बाबुराम र उपेन्द्रको अब एउटै पार्टी, एकता अन्तिम चरणमा

0
471

काठमाडौं,

उपेन्द्र यादव नेतृत्वको सत्तारूढ दल सङ्घीय समाजवादी फोरम र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टीबीच एकता हुने भएको छ।

तीन महिनायता जारी वार्ता प्रक्रियाले केही दिनमै मूर्तरूप पाएर दुई दल एक हुने भएका हुन्। वैशाख २० र २१ गते बस्ने दुई दलको केन्द्रीय समिति बैठकले एकतामा जाने निर्णय गर्ने भएका छन्।

सम्भवत वैशाख २३ गते यी दुई दलबीच एकताको घोषणा हुने श्रोतले जनाएको छ।  उपप्रधानमन्त्री समेत रहेका यादव नेतृत्वको फोरम र भट्टराई नेतृत्वको नयाँ शक्तिबीच एकता प्रक्रिया अघि बढेको फोरमका निर्वाचन समितिकका प्रमुख शिवजी यादवले बताए।

यादवका अनुसार पार्टी एकता प्रक्रिया अघि बढेकाले केही दिनमै निचोड निस्कने छ। ‘शीर्ष नेताहरुबीच छलफल पनि भइरहेको छ’, फोरमका एक नेताले भने, ‘तर एकता कहिले गर्ने भनेर मिति तोकिएको छैन।’  दुई दलबीच एकताका लागि तीन महिनायता १२ पटक भन्दा धेरै वार्ता भइसकेको छ ।

सहमति अनुसार दुवै अध्यक्ष राखिनेछ । वरियतामा बाबुराम अगाडि हुनेछन्, त्यसपछि उपेन्द्र रहनेछन् भने तेस्रोमा अशोककुमार राई ।  दुई पार्टीले पार्टीको बैचारिक सिद्धान्त र झण्डामा करिब कुरा मिलाइसकेका स्रोतले जनाएको छ । नयाँ पार्टीको केन्द्रीय कमिटीको भागवण्डा पनि दुई दलले विभाजन गरिसकेका छन् ।

‘सबै कुरा मिलिसकेको छ, तर केही प्राविधिक कुरा मिलाउन बाँकी छ’, फोरमका एक नेताले भने, ‘बुधबारै एकताबारे संयुक्त विज्ञप्ती निकाल्ने कुरा थियो तर केही कारणले यो रोकिएको छ ।’ निर्वाचनका समयमा फोरम र नयाँ शक्तिबीच एकता गर्ने प्रयास भएको थियो। तर नेतृत्व विवादका कारण सफल हुन सकेको थिएन।

अहिले एकता प्रक्रिया निकै अगाडि बढेको छ। स्रोतका अनुसार नयाँ पार्टीमा दुई अध्यक्ष राख्ने सहमति नजिक नेताहरू पुगेका छन्। दुई अध्यक्षमा कुरा नमिले एकजनालाई वरिष्ठ नेता बनाउने तयारी छ। फोरम श्रोतले डा. भट्टराई वरिष्ठ नेता हुने दाबी गरेको छ।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here