दमक बसपार्कको जिम्मा नगरपालिकालाई

0
597

दमक।

झापाको दमक– ६ मा रहेको बसपार्क सञ्चालन तथा ब्यवस्थापनको जिम्मा दमक नगरपालिकाले लिएको छ ।  निर्माण शुरु भएको करिब १५ बर्षपछि नगरपालिकाले आफै सञ्चालन तथा ब्यवस्थापनको जिम्मा लिएको हो । नगरपालिकाले वडा नं. ६ का नगर सदस्य कमल श्रेष्ठ अध्यक्ष रहने गरी सञ्चालन तथा ब्यवस्थापन समिति बनाएको हो ।

१५ बर्षअघि कच्ची र हिलाम्मे रहेको बसपार्क आधुनिक रुपमा बनाउन शुरु गरेको छ बर्ष भएको थियो । बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष तीर्थराज बस्नेतका अनुसार अहिलेसम्म उपभोक्ता र सरकारको गरेर १० करोडभन्दा बढी बजेट बसपार्कमा खर्च भइसकेको छ । बसपार्कको स्तरोन्नती र ब्यवस्थित गर्ने कामहरु अहिले पनि भइरहेको उनले बताए । बसपार्क दुई बिगाह जमिनमा फैलिएको छ ।

बसपार्क सञ्चालन सम्बन्धी कार्यबिधि बनिसकेको र उक्त कार्यविधिको आधारमा नै बसपार्क सञ्चालनमा आउने बताइएको छ । नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाले बसपार्क नगरको पहिचानको रुपमा रहने भएकाले यसको ब्यवस्थापकीय जिम्मेवारी नगरपालिकाको रहेको जनाए । बसपार्कलाई अस्तब्यस्त नभएर नमूना बनाउनका लागि आफूहरुको प्रयत्न रहेको उनले बताए ।

टर्मिनल भवन बनेको तीन बर्ष बितिसक्दा पनि अहिलेसम्म बसपार्क सञ्चालनमा भने आउन सकेको छैन । पार्कमा काउण्टरसहितको १७ कोठे अत्याधुनिक टर्मिनल भवन निर्माण भइसकेकोे छ । यसमा शौचालय, स्नान गृह, रेष्टुरेन्ट लगायतका बसपार्कमा आवश्यक पूर्वाधारहरुसहितको भवन बनेको हो । बसपार्क आसपासमा नगरपालिकाले ब्यवसायिक सटरहरु बनाएर भाडामा दिँदै आएको छ ।

बसपार्कमा रहेको आधुनिक टर्मिनल सञ्चालनमा नआएका कारण अहिले इलाका ट्राफिक प्रहरी कार्यालय दमक अस्थायी रुपमा यही सञ्चालन भएको छ । भवन निर्माणाधीन रहेकाले नयाँ भवन नबनेसम्म ट्राफिक प्रहरीको कार्यालय रहेको इलाका ट्राफिक प्रहरी कार्यालय दमकका प्रमुख दधिराम दाहालले बताए ।

यसैबीच यो बसपार्कलाई बहु आयमिक बहुतले बनाउनका लागि प्रारम्भिक चरणको अध्ययन शुरु भएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी, शहरी विकास मन्त्रालयका सचिव डा.रमेशप्रसाद सिंह लगायतको टोली आएर स्थलगत निरिक्षण गर्दै यसै आर्थिक बर्षभित्रमा यसको डिपिआर बनाउन शुरु गर्ने बताएका थिए ।

माटो परीक्षण लगायत बिभिन्न प्राविधिक पक्षहरुको जाँचपछि मात्र कति तलासम्म जान सकिन्छ र कस्तो बनाउने भन्ने बिषयमा भन्न सकिने जनाउँदै देशकै नमुना र बहुतला भएको पहिलो बसपार्क बन्ने सिंहले बताएका थिए ।

दमक नगरपालिकाले बसपार्कलाई बहुतले बनाउनका लागि अध्ययन गरिदिनका लागि नगरपालिका बोर्ड बैठकबाट निर्णय गर्दै शहरी विकास मन्त्रालयमा पत्राचार गरिएको थियो । दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीका अनुसार मन्त्रालयमार्फत बिज्ञ टोली पठाएर अध्ययन शुरु भइसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here