गरिबलाई घर बनाइदिँदै दमक नगरपालिका

0
620

झापा,

झापाको दमक नगरपालिकाले नगरभित्रका बिपन्न घरबारविहीन परिवारका लागि बिपन्न आवास निर्माणको काम शुरु गरेकाे छ।

नगरपालिकाले दमक १ स्थित रतुवा खोला किनारमा विपन्न परिवारका लागि घर बनाउन थालिएको हो।  दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार चालु आर्थिक वर्षमा २३ वटा घर बन्ने छन्।

बिपन्नता परिचय वितरणको काम समेतसँगै बढाएको र अति बिपन्न छनाेट भएकालाई प्राथमिकतामा राखेर घर हस्तान्तरण गरिने उनले जानकारी दिए। विपन्न आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष हरी न्यौपानेका अनुसार उपभोक्ता मार्फत ८ वटा घर बन्नेछन् भने नगरपालिकाले ठेक्का प्रक्रियामा गएर थप घरहरू बनाउने तयारी रहेको छ।

३ महिनाभित्रमा १ करोडको लागतमा ८ वटा घर बनाइसकेर हस्तान्तरण गर्ने योजना रहेको उनले बताएका छन् । संसदीय क्षेत्र पूर्वधार विकास कार्यक्रमअन्तर्गत झापा क्षेत्र ५ का सांसद एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टयाएको एक करोड ४० लाख, प्रदेश सरकारले दिएको ससर्त अनुदान एक करोड ३० लाख र नगरपालिकाले छुट्याएको एक करोड गरेर ३ करोड ७० लाख विपन्न आवास कार्यक्रमका लागि बजेट रहेको नगरपालिकाले जनाएको छ।

सडक, बिजूलीबत्ती, ढल लगायतका सबै सुविधासहितको घर बन्ने दमक नगरपालिकाका इन्जिनियर तीर्थनारायण श्रेष्ठले जानकारी दिएका छन्।

एक साथ ६ वटा योजना 

दमक नगरपालिकामा एकसाथ ६ ओटा विकास निर्माणका योजना शुरु भएका छन्। वडा १ मा नमूना बस्ती, नगरप्रहरी व्यारेक, वडा ५ मा गंगा मार्ग स्तरोन्नति, सोही वडामा दिपेनी कल्भर्ट निर्माण, वडा १ र ७ मा पर्ने सिरपाली मार्गमा ढल तथा कालोपत्रे र वडा ४ मा अर्नाखाडी धिमाल ग्रामथान भवन तथा कम्पाउड निर्माणको काम शुरु भएको हो।

यी योजना निर्माणका लागि ठेक्का समेत लागि सकेको नगरपालिकाले जनाएको छ। तीमध्ये वडा.१ मा २३ ओटा नमुना भवनसहितको वस्ती निर्माण हुने छ। ती मध्ये ८ वटा उपभोक्ता समिति र १५ वटा ठेक्कामार्फत निर्माण हुने नगरप्रमुख रोमनाथ ओलीले जानकारी दिएका छन्। दुई करोड १८ लाख ५५ हजार रुपैयाँमा ठेक्का मार्फत हुने कामको जिम्मा प्रविण निर्माण सेवाले पाएको छ।

६६ लाख ८७ हजार रुपैयाँमा बन्ने नगरप्रहरी व्यारेक तथा ६० लाख २३ हजार रुपैयाँ बराबरको गंगा मार्ग स्तरोन्नतिको काम विश्व ट्रेड कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको छ।

यस्तै २५ लाख २८ हजार रुपैयाँको दिपेनी कल्भर्ट र ७६ लाख ७० हजार रुपैयाँ बराबरको ग्रामथानको काम एन एण्ड सी निर्माण सेवा गर्ने नगरपालिकाले जनाएको छ। सिरपाली मार्गमा १ करोड ३ लाख रुपैयाँ बराबरको काम भने शुभनवरङ कन्स्ट्रक्सनले गर्ने भएको छ।

कवर्ड हल बन्दै

पूर्वाधार निर्माण थपिने क्रममा दमक ९ मा कवर्ड हल निर्माण थालिएको छ। नारायण ज्योति बहुउद्देश्यीय कर्वड हलको नाममा निर्माण थालिएको हो।

नेपाल प्रहरीको पूर्व अतिरिक्क्त प्रहरी महानिरीक्षक (एआइजी) अमरसिंह शाहले उनका बाबु आमाको स्मृतिमा जग्गा उपलव्ध गराएकाले उनकै बाबुआमाको नाममा कवर्ड हलको नामाकरण गरिएको हो।

शाहले कवर्ड हल निर्माणले नगरको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।  निर्माण कार्य ३ वर्षभित्र पूरा हुने नारायण ज्योति बहुद्देश्यीय कर्वड हल निर्माण उपभोक्ता समिति दमकका सचिव अरुण अधिकारीले बताए। हाल ५० लाख रुपैयाँ राष्ट्रिय खेलकुद परिषदले दिएको रकमबाट घेरावाराको काम शुरु भएको हो।-थाहाखबरबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here