झापामा बहिरा आवासीय विद्यालय बन्ने

0
568

बिर्तामोड।

झापालाई साक्षर जिल्ला घोषणा गरेसँगै शिक्षा क्षेत्रका अगुवाहरुको पहलमा झापा बहिरा आवासीय विद्यालय बन्ने भएको छ ।

कनकाई नगरपालिकाले जिल्लाकै नमूना बहिरा विद्यालय बनाउनका लागि कनकाई–८मा जग्गा उपलब्ध गराएसँगै अब जिल्लाभरका सबै बहिरा विद्यार्थीहरुले एकै स्थानमा बसेर उच्च शिक्षा हासिल गर्न पाउने बहिरा शिक्षक युनियनका केन्द्रीय सदस्य एवम् प्रदेश १का संयोजक हरिप्रसाद अधिकारीले बताए ।

सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क र अनिवार्य भने पनि बहिरा बिद्यार्थीहरु पढ्नबाटै बञ्चित हुनु परेको भन्दै राष्ट्रिय बहिरा शिक्षक संघ नेपाल झापाले प्रदेश सरकारसँग झापामा छुट्टै बहिरा विद्यालय खोल्न माग गरेको थियो ।

झापाका चार विद्यालयमा बहिरा बालबालिका अध्ययनका लागि श्रोत कक्षाहरु सञ्चालनमा रहे पनि उनीहरुले अध्ययन गर्ने छुट्टै विद्यालय भने अहिलेसम्म सञ्चालन हुन सकेको छैन । झापामा एक सय ७४ जना बहिरा बिद्यार्थी अध्ययनरत् छन् । तर, उनीहरु विभिन्न विद्यालयले सञ्चालन गरेको श्रोत कक्षामा अध्ययन गरिरहेका छन् । बिर्तामोडमा रहेको मोहनमाया माध्यमिक विद्यालय, कनकाई मावि सुरुङ्गा, हिमाली माध्यमिक विद्यालय लक्ष्मीपुर, मंगलमय माध्यमिक विद्यालयले बहिरा बालबालिकाका लागि श्रोत कक्षा सञ्चालन गरेका छन् ।

प्रदेश नम्वर १का संयोजक अधिकारीका अनुसार चार विद्यालयमा श्रोत कक्षा सञ्चालन भए पनि कनकाई माविमा मात्रै १० कक्षासम्मको पठनपाठन हुने गरेको छ । अन्य तीन विद्यालयमा आधारभूत तहका मात्रै कक्षा सञ्चालन हुँदै आएको हिमाली माविका शिक्षक समेत रहेका अधिकारीले बताए । बालबालिका अध्ययनका लागि छुट्टै विद्यालय नहुँदा एउटै कोठामा दुई वा दुई भन्दा बढी कक्षाहरु सञ्चालन गर्नुपर्ने बाध्यता रहेको बताइएको छ ।

यसैबीच बहिरा विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप र खेलकुद हुन नसकेको बहिरा शिक्षकहरुले बताएका छन् । उनीहरुका अनुसार बहिरा बालबालिकाका लागि दाताले दिएको सहयोग प्रयोगमा आउन सकेको छैन । बहिरा बिद्यार्थी अध्ययनका लागि २०५१ सालबाट झापामा श्रोत कक्षा सञ्चालनमा आए पनि हालसम्म बहिराका लागि छुट्टै माध्यमिक तहसम्मको बिद्यालय स्थापना नहुँदा बहिरा बिद्यार्थी पढाइबाट बञ्चित हुने गरेका छन् । कनकाई नगरपालिकाले जग्गा उपलब्ध गराएसँगै छुट्टै विद्यालय सञ्चालनका लागि भौतिक संरचना निर्माणको तयारी शुरु गरिएको संयोजक अधिकारीले जानकारी दिए ।

विभिन्न विद्यालयमा सञ्चालनमा रहेका श्रोत कक्षा हुँदै कनकाई माविबाट एसईई परीक्षा उत्तीर्ण गरे पनि त्यस अघिकोे पढाइका लागि विद्यालय नहुँदा उनीहरुले बीचैमा पढाई छाड्नुपर्ने बाध्यता रहेको बताइएको छ । विद्यालय सञ्चालनमा आएमा झापाका १५वटै स्थानीय तहका बहिरा बालबालिकका लागि शैक्षिक अभिवृद्धि गर्न सहज हुने बताइएको छ ।

झापामा बहिरा विद्यालय नहुँदा केही सम्पन्न परिवारका बालबालिका पोखरा तथा काठमाडौंमा सञ्चालनमा रहेका बहिरा बिद्यालयमा अध्ययनका लागि जाने तर अधिकांश बहिरा बालबालिका १० कक्षासम्मको पढाइ सकेर घर फर्किनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

बहिरा बिद्यालय सञ्चालनमा आए बहिरा मात्रै नभएर अन्य विद्यार्थीले पनि अध्ययन गर्न पाउने बताइएको । बहिरा बिद्यालयमा नजिकका सुन्ने विद्यार्थीहरु समेत आएर बहिरासंगै बसेर अध्धयन गरेमा दोभाषे विद्यार्थी उत्पादन गर्न सहज हुने प्रदेश संयोजक अधिकारीले बताए । बहिरा बिद्यालय सञ्चालनमा आएमा झापाका मात्रै नभएर इलाम, पाँचथर, ताप्लेजुङ, मोरङ, सुनसरी लगायतका जिल्लाबाट समेत बहिरा विद्यार्थीहरु अध्धयनका लागि आउने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here