रातभरी रुङ्यो फलानो त जिउँदै

0
603


प्रष्टोक्ती :

नेपाली समाजमा एउटा उखान छ ‘रातभरी रुङ्यो फलानो त जिउँदै’ यसको अर्थ विभिन्न प्रसंगमा लाग्छ । आप्mनो अनुकूल परिस्थितिमा यस उखानलाई प्रयोग गर्दा हुन्छ । यस आलेखमा अहिलेको अवस्थामा लैंगिक विभेद हुन्छ भनेर समाजमा चलेको शब्द नराखेर फलानो शब्द राखेको हो । जे भए पनि यही समाजमा बसेका हामीलाई यस उखानमा फेरेर राखिएको फलानो भन्ने शब्दले कुन शब्दलाई भन्न खोजेको हो भन्ने प्रष्ट हुन्छ भन्ने पंक्तिकारको आग्रह हो । नबुझ्नेले यसो छेउछाउका बुढापाकालाई सोधे प्रष्ट हुन्छ ।

यो भयो शब्दको कुरा । अब यस उखानको अर्थतिर जाऔं । यस उखानले जति गरेपनि, जति समय लगाए पनि कुरो उस्ताको उस्तै । समस्या ज्यूँ का त्यूँ । समस्या समाधान भएन भन्ने हो । पंक्तिकारले यसपटकको आलेखमा यो उखान विशुद्ध प्रदेश नं. १ को नाम र राजधानीसँग जोडेर उल्लेख गरेको हो ।

नाम र राजधानी :

हाम्रो संविधानले शासन व्यवस्थाको स्वरुप संघीय समावेशी गणतन्त्र हुने भनेपछि सोही अनुरुप नेपालमा सात वटा प्रदेशको घोषणा भयो । तिनीहरुको नाम र राजधानी केन्द्रीय सरकारले नतोकेर प्रदेशकै सरकारको प्रस्तावमा प्रदेश संसदको दुई तिहाईको बहुमतले नाम र राजधानी टुंगो लगउने भनी त्यसबेलाको देउवा सरकारले नाम एकदेखि सातसम्म र राजधानी अस्थायी तोक्यो ।

प्रदेश सभाको निर्वाचन भई सबै सातवटै प्रदेशमा सरकार बनेको पनि एक बर्ष भयो । त्यसमध्ये ४ नम्बर, ६ नम्बर र ७ नम्बरले प्रदेश र राजधानी तोकेका छन् भने १ नं., २ नं., ३ नम्बर र ५ नं. प्रदेशले राजधानी तोक्न सकेका छैनन् भने प्रदेशको नाम पनि तोक्न सकेका छैनन् । यसलाई नै पंत्तिकारले रातभरी…. भन्ने उखानले व्यंग्य गरेको हो ।

अब पनि नाम र राजधानीमा अल्मलिने र ढिलो गर्ने प्रदेशले के काम गर्ला भन्ने अविश्वास जनतामा पर्न थालेको छ भने स्थायी राजधानी तोकेपछि ती प्रदेशका जनताले आ–आफ्नो अनुकूल योजना बनाउने, काम गर्ने र व्यवसाय गर्ने आदि गर्न पाउँथे । तर, अझै चार वटा प्रदेशले राजधानी र नाम तय गरेका छैनन् भने काविल र युवा मुख्यमन्त्री शेरधन राई भएको १ नं. प्रदेशले पनि नाम र स्थायी राजधानी नपाउनुलाई विडम्बना मानिएको छ ।

प्रदेशको नाम :

१ नं. प्रदेशका लागि अहिले विकल्पमा दुईवटा नाम आएका छन् र ती मध्ये एकलाई प्रदेशको नाम बनाए राम्रो हुने देखिन्छ । एक किरात प्रदेश र दोस्रो कोशी प्रदेश । किरात प्रदेश यस अर्थमा कि यो क्षेत्र प्राचीनकालदेखि नै किरात क्षेत्र हो । पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा किरात प्रदेश फत्ते गर्न निकै ठूलो लडाईं गर्नुप¥यो । अनि किरात र पृथ्वीनारायण शाहबीच सुलह भयो । त्यसबला यो क्षेत्रलाई किरात प्रदेश मानिएको थियो ।

त्यस सुलहमा अर्थात् वि.सं.१८३१ साउन २२ गते पृथ्वीनारायणले गरिदिएको लालमोहरमा किरातहरुका किपटमा १० आनी र ६ आनीको व्यवस्था गरी तिरो बुझाउने व्यवस्था थियो । अर्थात् जग्गामा उनीहरुको विशेष अधिकार कायम गरियो । उनीहरुले उठाएको केही तिरो लिएर किरातहरुलाई पृथ्वीनारायण शाहले राज्य संचालनको स्वायत्तता दिएका थिए । उठाएको एक रुपैयाँ तिरोमा १० आना नेपाल सरकारलाई र ६ आना किरातका सुब्बाहरुले भोग गर्न पाउँथे ।

त्यसबेलाको लिखतमा यस क्षेत्रलाई किरात प्रदेश मानिएको थियो । किरात प्रदेशहरुमा वल्लो किरात तामांगहरुको, माझ किरात राईहरुको र पल्लो किरात लिम्बूहरुको थियो । अहिले यी तिन किरात क्षेत्रमध्ये माझ किरात र पल्लो किरात १ नम्बर प्रदेशमा पर्छन् । त्यसैले किरात एउटा सभ्यता, संस्कृति, पहिचान र ऐतिहासिकता हो । कुनै एक जातिको बर्चस्वको अर्थमा किरात नामलाई लिन मिल्दैन । त्यसैले यही पहिचान, सभ्यता, संस्कृति र ऐतिहासिकताका आधारमा किरात प्रदेश राख्न सकिन्छ ।

दोस्रो विकल्प भनेको कोशी प्रदेश हो । यो क्षेत्र प्राचिनकालदेखि नै कौशिकी प्रदेश हो । कौशिकी क्षेत्र भएकैले यस क्षेत्रमा विभिन्न जातजातिको बसोबास भएर पनि एक प्रकारको समन्वयात्मक संस्कृति र सभ्यताको विकास भएको छ । कोशी (सप्तकोशी) नदीमा मिसिन आउने सातैवटा नदीहरु एक नम्बर प्रदेश भएरै आउँछन् र चतरा बराहक्षेत्र नजिक मिलेपछि सप्तकोशीमा परिणत हुन्छन् । सप्तकोशीमा मिसिने नदीहरुमा अरुण, बरुण, दूधकोशी, सुनकोशी, लिखु, तामाकोशी र तमोर हुन् । यी मध्ये धेरै पानी अरुण र तमोरमा छ । छोटो नाम बोलाउँदा कोशी मात्र भनिएको हो । कोशी भनेको किरात भाषामा नदी भनिएको हो । त्यसैले कोशी नाममा पनि किरात सभ्यता, संस्कृति, पहिचान र ऐतिहासिकता जोडिन्छ ।

किरात नाम राख्दा कुनै एक जातिको बर्चस्व र नाक ठूलो हुन्छ र अरु जातिलाई उनीहरुले होच्याएर हेर्न सक्छन् भन्ने तर्क राख्ने गरेको पाइन्छ । साथै १ नं. ले किरात नाम राख्यो भने नाम राख्न बाँकी प्रदेशमा यही जातिगत नामलाई आधार बनाएर ठूलै संघर्ष चर्किन्छ भनेर नेपाल सरकार चलाउनेहरु र प्रतिपक्षमा बसेकाहरुको पनि अर्को तर्क र विश्लेषण छ । विशेषगरी ३ नं. मा ताम्सालिंग र नेवा, ५ नम्बरमा मगरात, २ नं. मा मिथिला, अवधी र भोजपुरी जस्ता नामका लागि ठूलो संघर्ष हुने अवस्था आउँछ भन्ने डर छ । तर, पंक्तिकारका लागि दुबै नाम स्वीकार्य छन् र दुबै नामलाई इज्जत दिन चाहन्छ । अझ भोट हाल्न लाउने हो भने पंक्तिकारले किरात मा भोट हाल्छ । तर, प्रदेश सरकारको पछिल्लो गतिविधि हेर्दा कोशी नाममा सहमति हुने छाँट देखिएको छ ।

राजधानी :

अन्य प्रदेशका राजधानी उनीहरुले नै बनाउने र छलफल गर्ने भएकोले पंक्तिकार १ नं. प्रदेशमै केन्द्रित हुन्छ । १ नं. प्रदेशका लागि राजधानी तोक्ने अन्तिम कसरत भइरहेको छ । शायद यही बैशाख २२ गतेभित्र राजधानी तोकिने छ । राजधानी तोक्न अहिलेको प्रदेश सरकारलाई आफ्नै सांसदहरुबीचको विवादले समस्या भएको हो । सम्भावित राजधानीहरुमा विराटनगर, इटहरी, धरान र गोठगाउँ हुन् । यी मध्ये पूर्वाधार र क्षेत्रका हिसाबले, बजारका हिसाबले र राजधानीको संस्कृति भएको हिसाबले विराटनगर नै उपयुक्त हो । किनकि नेपालको दोस्रो राजधानी पहिला पनि विराटनगरलाई मानिएको हो । यस ठाउँको इतिहास २००७ सालदेखिकै हो ।

दोस्रो इटहरी । पूर्वको व्यापारिक र यातायातका दृष्टिले इटहरी केन्द्र पर्ने भएकोले यो पनि राजधानी बन्न लायक क्षेत्र हो । तर, यसमा राज्यले सबै पूर्वाधार बनाउनु पर्छ र सचिवालयका लागि प्रशस्त जग्गा पनि अधिग्रहण गर्नुपर्छ । जग्गा प्राप्ति यसको समस्या हो । यहाँ राजधानीमा हुने संस्कृति विकास भएको छैन । धरान, विराटनगरभन्दा सानो सहर हो । विराटनगर कुनामा परेको भन्नेका अगाडि धरान पनि कुनामा पर्न गयो । यहाँ पनि सचिवालयका लागि जग्गा प्राप्ती मुख्य समस्या छ । धनकुटा प्रदेशको राजधानीका लागि उपयुक्त ठाउँ होइन । यो जिल्लाको सदरमुकामकै लागि मात्र उपयुक्त छ ।

गोठ गाउँ जग्गा प्राप्त गर्न सहज ठाउँ हो । यहाँ जंगल फाँडेर पनि सचिवालय बनाउन सकिन्छ र त्यति नै संख्यामा अरु ठाउँमा रुख हुर्काएर वातावरण पनि कायम गर्न सकिन्छ । तर, सबै संरचना बनाउनुपर्छ । राजधानीको संस्कृति छैन । तर, इटहरी नजिक पर्ने भएकोले यसले इटहरीको राजधानी हुने भोक पनि शान्त पार्छ । पंक्तिकारले भोट हाल्नुपर्दा विराटनगरलाई हाल्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here