गिटी वालुवा बेच्ने जनप्रतिनिधिकै तयारी !

0
513

बिर्तामोड, गाउँपालिकाको सडक निर्माणका लागि खोलाबाट उत्खनन गरिएको ठूलो परिणामको नदीजन्य सामग्री जनप्रतिनिधिको मिलेमत्तोमा बिक्रीका लागि अन्यत्रै थुपारेको फेला परेको छ ।
हल्दिवारी गाउँपालिका– १ का वडाध्यक्ष त्रिलोचन सापकोटा र कार्यपालिका सदस्य सागर पोर्तेलको मिलेमत्तोमा झण्डै तीनसय टिपर नदीजन्य सामग्री अन्यत्तै फेला परेको गाउँपालिका अध्यक्ष रबीन्द्र लिङ्देनले बताए । देवनिया खोलाबाट निकालिएको नदीजन्य सामग्री समग्र गाउँपालिकाको सडक स्तरोन्नतिका लागि प्रयोग गर्नु पर्नेमा वडा नम्वर २ र ३ का केही सडकमा प्रयोग गरेको र अन्य सबै सामग्री सापटी पुल नजिकैको प्लटिङमा डम्पिङ्ग गरेको अवस्थामा फेला परेको अध्यक्ष लिङ्देनले बताए । उनले भने –‘ सडकको स्तरोन्नतिका लागि खोलाबाट उठाइएको सामग्रीको सही प्रयोग नभएको र बिक्री गर्ने उद्देश्यले अन्यत्रै राखिएको गुनासो आएपछि अनुगमन गर्दा यस्तो पाइएको हो । यस विषयमा गाउँपालिकाले छानविन शुरु गरेको छ ।’
वडा अध्यक्ष र कार्यपालिका सदस्यकै मिलेमत्तोमा यस्तो कार्य भएको गुनासो आएपछि गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समिति संयोजक डम्वर गिरी नेतृत्वको टोलीले नदीजन्य सामग्री वडा नम्वर १ को निर्माणाधीन सापटी पुल नजिकै भेटिएको बताइएको छ ।
असारदेखि भदौ महिनासम्म खोलाबाट नदीजन्य सामग्री उत्खनन गर्न नपाइने भएपछि गाउँसभाले खोला ठेक्का नलगाई स्थानीय खोलाबाट नदीजन्य सामग्री निकाल्ने निर्णय गरेको थियो । जसका लागि गाउँपालिकाले वातावरणीय परीक्षण(आइइई) समेत स्वृकीत गरेको बताइएको छ । नदीजन्य सामग्री गाउँपालिकाको क्षेत्रभित्र प्रयोग गर्ने गरी वडा अध्यक्ष सापकोटाकै संयोजकत्वमा ग्राभेल व्यवस्थापन समिति गठन भएको थियो ।

जुन समितिको सचिवमा पोर्तेल रहेका थिए भने सदस्यहरुमा प्राविधिक र अन्य वडाअध्यक्षहरु रहेका थिए । तर त्यही समितिले दुई ठाउँमा नदीजन्य सामग्री बिक्रीका लागि भण्डारण गरेको स्थानीयले समेत दावी गरेका छन् ।
देवनिया खोलाबाट बीरबल योङ्हाङ् र कुमार कार्कीले जेसिभी प्रयोग गर्दै नदीजन्य सामग्री उठाएको बताइन्छ । जुन सामग्री गाउँपालिकाको उद्देश्य विपरित वडाअध्यक्ष र कार्यपालिका सदस्यको मिलेमत्तोमा अन्यत्र भण्डारण गर्नु दोहोरो भष्ट्राचार भएको स्थानीयले आरोप लगाएका छन् ।
अनुगमनका क्रममा समितिका संयोजक सापकोटाको वडाका सडकमा भने गिटी नबिच्याएको फेला परेको बताइएको छ ।
गाउँपालिकाको उद्देश्य अनुरुप उत्खनन् गरिएको नदी जन्य सामग्रीको सदुपयोग नभएको गुनासो बढेपछि उपप्रमुख गिरी सहितको टोली देवनिया खोलासमेत पुगेको थियो । जहाँ नदीजन्य सामग्री लापारबाही ढंगले उत्खनन गरेको ,खोला तटबन्धन गरेको जाली पनि बिगारेको पाइएको थियो । त्यसपछि टिपरलाइ पछ्याउदै जाँदा स्थानीय ठेकेदारले नदीजन्य सामग्री अन्यत्रै थुपारेको फेला पारेको गिरीले बताए । घटनापछि तत्काल यस्तो कार्य बन्द गर्न उपाध्यक्ष गिरीले निर्देशन दिदै खोलाबाट जेसिभी र टिपर हटाएका थिए ।
गाउँपालिकाबाट राजस्व उठाउन खोला पठाएको व्यक्तिलाई सापकोटा र पोर्तेलले राजस्व उठाउन समेत नदिएको बताइएको छ । राजस्व पनि काट्न नदिने र ठेकेदारले नदीजन्य सामग्री डम्पीङ् गरेर राख्नुमा केही गडबढी देखिएको गिरीले बताए ।
गोलधापमा रहेको तीनओटा सडकमा ग्राभेल गर्नु पर्ने भएपनि पानी परेकाले काम गर्न नसकिएको सापकोटाले बताएका छन् । उनले अन्यत्र थुपारिएको भनिएको सामग्री तत्काल सडकमा लगाउन ठेकेदारलाई निर्देशन दिएएको बताएका छन् । उनले ठेकेदारसँग आफ्नो कुनै मिलोमतो नभएको दाबी गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here