यौनबद्र्धक औषधिसहित पक्राउ परेका धरौटीमा छुटे

0
678

प्रतिबन्धित औषधिको खुलेआम तस्करी

झापा।

खुल्ला सीमानाको फाइदा उठाउँदै दक्षिणी झापाको सीमावर्ती क्षेत्रबाट नेपालमा प्रतिवन्धित औषधि खुलेआम भित्रिने गरेको छ ।

सरकारले पैठारी र प्रयोगमा नै प्रतिबन्ध लगाएका औषधि सीमा नाका हुँदै नेपालतर्फ आउने गरेको दक्षिणी झापाको कचनकवल गाउँपालिकाबाट प्रहरीले प्रतिबन्धित औषधि कारोवारमा संलग्नलाई पक्राउ गरेसँगै सार्वजनिक भएको हो । तर, पक्राउ परेका प्रतिबन्धित औषधि कारोवारमा संलग्नलाई प्रहरीले न्यून धरौटीमा छाड्ने गरेको छ । लाखौं रुपैयाँको प्रतिवन्धित औषधि पक्राउ गर्दा समेत प्रहरीले न्यून धरौटीमा त्यस्तो कारोवारमा संलग्नलाई छाड्दा तस्करी मौलाउने गरेको सरोकारबालाले बताएका छन् ।

ठूलो परिमाणमा नेपालमा प्रतिबन्धित भारतीय ब्राण्डका यौनवद्र्धक औषधिसहित अघिल्लो महिना प्रतिबन्धित औषधि कारोवारमा सम्लग्नलाई प्रहरीले पक्राउ गरेको थियो । तर, उनीहरु ३०–३० हजार रुपैयाँ धरौटीमा छुटेका छन् ।

भारतीय ब्राण्डका यौनवद्र्धक औषधिसहित पक्राउ परेका बाह्रदशी गाउँपालिका–४ बस्ने २४ बर्षीय सम्दान हुसेन, सोही ठाउँका २२ बर्षीय इतियाज आलम, २८ बर्षीय ताहिर आलम र भारत जंगपुरी दिल्ली घर भई हाल काठमाडौं जोरपाटी बस्ने ३२ बर्षीय फुन्चोक लामा ३०–३० हजार धरौटीमा छुटेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

पक्राउ परेका उनीहरुले नेपाल सरकार र औषधि व्यवस्था बिभागको आदेश र अनुमति बिना भारतीय ब्राण्डका औषधि नेपाल भित्र्याएको जिल्ला प्रहरी कार्यालय झापाले पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरेको थियो ।

प्रहरीले प्रतिवन्धित औषधि नेपाल भित्र्याउँदै गरेको अवस्थामा कचनकवल गाउँपालिका–१ कुटीबाट कारोवारमा संलग्नलाई प्रतिवन्धित औषधिसहित पक्राउ गरेको थियो । उनीहरु धरौटीमा रिहा भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

प्रहरीले औषधि तस्करीमा संलग्न भारतीय नागरिकसहित दुई वटा मोटरसाइकल र एउटा मारुती भ्यान समेत नियन्त्रणमा लिएको थियो । भारतको किसनगञ्ज जिल्लास्थित डिगलबैंक र धनतोला हँुदै झापाको कचनकवल र बाह्रदशी नाकाबाट नेपाल भित्र्याइएको १४ कार्टुन अर्थात् नेपाली बजार मूल्यमा २२ लाखभन्दा बढीको औषधि बरामद गरिएको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक (एसपी) दिनेश मैनालीले सार्वजनिक गरेका थिए ।

औषधि लोड गरिएको मे१च ४०६३ नम्बरको मारुती भ्यान, मे६प १०१६ नम्बरको मोटरसाइकल र भारतीय नम्बर प्लेट भएको वीआर ३७ जी १४४० मोटरसाइकल नियन्त्रणमा लिइएको पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक मैनालीले सार्वजनिक गरेका थिए ।

बरामद गरिएको औषिधमा ब्रेष्ट्रिम आयल ७९९ थान, ओर्लिमेक्स ३३५ स्टीप, फलोमिस्ट नोजल स्प्रे ९६० थान, केयरप्रोस्ट १००० थान, जुरिज (८०) ४०५ बट्टा, फोरड्रम १२०० थान, पी फोरस ९९० स्ट्रीप, भियाग्रा १००० स्ट्रीप रहेको थियो । यी औषधिमध्ये अधिकांश औषधि व्यवस्था बिभागमा दर्ता नभएको र नेपालमा प्रतिबन्धित भएको औषधि व्यवस्था बिभाग बिराटनगरका प्रमुख आशा थापाले बताएकी थिइन् । प्रतिबन्धित औषधि कारोवारमा सम्लग्नले सबै औषधि काठमाडौं लैजान लागेका थिए ।

कचनकवल गाउँपालिका–१ घेरावारीमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीकै मिलेमतोमा उक्त प्रतिवन्धित औषधि कारोवारमा सम्लग्नले नेपाल भित्र्याए पनि भागवण्डा नमिल्दा औषधि पक्राउ परेको स्रोतले जनाएको छ । प्रहरी श्रोतका अनुसार राजगढका एक स्थानीयले कस्मेटिक सामान ल्याउने भन्दै प्रहरीसँग सेटिङ मिलाएर प्रतिवन्धित औषधि नेपाल भित्र्याएका थिए ।

इलाका प्रहरी कार्यालय राजगढका प्रहरी सहायक निरीक्षक सकिलदेव चौधरी र सशस्त्र प्रहरी सीमा सुरक्षा बल घेरावारीका प्रहरी निरीक्षक टीकाराम खतिवडाले औषधि भित्र्याउन सहयोग गरेको प्रहरी श्रोतले नै दावी गरेको छ ।

प्रतिबन्धित औषधि बरामद भएको दिन सशस्त्र प्रहरी निरीक्षक खतिवडा कार्यालयमा थिएनन्– एक प्रहरी भन्छन्– ‘इलाका प्रहरी कार्यालय राजगढका प्रहरी सहायक निरीक्षक चौधरीले औषधि भित्र्याउन अनुमति दिएपछि औषधि भित्रिएको थियो । तर, सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच कुरा नमिलेपछि औषधि पक्राउ गरिएको हो ।’ अहिले पनि सो क्षेत्रबाट प्रहरीकै मिलेमतोमा औषधिसहित लागूऔषध, कपडा, छाला, मोटरपाट्र्स, पशुचौपाया, ब्रोइलर कुखुरा, हार्डवेयरका सामग्री, चराको प्वाँखबाट बनेको सिरक लगायतका सामग्रीको अबैध कारोवार हुने गरेको छ । प्रहरी श्रोतका अनुसार कारोवारमा संलग्नले इलाका प्रहरी कार्यालय राजगढसहित सशस्त्र प्रहरी कार्यालय घेरावारी, अस्थायी प्रहरी चौकी कुटी, पिण्डलवारी, घेरावारी प्रहरी चौकीलाई मासिक लाइन बुझाउँदै आएका छन् ।

कारोवारमा संलग्नले कहिले केचनाबाट भित्र्याएको अवैध सामग्री सो बाटोबाट ल्याउँछन् भने कहिले सुरिभिट्टा, कद्दुभिट्टा हुँदै घेरावारीबाट सिघै बिर्तामोडसहित काठमाडौंसम्म लाने गरेको बताइन्छ । एक प्रहरी भन्छन्– ‘आँखै अगाडिबाट अवैध सामान खुलेआम नेपाल भित्रिन्छ, तर चेन अफ कमाण्डका कारण हामी केही गर्न सक्दैनौं । अफिसरले जता ड्युटी खटाएको हुन्छ त्यतै जाने हो ।’

प्रहरीले साना केरियरबाट समेत खुलेआम लाइन उठाउने गरेको उनको भनाइ छ । साइकलबाला केरियरले समेत मासिक तीन हजार दिन्छन् उनी भन्छन्– ‘साइकलवाला केरियरले ल्याएको सवै सामग्री राजगढमा भण्डारण हुँदै अन्यत्र जाने गरेको छ ।’

प्रहरीले घेरावारी हुँदै नेपाल भित्रिएको यौनवद्र्धक औषधिसहित विभिन्न ब्राण्डका आयुर्वेदिक र एलोपेथिक औषधिसहित चार जनालाई पक्राउ गरेको घटना सेलाउन नपाउँदै सशस्त्र प्रहरीले गत चैतमा नै केचनाबाट करिब एक लाख रुपैयाँको एलोपेथिक औषधिसहित दुई जनालाई पक्राउ गरेको थियो । तर, पक्राउ परेका दुवै जना २५÷ २५ हजार धरौटीमा रिहा भएका छन् । एक प्रहरी भन्छन् – यी दुईवटा घटनाबाटै थाह हुन्छ प्रहरीको सेटिङ बिना यतिधेरै सामग्री भित्र्याउने आँट कसले गर्ला ? उनले उल्टै प्रश्न गरे ।

भारतीय ब्राण्डका ट्रामाडोल हाइड्रोक्लोराइड नामक प्रतिबन्धित औषधिसहित हल्दिवारी–४ बस्ने ३५ बर्षीय जीतबहादुर राजवंशी र बिर्तामोड–५ बस्ने ३९ बर्षीय राजेन्द्र लिम्बू केचनाबाट गत चैतमा पक्राउ परेका थिए । मे१०प १३३९ नम्बरकोे मोटरसाइकलमा सवार दुवै जना भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा कचनकवल–३ बगानस्थित नेपाल–भारत मुख्य सीमा स्तम्भ नम्बर १२२बाट १०० मिटर उत्तरतर्फ सवारीसाधन चेकजाँचको क्रममा औषधिसहित पक्राउ परेका थिए ।

उनीहरुका साथबाट ५ सय फाइल अर्थात् १५ हजार क्याप्सुल ट्रामाडोल हाइड्रोक्लोराइड नामक प्रतिबन्धित औषधि फेला परेको थियो ।
पूर्वी नाकामा प्रहरीले कडाई गरेपछि लागूऔषध कारोवारमा संलग्नले अहिले सो नाकासहित दिघलवैंक हुँदै झापा बजारको बाटो भएर कारोबार गर्दै आएको बताइन्छ । कारोवारमा सम्लग्नले इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र सीमा सुरक्षा बल टाघनडुब्बालाई समेत लाइन मिलाउने गरेको प्रहरी श्रोतले जनाएको छ ।

पछिल्लो समय दक्षिणी नाकाबाट तस्करी मौलाए पनि जिल्ला प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानसहित नियमनकारी निकाय मौन रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here