काठमाडौँ,
किरात राई यायोक्खाले प्रदेश नं १ को नाम किरात राख्न माग गरेको छ ।
किरात शब्दले बहुपहिचान झल्किने भएकाले प्रदेश नं १ को नाम किरात राख्न प्रदेशका आम भूगोलवासीलाई सहयोग र समर्थन गर्न यायोक्खाले आग्रह गरेको छ ।
प्रदेशको नामलाई लिएर यायोक्खाले बिहीबार गरेको पत्रकार सम्मेलनमा एक नम्बर प्रदेशको नाम किरात नराखे आन्दोलन हुने चेतावनी दिएका हुन् ।
यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईले उक्त प्रस्तावमाथि समर्थन वा सहयोग गरिदिन प्रदेश नं १ का सांसद, मुख्यमन्त्री, मन्त्रीहरु, सभामुख र सांसदहरुलाई ध्यानाकर्षण गराउँदै आएको जानकारी दिए ।
‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवन पद्धति हो’, उनले भने । इतिहास र सभ्यताको सबैले सम्मान गर्नुपर्ने उल्लेख छ । किरात शब्दले बहुपहिचान झल्किने दाबी गर्दै प्रदेश नाम राख्न आम भूगोलवासीलाई सहयोग र समर्थन गर्न आग्रह गरिएको यायोक्खाका महासचिव जनक राईले बताए ।-थाहाखबरबाट
























