भन्दै भारतीय नागरिकलाई बंशजको आधारमा नेपाली नागरिकता बनाइ दिन कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङसहित भारतीय नागरिक ३५ वर्षीय भुपाल गुरुङलाई जिल्ला प्रशासन कार्यालय झापा परिसरबाटै बैशाख १० गते प्रहरीले पक्राउ गरेको हो।

भुपालको स्थायी ठेगाना आसाम राज्यको मणिपुर कानकोपी जिल्ला भएको भारतीय मतदात परिचयपत्र देखाएपछि प्रशासन कार्यालयको आदेशमा प्रहरीले दुवै जनालाई कागजातसहित पक्राउ गरेको डिएसपी श्रेष्ठले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here