चालक र सहयोगीमा आफ्नै नाम राखेर चार स्वकीय कर्मचारीको तलब बुझ्दै राष्ट्रिय सभा अध्यक्ष

0
324

काठमाडौं ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चार स्वकीय कर्मचारीको सूचीमा आफ्नै नाम राखेर ऐनविपरीत सुविधा लिँदै आएका छन् । तिमिल्सिनाले दुई सवारीचालक र दुई कार्यालय सहयोगीको ठाउँमा आफ्नै नाम उल्लेख गरेर तलब सुविधा बुझ्ने गरेको खुलेको हो । जब कि उनले संसद् सचिवालयबाट बेग्लै चालक प्रयोग गरिरहेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘अध्यक्षज्यूको गाडी अधिकांश समय संसद् सचिवालयकै चालक सलामसिंह लामाले चलाउँछन् । अध्यक्षकै सेवाका लागि भनेर लामालाई तोकिएको छ । तर, सचिवालयबाट हरेक महिना निजी सवारीचालक शीर्षकमा अध्यक्षकै खातामा रकम गइरहेको छ,’ संघीय संसद् सचिवालय स्रोतले भन्यो, ‘अध्यक्षज्यूले चारैजनाको पारिश्रमिक आफ्नै खातामा राखिदिन भनेकाले त्यसै गरेका हौँ । पुसदेखि चैतसम्मको उनीहरूको पारिश्रमिक पनि उहाँकै खातामा जम्मा भएको छ ।’

नयाँ पत्रिकालाई प्राप्त प्रमाणअनुसार तिमिल्सिनाले प्रतिचालक मासिक १८ हजार तीन सय ४० र प्रतिकार्यालय सहयोगी १६ हजार दुई सय ३० रुपैयाँ तलब बुझिरहेका छन् । चारजनाको कुल तलब मासिक ६९ हजार एक सय ४० रुपैयाँ हुन्छ ।

संसद् सचिवालयले गत पुसदेखि सांसद तथा पदाधिकारीका स्वकीय सचिवालयका कर्मचारीको तलब सम्बन्धितकै खातामा जम्मा गर्ने व्यवस्था गरेको थियो । ऐनअनुसार संघीय संसद्का सभामुख र अध्यक्षको स्वकीय सचिवालयमा सात कर्मचारीको सुविधा हुन्छ । अध्यक्ष तिमिल्सिनाका प्रमुख स्वकीय सचिव गोविन्द अकेला, स्वकीय सचिवद्वय मनबहादुर क्षेत्री र कृष्णमणि बराल तथा कम्प्युटर अधिकृत उदय तिमिल्सिनाको व्यक्तिगत बैंक खाता नम्बर सचिवालयलाई प्राप्त छ । तर, दुई हलुका सवारीचालक र दुई कार्यालय सहयोगीको नाममा भने ‘गणेशप्रसाद तिमिल्सिना’ नै उल्लेख छ ।

संसद् सचिवालयस्थित सवारीसाधन व्यवस्थापन शाखा प्रमुख कान्छा दुलाल भने अध्यक्षले सचिवालयको चालक प्रयोग नगरेको बताउँछन् । अध्यक्षको निजी चालक लापसाङ तामाङ भएको उनको दाबी छ । ‘अध्यक्षको गाडी चलाउन सचिवालयको चालक छुट्याएको छैन,’ दुलालले भने । तर, बुधबार उनले दाबी गर्दै गर्दा शाखामा आइपुगेका सचिवालयका चालक सलामसिंह लामाले दुलालको दाबीलाई झुट पुष्टि गरिदिए । दुलालले कहाँ गएर आउनुभयो भनेर सोधेको प्रश्नमा सलामसिंहले जवाफ फर्काए, ‘राष्ट्रपतिको विदेश सवारी थियो, अध्यक्षज्यूलाई एयरपोर्ट पुर्‍याएर आएँ ।’ नियमअनुसार सचिवालयकै सवारी प्रयोग गरे निजी सवारीचालक शीर्षकमा रकम बुझ्नै मिल्दैन ।

संघीय संसद्का पदाधिकारी, सदस्य तथा कर्मचारीको पारिश्रमिक तथा सेवासुविधाको कारोबार एभरेष्ट बैंकबाट हुँदै आएको छ । तिमिल्सिनाले आफ्ना सचिवालयका चार कर्मचारीको तलब आफ्नै खातामा जम्मा गरिदिन सचिवालयलाई निर्देशन दिएकाले हालसम्म सच्याउने कुनै प्रक्रिया नरहेको सचिवालय स्रोतले जनायो । तर, अब सबैको खाता राष्ट्रिय वाणिज्य बैंकमा खोलिने सचिवालय प्रवक्ता डा. रोजनाथ पाण्डेले बताए ।

‘निजी बैंकमा कारोबार भएको भनेर मिडियामा आएपछि संसद्को व्यवस्थापन बोर्डबाट नै राष्ट्रिय वाणिज्य बैंकमा खाता खोल्ने र त्यहीँबाट कारोबार गर्ने भन्ने निर्णय भएको छ । अब अध्यक्षज्यूको पनि स्वकीय सचिवालयका सबै कर्मचारीको बैंक खाता खोलिन्छ,’ प्रवक्ता पाण्डेले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here