दमक।
कात्तिक अन्तिम र मंसीर १ गते धान रोपेको देख्दा धेरैलाइ अचम्म लागेको थियो । अहिले त्यो धान मज्जाले फलेपछि स्थानीय सबै छक्क परेका छन् ।
झापाको कचनकवल–४ पाठामारीका किसान नासिर मियाले यस क्षेत्रमा पहिलो पटक तीनबाली धान भित्र्याएका हुन् । उनले बर्षमा तीन पटकसम्म धानबाली लगाउन सकिन्छ भन्ने उदाहरण दिँदै त्यो प्रमाणित गरेर समेत देखाएका छन् ।
‘कात्तिकको अन्तिम दिन र मंसीर १ गते धान रोप्न खोज्दा शुरुका दिनमा त सबैले अचम्म माने तर मलाइ विश्वास थियो यो सफल हुन्छ’ –मियाले भने । खेत नजिकै रहेको स्थानीय झिङ खोलाको किनारमा मियाले बीऊ राखेर कात्तिक मसान्त र मंसीर १ गते धान रोपेका थिए । जुन धान उनले गत शनिबार काटेका छन् ।
आफ्नो तीन कठ्ठा र बाँकी सबै साहुको जमिनमा खेती गरेका मियाले मंसीरमा धान रोपेर बैशाखमा, जेठमा धान रोपेर भदौमा र भदौ अन्तिममा रोपेर मंसीरमा धान थन्क्याएका हुन् । उनले हर्दिनाथ १ जातको धान दुई बिगाह जमिनमा रोपेका थिए । सिँचाइका लागि सानो एक इञ्चको मोटर राखेको र निरन्तर चलाउँदा मुस्किलले मात्र सिँचाइ भएको उनले बताए ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना, धान सुपरजोन कार्यन्वयन इकाइ, बनियानीले यसको उत्पादकत्व लगायतको बिषयमा अध्ययन समेत गरेको छ । कृषि विकास अधिकृत सागर बिष्टका अनुसार १० वर्गमिटर धानको ताजा तौल ७ दशमलव २ केजी पाइएको छ । यसमा चिस्यान २३ दशमलव ०५ प्रतिशत रहेको उनले बताए । उत्पादकत्व प्रति विगाह १ सय ७ दशमलव ३ रहेको पाइएको उनको भनाइ छ ।
यस क्षेत्रमा तीनबाली धान लगाउने किसान मियामात्रै भएको जनाउँदै यो उत्पादनलाई हेर्दा निक्कै राम्रो पाइएको बिष्टको भनाइ रहेको छ । ‘बैशाखको दिनमा समेत धान फलेको देख्दा धेरैलाई अचम्म लाग्नु स्वभाविक हो, तर गर्दा हुँदोरहेछ भन्ने यसले प्रमाणित गरेको छ’ –उनले भने । यसबाट यस क्षेत्रमा तीनबाली धान लगाउन सकिन्छ भन्ने देखिएको र यसमा किसानहरुलाई प्रोत्साहित गर्ने कार्यक्रम ल्याउने पनि उनले बताए ।
शुरुवातका दिनमा एकबालीमात्र धान खेती गर्दै आएका स्थानीयहरु पछिल्लो समयमा दुई बालीसम्म धान लगाउन थालेपछि तीनबाली धान लगाइएको यो पहिलो भएको धान सुपरजोन कार्यन्वयन इकाइ, बनियानीका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत धनबहादुर थापाले बताए ।
‘किसानमा इच्छाशक्ति र सिँचाइको ब्यवस्था भएमा तीनबाली धान लगाउन सकिन्छ भन्ने यो उदाहरण हो’ –उनले भने– ‘मौसमले हामीलाई साथ दियो र मौसम अनुसार बीऊ किसानलाई उपलब्ध गराउने हो भने तीन बाली सजिलै लगाउन सकिन्छ । अहिले एउटा किसानले गरेको या ेकार्यलाई विस्तार गर्नका लागि हामी कार्यक्रम ल्याउछौं ।’ –थापाले भने