नुवाकोट,
विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त अवस्थाका जोखिमयुक्त संरचना हटाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीलाई निर्देशन दिएको छ ।
विसं २०७२ वैशाख १२ मा गएको भूकम्प र त्यसपछिका पराकम्पका कारण भौतिक संरचना गुमाएकालाई लाभग्राही कायम गरी नयाँ संरचना बनाउन अनुदान उपलब्ध गराउँदै आएकाले जोखिम संरचना हटाउन प्राधिकरणले ताकेता गरेको हो ।
प्राधिकरणले जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा भौतिक पूर्वाधार) कार्यालयमार्फत भूकम्प प्रभावित ३२ जिल्लामा भूकम्पका कारण घर क्षति ब्यहोरेकालाई नयाँ घर बनाउन रु तीन लाख अनुदान उपलब्ध गराउँदै आएको छ ।
अनुदान लिएर नयाँ घर बनाएका लाभग्राहीले भूकम्पले जोखिम बनाएका संरचनामा अझैसम्म बसोबास गर्दा थप जनधनको क्षति हुनसक्ने भन्दै त्यस्ता संरचना ३५ दिनभित्र हटाउन लाभग्राहीलाई प्राधिरकणले समयसीमा दिएको हो ।
क्षतिग्रस्त र जोखिमयुक्त संरचनाको प्राविधिक जाँच गरेर त्यस्ता संरचना हटाउन एवं भत्काउन आदेश दिइसकेकाले कार्यान्वयनको चरणमा अघि बढेको एकाइका नुवाकोट प्रमुख बिकी लाखाले बताउनुभयो ।उहाँको अनुसार प्राधिकरणले जारी गरेको सूचनाको अटेर गरेमा कार्यालयले नै हटाएर त्यसवापत लाग्ने खर्च सम्बन्धित घरधनीबाट असुल गर्ने कानूनी व्यवस्था रहेको छ ।
नुवाकोटमा भूकम्पका कारण क्षति पुगेका करीब ७६ हजार निजी आवासमध्ये हालसम्म ४४ हजारभन्दा बढी घर सरकारी अनुदानमा निर्माण सम्पन्न भएका छन् ।नयाँघर निर्माण गरेका लाभग्राहीले हाल बनाएको घरमा बसोबासका लागि स्थान अभावलगायतका बाहनामा क्षतिग्रस्त संरचनाको भवन अझै प्रयोग गर्दै आएका अनुगमनमा पाइएपछि त्यस्ता संरचना हटाउन निर्देशन दिइएको हो । जिल्लामा करीब २० हजार घर जोखिम तथा क्षतिग्रस्त अवस्थाका रहेका अनुमान छ ।