निकास बिनाको विकास चल्न छाडे सवारीसाधन

0
466

भद्रपुर।

निकास बिनाको विकास जस्तै भएको छ– भद्रपुरस्थित मेची पुल । सडक निकास बिनै प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १७ गते निक्कै तामझामका साथ मेची पुलको उद्घाटन गरेका थिए ।

पुल उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस बेला बोले– ‘बाटो बिनाको पुल कतै बनेको देख्नुभएको छ, बाटो बन्छ यसको लागि भारतीय प्रधानमन्त्रीसँग म सहकार्य गर्छु र बाटो बनाएरै छाड्छु ।’ प्रधानमन्त्रीले ओलीले यो शब्द बोलेको पनि तीन महिना बित्यो । त्यसपछि भारतमा लोकसभा निर्वाचनको चहलपहल शुरु भयो र मेची पुलको कथा सेलायो ।

बाटो निकास बिनाको पुलमाथिबाट हलुका चारपांग्रे, तीन पांग्रे, दुई पांग्रे र पैदलयात्री आवतजावत गरिरहेका थिए । चारपांग्रे सवारीसाधन गन्तव्यमा पुग्न मेची नदीको बालुवा र बिहार पक्षले बनाएको ग्राभेल सडक भएर आवतजावत गरिरहेका थिए । तर, विहीवार राति केही घण्टा परेको पानीले पुल छेउमै बनाइएको ग्राभेल सडक भत्काइदिएको छ । गाडी कुद्ने मेची नदीको बगरमा समेत पानी जमिसकेको छ । भारततर्पmको ग्राभेल सडक भत्किँदा शुक्रवारदेखि चार पांग्रे हलुका सवारीसाधनको आवागमन ठप्प भएको छ ।

बैशाखको दोस्रो सातामै बनाइएको ग्राभेल सडक भत्किँदा अबको चार महिना के होला भन्दै सवारीधनी र स्थानीय चिन्तित बनेका छन् । भारततर्फ सडक भत्किएपछि शुक्रवार हुलका सवारीसाधन भारत जान काँकरभिट्टाको मेची पुल प्रयोग गर्न बाध्य भए ।

मेची पुल बनेपछि भद्रपुरमा हलुका सवारीसाधनको चाप ह्वात्तै बढेको थियो । दैनिक एक सयदेखि डेढ सयसम्म भारतीय र नेपाली नम्बर प्लेटका सवारीसाधन मेची पुल प्रयोग गरी आवतजावत गर्दै आइरहेका थिए । भारततर्फ बनाइएको ग्राभेल सडक पानीले भत्काइ दिएपछि शुक्रवार बिहानदेखि चारपांग्रे सवारीसाधन ठप्प भएको स्थानीय बिक्रम सहनीले बताए । ‘बिहानदेखि पुलसम्म आएर धेरै गाडी फर्किए’– उनले भने– ‘पारि बाटो भत्किएको चालकलाई थाह भएन्, उनीहरु पुलमा आउने र जाने क्रम दिनभर चलिरह्यो ।’

‘मेची पुल त बन्यो तर यहाँका जनताको दुःख अझै टरेको छैन’– स्थानीय मोहित शर्माले भने– ‘पारि सडक भत्किँदा अब भारत जान फेरि काँकरभिट्टा पुग्नुपर्ने भयो, अहिले नै यस्तो छ, झन बर्खाको समयमा के होला ? केही समयअघि मात्र मेची पुल पूर्ण सञ्चालनमा देखिएको समस्या समाधान लगायतका विषयमा ध्यानाकर्षण गराउन झापाका संसादसहितको सर्वपक्षीय टोलीले प्रधानमन्त्री र विभागीय मन्त्रीहरुलाई भेटेर ध्यानाकर्षण गराएको थियो । तत्काल उक्त विषयमा काम अघि बढाउने आश्वासन दिएको बुझिएको छ ।

५६० मिटर लम्बाइ र ९.८ मिटर चौडाईको १७ पिलरसहितको मेची पुल ३५ करोड ९५ लाख रुपैयाँको लागतमा ९ बर्षमा बनेको हो । अहिले मेची पुल प्रयोग गर्ने हलुका सवारी ठप्प भएपछि मोटरसाइकल, साइकल र पैदलयात्री पुल प्रयोग गरी आवातजावत गरिरहेका छन् । मोटरसाइकललाई समेत आवतजावजत गर्न कठिनाई भइसकेको छ । अरु केही दिन यसरी नै पानी परे दुई पांग्रे सवारीसाधन पनि ठप्प हुन्छन् ।

एसएसबीले राख्न दिएन ह्युम पाइप

भारततर्फको सडकले निकास नपाउँदा चार पांग्रे सवारीसाधन गन्तव्य पुग्न मेची नदीको बगर भएर आवतजावत गर्दै आइरहेका थिए । हिउँदमा जसोतसो चलेका सवारीसाधन बर्खा लागेपछि ठप्प हुने देखिएपछि भारततर्फको सडक बनाउन बिहार गलगलियाका जनप्रतिनिधि, स्थानीय र व्यापारी ताते ।

किशनगञ्ज जिल्ला भातगाउँ ग्राम पञ्चायतले करिब ७ लाख आन्तरिक बजेट निकासा गरी मेची पुल जोड्न बालुवा र माटोसहितको ग्राभेल बाटो बनाउन काम शुरु गरे । बिहार पक्षले बंगाल छोएर ग्राभेल सडक बनाउन खोज्दा भारतीय नै बिरोधमा उत्रिए । पश्चिम बंगालको भूभाग भएर सडक जोड्न खोज्दा बंगालका केही स्थानीय र व्यापारी बिरोधमा उत्रिए । बंगालको व्यापार, व्यवसायमा असर पर्ने भएकाले बंगाल पक्षले सडक बनाउन अवरोध गरेको बुझिएको छ । बंगालले बिरोध गरेपछि बिहार पक्षले नेपालका जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षाकर्मीसँग सहकार्य गरी ग्राभेल सडक बनाएर छाडे । तर, बनाइएको सडकले बंगाल छोएको छैन ।

सडक बिहारबाटै घुमाएर नेपाली सीमा क्षेत्रसम्म ल्याइएको छ । पारिपट्टि मेची पुलको सडकदेखि बिहार पक्षले बनाएको सडक ५० मिटर खाली छ । त्यस खाली क्षेत्रमा ह्युम पाइप राखेर जोडेपछि मात्र ग्राभेल सडकले पूर्णता पाउँछ । तर, सीमा क्षेत्रको पिलर नजिकै ह्युम पाइप राख्न नपाइने भन्दै भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले दिएको छैन । जसले गर्दा ग्राभेल सडकको काम पनि अधुरो भएको छ । यस बिषयमा भारत र नेपाल दुवै देशका जनप्रतिनिधिले पटक–पटक छलफल गरी बाटोलाई निकास दिन पहल गरे पनि टुंगो लगाउन सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here